महिनावारीबारे जान्नैपर्ने कुरा

शुक्रबार, २४ मङि्सर २०७३, १० : २९ शुक्रवार , Kathmandu
महिनावारीबारे जान्नैपर्ने कुरा

डा.उषा श्रेष्ठ, स्त्री रोग विशेषज्ञ, थापाथली प्रसूतिगृह
महिनावारी हरेक महिना महिलामा हुने एक प्रकारको सामान्य प्रक्रिया हो । महिनावारी सुरु हुनुले महिलाको प्रजनन क्षमताको विकास भएको बुझ्नुपर्छ । महिनावारी रोकिनु/अन्त्य हुनु भनेको महिलाको प्रजनन उमेर समाप्त भयो भन्ने संकेत हो । वैज्ञानिक रूपमा हेर्दा महिनावारी भनेको हामीले सामान्यतया दिसा–पिसाब गरेजस्तै हो । दिशा–पिसाब हामी हरेक दिन गर्छौं भने यो महिनाको एक पटक हुन्छ, फरक यति मात्रै हो । खानपिनको कारणले पहिलाभन्दा अहिले महिनावारी छिट्टै वा सानै उमेरमा हुन थालेको छ । १२÷१३ वर्षमा सुरु हुने महिनावारी हाल ९÷१० वर्षमै सुरु हुन लागेको छ । त्यस्तै ४०÷४५ वर्षमा रोकिने महिनावारी अहिले ५०÷५५ वर्षमा रोकिने क्रम देखापर्न थालेको छ । जीवनशैलीमा परिवर्तन आएकाले यस्तो भएको हो । यो प्रक्रियालाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।
महिनावारीबारे हरेक किशोरीले जान्नु र बुझ्नु जरुरी छ । कतिपय बालिकालाई यसबारे जानकारी नहुँदा निकै समस्या पर्न आउँछ । पहिलो पटक महिनावारी हुँदा धेरै किशोरी आत्तिन्छन् । उनीहरूलाई के भइरहेको छ  भन्ने नै थाहा हुँदैन । यस्तो अवस्थामा धेरै किशोरी अत्तालिने गर्छन् । यही विषय उनीहरूलाई ठूलो चिन्ताको विषय बन्छ । त्यसैले आमा, दिदी र स्कुलका शिक्षिकाहरूले महिनावारीबारे विस्तृतमा जानकारी दिनु अत्यन्त आवश्यक छ ।  
समाजमा अझै पनि महिनावारी भएका महिलालाई छुवाछुत गर्ने गरिन्छ । यो एकदमै गलत हो । चेतनाको कमीले गर्दा यस्ता विचारले समाजमा जरो गाडेको छ । गाउँमा मात्र नभएर शहरबजारमा पनि यस्ता सोच भएका मानिस धेरै भेटिन्छन् । तर, यस्तो बेलामा महिलालाई परिवारका सदस्यको साथ र सहयोग निकै आवश्यक हुन्छ । महिनावारी भएको बेला दही, दूध खानमा रोक लगाइन्छ । तर, त्यही बेलामा धेरैभन्दा धेरै पोषणयुक्त खानेकुराको आवश्यकता पर्दछ ।
पश्चिमतिर अझै पनि महिनावारी भएकालाई गोठमा राख्ने प्रचलन छ । यो एक प्रकारको अन्धविश्वास हो । एक प्रकारको अन्याय हो । सफासुग्घर भएर ताजा खानेकुरा खानुपर्ने बेलामा उनीहरूलाई अँध्यारो कोठामा राखिन्छ । जसले गर्दा धेरै महिलाको अकाल मृत्यु हुन्छ ।
वास्तवमा, महिनावारी भएको बेलामा प्रशस्त तागतिलो खानकुरा खानुपर्छ । माछामासु, गेडागुडी, फलफूल र सागपात प्रशस्त मात्रामा खानुपर्दछ । साथसाथै सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । स्यानेटरी प्याड सबैको पहुँचमा नहुन पनि सक्छ । प्याडको विकल्पमा नरम खालको कपडाको प्रयोग गर्नुपर्छ । आफूले प्रयोग गरेका कपडा लुकाउने, चिसोठाँउ राख्ने गर्नु हुँदैन । त्यसलाई सफासँग धोएर घाममा सुकाउनुपर्छ । यस्तो बेलामा सरसफाइमा ध्यान नदिँदा आफँैलाई घाटा हुन्छ । त्यसले क्यान्डिडायसिस भन्ने एक प्रकारको इन्फेक्सन हुन सक्ने सम्भावना हुन्छ । फोहोर र सुक्दै नसुकेको प्याड लगाउँदा र सरसफाइमा ध्यान नपु¥याउँदा यस प्रकारको समस्या देखापर्छ । त्यसैले सधँै सफा प्याडको प्रयोग गर्नुपर्छ । साथै प्याडलाई बारम्बार परिवर्तन गर्नु पनि उत्तिनै आवश्यक छ ।
कतिपयले महिनावारी भएको बेलामा निकै पीडा महसुस गर्छन् । वास्तवमा यसलाई ‘क्रयाम्पिङ पेन’ भनिन्छ । यसलाई हामीले धेरै ठूलो रूपमा लिनुहुँदैन । सहनै नसक्ने गाह्रो भएको छ भने पेनकिलर खाँदा हुन्छ । हामीले  ‘मेफ्टोल स्पास’ नामक पेनकिलर खान सल्लाह दिन्छौँ । खासै पीडा भएको छैन भने तातो खानेकुरा खाने, सुतेर नबस्ने, आफूले सकेको काम गर्ने, हटब्यागमा तातोपानी राखेर पेट सेकाउने गर्नुपर्छ ।
प्रायः महिलाहरूले महिनावारीलाई पर सार्नको लागि औषधिकोे प्रयोग गर्ने गर्छन् । कहिलेकाहीँ खाँदा त्यसले खासै फरक पार्दैन । तर, धेरै भने खानु हुँदैन । त्यस्तै महिलाहरूमा नियमित महिनावारी नहुने अर्को एउटा समस्या छ । महिनावारी नियमित र समयमा हुन÷नहुनु उनीहरूको ‘साइकल’मा भरपर्छ । सुरुदेखि नै कसैको २१÷२१ दिनमा महिनावारी हुन्छ भने कसैको दुईतीन महिनामा पनि हुन सक्छ । प्रायःजसो महिनावारीमा २१, २५, २८, ३५ दिनदेखि तीन महिनासम्मको साइकल हुन सक्छ । धेरैजसोको भने २८ दिनको साइकल हुन्छ । कमै महिलाको दुईतीन महिना लामो अन्तरमा महिनावारी हुन्छ । प्रत्येक महिलाले आफ्नो कति दिनको साइकल हो बुझ्नुपर्छ । कसैको २१ दिनमा हुन्छ, मेरो किन ३५ दिनमा भयो भनेर पिर मान्नु हुँदैन् । त्यो आफ्नो साइकलअनुसार भरपर्ने कुरा हो । तर, दुईतीन महिनाको अन्तरालमा हुँदा भने केही समस्या हुन सक्ने भएकाले एक पटक जचाउँदा राम्रो हुन्छ ।
 (सृजना खड्काले गरेको कुराकानीमा आधारित)

 

Leave A Comment