चाँगुनारायणसम्बन्धी अशुद्धि

आइतबार, ०३ पुष २०७३, ०९ : ५१ प्रा. दिनेशराज पन्त , Kathmandu
चाँगुनारायणसम्बन्धी अशुद्धि

बाबु धर्मदेवको अकस्मात् मृत्यु भएपछि सानैमा राजा भएका मानदेवले पूर्व र पश्चिमका सामन्तहरूलाई दबाएर आएपछि आमा राज्यवतीसहित चाँगुनारायणको पूजाआराधना गरेको कुरा उनको चाँगुनारायणमा रहेको वि.सं. ५२२ को स्तम्भलेखमा स्पष्टसँग लेखिएको छ । वि.सं. २०३० मा काठमाडौँबाट त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन संस्थानद्वारा प्रकाशित धनवज्र वज्राचार्यको लिच्छवीकालका अभिलेखका १०–१८ पृष्ठमा तथा वि.सं. २०४० मा काठमाडौँबाट त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित मोहनप्रसाद खनालको चाँगुनारायणका ऐतिहासिक सामग्रीका २२, २७ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको पनि छ । मानदेवको चाँगुको अभिलेखबाट मानदेवले चाँगुनारायणको पूजाआजा मात्र गरेका हुन्, चाँगुनारायण बनाएका होइनन् भन्ने कुरा स्पष्टसँग बुझिन्छ । यसो भए तापनि पाठ्यपुस्तकदेखि धेरै ठाउँमा चाँगुनारायणको मन्दिर मानदेवले बनाएका हुन् भनेर लेखिने गरिन्छ, पढाइने गरिन्छ । यही भ्रमको जालोमा गोरखापत्र पनि जोडिन आइपुगेको छ । काठमाडौँबाट गोरखापत्र संस्थानद्वारा प्रकाशित वि.सं. २०७३ मार्ग २१ गतेको गोरखापत्र ११६ वर्ष २०८ अङ्कको २ पृष्ठमा छापिएको सरोज आचार्यको मध्यरातमा महास्नान भन्ने खबरमा चाँगुनारायण मन्दिर राजा मानदेवले वि.सं. ५२१ मा निर्माण गर्न लगाएका हुन् भनी लेखिएको छ । यो त्यही अशुद्ध परम्पराको निरन्तरता मात्र हो ।
 

Leave A Comment