प्रतियोगिता जित्न ‘सेटिङ’

शुक्रबार, २४ मङि्सर २०७३, १० : ३६ गोपाल दाहाल , Kathmandu
प्रतियोगिता जित्न ‘सेटिङ’

कलाको प्रवद्र्धन र कलाकारको पहिचान गर्ने भन्दै पूर्वमा नृत्य, गायनजस्ता प्रतिस्पर्धा भइ नै रहन्छन् । तर, पछिल्लो समय यस्ता प्रतियोगिता जित्न सेटिङ मिलाइने गरेको चर्चा चल्ने गरेको छ । हालै, सुनसरीको इटहरीमा सम्पन्न लोकनृत्य प्रतियोगितामा निर्णायक र नृत्य प्रशिक्षकबीच विवाद उत्पन्न भएपछि नृत्य प्रतियोगिता जित्न सेटिङ हुने गरेको कुरा सार्वजनिक भएको छ ।
विशेष गरी विद्यालयस्तरीय प्रतियोगिताहरू जुन विद्यालयले जित्छ त्यसका नृत्य निर्देशकले राम्रो विद्यालयमा जागिर पाउने भएर पनि सेटिङ मिलाउने क्रम बढेको नृत्य निर्देशकको आरोप छ । नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा ‘धाँधली’ भएको भन्दै विभिन्न विद्यालयका नृत्य निर्देशक र निर्णायकबीच विवाद उत्पन्न भयो । यो मात्र होइन यस्ता हरेक जसो प्रतियोगितामा विवाद उत्पन्न हुने क्रम बढेको छ । गरिमा डान्स सेन्टर धरानकी नृत्य प्रशिक्षक अञ्जु राई निर्णायक र केही नृत्य निर्देशकको मिलेमतोमा धाँधली भएको आरोप लगाउँछिन् । उनी भन्छिन्, ‘एउटै व्यक्तिले सिकाएका विद्यालय प्रथम, दोस्रो र चौथो भए । रिजल्ट आउनुअघि नै नतिजा सार्वजनिक भइसकेको थियो ।’
इटहरीको बिहानी डान्स सेन्टरकी प्रशिक्षक प्रनिसा उदास पनि प्रतियोगिताको नतिजा चित्त बुझ्दो नभएको बताउँछिन् । गीत अनुसारको नृत्य प्रस्तुत नगर्नेहरू विजेता बनेको र राम्रो नृत्य गर्नेहरू हारेको उनी बताउँछिन् । नागी डान्स सेन्टर इटहरीका निर्देशक आइश्वर लिम्बूले पनि प्रतियोगितामा धाँधली भएको आरोप लगाउँछन् । नृत्य प्रतियोगितामा आफूले सिकाएको विद्यालयले तेस्रो पुरस्कार जिते पनि प्रशिक्षक विक्रम तामाङलाई प्रतियोगिताको समग्र नतिजा चित्त बुझेको छैन । उनी पनि प्रतियोगितामा अनुभवी निर्णायक नहुँदा र प्रभावमा पर्दा राम्रा नृत्यमाथि अन्याय भएको बताउँछन् ।
प्रतियोगिताका निर्णायकहरूमा झापाका राज लावती र पदम तामाङ थिए । सबैले सोचेभन्दा फरक नतिजा आएपछि नृत्य निर्देशक र निर्णायकबीच विवाद भएको थियो । निर्णायकले आफूहरूले सही निर्णय गरेको दाबी गरेका थिए । आयोजकले भने आफूहरूले धाँधली नगरेको र निर्णायकको आधारमा नतिजा सार्वजनिक गरेको बताएको छ ।
मोरङका विद्यालयहरूमा नृत्य सिकाउँदै आएका ओमप्रकाश बस्नेत झापा, मोरङ र सुनसरीमा अचेल नृत्य प्रतियोगितामा पहिला नै सेटिङ मिलाएर हारजीत हुने प्रचलन आएको बताउँछन् । भन्छन्, ‘सुनसरीमा मात्र होइन, झापा, मोरङतिर पनि यसरी नै सेटिङमा जिताउने विकृति बढेको छ । सबै नृत्यकर्मी मिलेर त्यसको विरोध गरिरहेका छौँ ।’

Leave A Comment