एकताको शक्ति

सोमबार, २० मङि्सर २०७३, १० : ०२ विदुर नीति , Kathmandu
एकताको शक्ति

काठरूपी शरीरभित्र छिपेको आगो घर्षण गरिएपछि जसरी बल्दछ र काठलाई बालेर खरानी पार्दछ । त्यसैगरी धर्ममा सूक्ष्म रूपले बाँधिएका राजा युधिष्ठरका साथ मैले झूठो व्यवहार गरेको छु । त्यसैले उनले युद्ध गरेर मेरा मूर्ख छोराहरूलाई नाश गर्नेछन् ।
बुद्धिद्वारा मनुष्यले आफूलाई लागेको डरलाई हटाउँछ । तपस्याद्वारा महान् पद हासिल गर्छ । गुरुको सेवा गरेर ज्ञान प्राप्त गर्दछ र योग गरेर शान्ति पाउँछ । मोक्षको इच्छा गर्ने मानिसहरू दान गरेपछि प्राप्त हुने पुण्यको भर पर्दैनन् । यिनीहरू वेदनिर्देशित कर्म गरेर हासिल हुने पुण्यको पनि आश्रय लिने गर्दैनन् । किन्तु उनीहरू जे काम गर्दछन्, निष्काम भावले नै गर्दछन् अनि द्वेषलाई छाडेर यस संसारमा रमाउँदै रहनेछन् ।
सधैँभरि पानी छर्केर बढाइएका पातला लहराहरू झांगिएपछि धेरै वर्षसम्म अनेकौँ झरी वर्षालाई खपिरहन्छन् । यही कुरा सत्पुरुष एवम् असल मानिसको सन्दर्भमा पनि लागू हुने गर्छ भन्ने विषयलाई  सम्झनुपर्दछ अर्थात् सानो छँदा माया, ममता, प्यार र खुराक दिएर हुर्काउनु र बढाउनु गरेपछि कमजोर नै भए पनि सामूहिक शक्ति प्राप्त हुँदा मसिना र झिना लहराहरू झांगिन्छन् । अनि, पछि ठूला–ठूला हुरी बतासहरूको झोक्काहरूलाई थाम्नसक्ने खालको बलियो हुनजान्छ ।
बलिरहेको दाउराको बिटोलाई अलग–अलग गरेर छुट्याइदिएमा धुवाँ निस्कन थाल्छ । एउटै बिटो बनाएर बालिदिएमा ज्वाला निकालेर बल्न पनि थाल्छ । यसै प्रकारले मनुष्यका जाति बन्धुबान्धवहरू पनि आपसमा फूट–बेमेल हुँदा दुःख पाउँछन् । एकता हुँदा सुखी रहन्छन् ।

 

Leave A Comment