दुई दशकपछि जाग्यो हिमायती

सोमबार, १३ मङि्सर २०७३, ११ : २० गोपाल दाहाल , Kathmandu
दुई दशकपछि जाग्यो हिमायती

‘अन्तिम हुँदैन कहिले संसार बनाउने यात्रा
रोकिने छैन पाइला अल्मलिँदैमा मात्र ।’

    धेरै वर्षअघि पूर्वका गाउँघरमा गुञ्जिन्थ्यो यो गीत । सांस्कृतिक कार्यक्रमहरूमा यो गीत सुनाउँथे ‘हिमायती सांस्कृतिक समूह’का जनवादी गायक उत्तर भुजेल । वर्षौंसम्म ‘संसार बनाउने यात्रा’ गाउँदै हिँडेका उत्तरले आफ्नो जीवनयात्रा चाहिँ सुखद बनाउन सकेनन् । उनका पाइला बीचैमा रोकिए ।
राजनीतिक दलहरूले आफूहरूलाई खूब प्रयोग गरेको र ठाउँमा पुगेपछि बिर्सिएको आरोप उत्तरले लगाउँथे । हिमायती सुस्तायो, उत्तर पनि । जीवनयापनका लागि मजदुरी गर्दै आएका उत्तर पछिल्लो समय निराश थिए, अत्यधिक मदिरा पिउँथे । दुई वर्षअघि सडकमा उनको शव भेटियो ।

पहिला उत्तरले गाउने ‘संसार बनाउने यात्रा’ झन्डै दुई दशकपछि संगीतकार जीवन भट्टराईको स्वरमा हिमायतीसँगै गुञ्जियो अर्थात् हिमायती जाग्यो । दुई दशकपछि जागेको हिमायतीले यसपालिको तिहारमा पुराना दिनहरूको झल्को दिँदै टोलटोलमा पुगेर जनवादी गीत सुनायो । त्यति मात्र होइन आफ्नो चर्चित ऐतिहासिक गीत ‘खोकु छिन्ताङ दुख्यो कि’ समूहका तर्फबाट पहिलो पटक छिन्ताङमै पुगेर शहीद परिवारलाई सुनायो । २०३६ सालको छिन्ताङ काण्डमा १६ जना स्थानीयले ज्यान गुमाएको घटनामा आधारित यो गीत सुन्दा धनकुटाको छिन्ताङ, पञ्चकन्यास्थित शहीदपार्कमा त्यसबेला ज्यान गुमाउनेका परिवार भावविह्वल भए । पञ्चायतविरुद्ध आवाज उठाउने धनकुटाको खोकु, छिन्ताङ र आँखीसल्लाका १६ जनालाई सूर्यबहादुर थापा नेतृत्वको तत्कालीन सरकारले गोली हानेर मारेको थियो । त्यही घटनालाई आधार बनाएर गणेश इजमको शब्द र शिव सुब्बाको संगीतमा हिमायतीका उत्तर भुजेल लगायतले गाउने गरेको गीतपछि किशोर थुलुङको स्वरमा रेकर्ड भएको थियो । अहिले भने हिमायतीको प्रस्तुतिमा नवगायक समिर सिंगकले यो गीत गाउँदै आएका छन् ।
    
हिमायती सुस्ताएपछि आफ्नै तवरबाट गीत संगीतमा सक्रिय बन्दै धरान उपमहानगरपालिकाको वडा सचिवमा कार्यरत कलाकार हर्षु राई पनि हिमायती जागेपछि अझ सक्रिय बनेकी छिन् । धेरै वर्षपछि उनले यसपटकको तिहारमा र छिन्ताङ यात्रामा हिमायतीका तर्फबाट पहिला गाउँदै आएको चर्चित गीत ‘चेलीको सिन्दुर’सँगै ‘तराई पहाड छाती मेरो’ बोलको राष्ट्रिय गीत गाइन् । गायक लक्ष्मण अधिकारीले उनलाई साथ दिए । उनले ‘देश दुखेको बेलामा’ बोलको गीत गाए । हिमायतीको सक्रियतामा खुशी बनेको अर्का कलाकार राइमन राईले ‘पूर्व राम्रो मेचीकाली’, ‘सागरबीच’, ‘माया तिमी’लगायत गीत गाएर छिन्ताङका स्थानीयलाई नचाए ।

हिमायती सुस्ताएपछि व्यसायमा सक्रिय बनेकी कुन्ती योञ्जन पनि यसपटक नयाँ जोशका साथ हिमायतीमा सक्रिय देखिइन् । लामो समय सुस्ताएका हर्क चुम्मे, कला योञ्जन, सुरेश श्रेष्ठलगायत पनि लामो समयपछि सक्रिय बनेका छन् । हिमायतीका कतिपय सदस्य विदेशमा समेत छन् । हङकङमा रहेका सदस्यहरूले ‘हङकङ हिमायती’ गठन गरेर हालै जनगायक रामेश श्रेष्ठको डकुमेन्ट्री ‘डढेलोभित्रका सतिसाल’ निर्माण गरेर प्रदर्शन गरेको थियो । त्यसपछि चनाखो भएका हिमायती पदाधिकारीलाई ‘हङकङ हिमायती’ले नै जोश थप्यो । धराने हाइकर्सले हिमायतीलाई हाइकिङलगेर गीत सुनाउन लगायो । त्यसपछि झनै हौसला मिल्यो । हिमायतीका अध्यक्ष हर्क चुम्मे भन्छन्, ‘हङकङ हिमायतीका साथीहरू र हाइकर्सहरूले हामीलाई जगाए ।’  

२०३८ सालमा पहिलो पटक सूर्य दाहालको अध्यक्षतामा स्थापना भएको हिमायतीले सुरुका दिनमा तत्कालीन राजनीतिक दल नेकपा मालेको नीति र सिद्धान्तलाई संगीतमार्फत जनतासम्म पु¥याउने अभियान सञ्चालन गरेको थियो । मालेमा आस्थावानहरूले माक्र्सवादको अध्ययन र राजनीतिक प्रशिक्षणका लागि स्थापना गरेको शुक्रपथ अध्ययन समूहलाई सांस्कृतिक अभियानका रूपमा लैजान हिमायती सांस्कृतिक समूहको स्थापना भएको थियो । माले रूपान्तरण भएर एमाले भएपछि हिमायतीले पनि एमालेलाई सहयोग गर्दै आयो । यसरी २०३८ देखि ०५४ सालसम्म सक्रिय हिमायती त्यसपछि सुस्ताएको थियो । हिमायतीसँगै जागेका समूहका अध्यक्ष हर्क चुम्मे यतिबेला सबैभन्दा खुशी छन् । दुई दशकपछि जागेको हिमायतीले अब निरन्तरता पाउने उनी बताउँछन् । तर, पहिला राजनीतिक दलका लागि सांस्कृतिक अभियान सञ्चालन गर्ने हिमायतीले अब कुनै राजनीतिक दलका लागि होइन जनताका लागि गाउने छ । हर्क भन्छन्, ‘राजनीतिक दलहरूले प्रयोग मात्र गरेपछि हामी कलाकार निराश थियौँ । अहिले आफ्नो व्यवहार मिलाएर सक्रिय भएका हौँ । अब हिमायती सबैको हुनेछ ।’

 

Leave A Comment