ठगी धन्दाको उर्वर थलो

बुधबार, १३ पुष २०७३, ०९ : ५५ शुक्रवार , Kathmandu
ठगी धन्दाको उर्वर थलो

वैदेशिक रोजगारी क्षेत्रमा ठगी धन्दा यत्रतत्र सर्वत्र छ । त्यसमाथि यतिबेला अमेरिका र युरोप सपनामा बेरोजगार युवाहरूले लाखौँ गुमाइरहेका छन् ।
वैदेशिक रोजगार विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय युरोप र अमेरिका मोहले ठगको फन्दामा पर्ने युवायुवती अचाक्ली बढेको बताउँछन् । ‘युरोप–अमेरिका जान सहज नभएको जान्दाजान्दै युवायुवतीले ठगहरूलाई विश्वास गरिरहेका छन्,’ उनले भने, ‘शिक्षित युवायुवतीले समेत सहजै लाखौँ रकम गुमाएको देख्दा अचम्म लाग्छ ।’ उनले सर्वसाधारण सचेत नभएसम्म वैदेशिक रोजगारीको नाममा हुने ठगी रोक्न कठिन हुने बताए ।
खाडीलगायत मुलुकमा ठगीका समस्या झन् गम्भीर छन् । सरकारी निकायले जानेर÷बुझेर मात्र रकम बुझाउन पटकपटक आग्रह गर्दै आए पनि युवायुवतीले अटेर गर्दा ठगीका घटना कम हुन नसकेको उपाध्यायको अनुभव छ ।
अमेरिकाबाटै ठगी धन्दा
अमेरिकामा रहेका पूर्ण खत्रीले ‘अमेरिकामा मासिक तीन लाख रुपैयाँ तलब पाउने जागिर दिलाउन सक्ने’ सपना देखाएपछि नुुर्वु शेर्पामा खुशीको सीमा थिएन । संखुवासभा, मादी–१ का शेर्पाले खत्रीले भनेअनुसार ४० लाख रुपैयाँ तयार पारे । खत्रीकी श्रीमती जानुकालाई तीन लाख बुझाइ पनि हाले ।
त्यसपछि शेर्पालाई खत्रीले उड्न सजिलो हुने भन्दै थाइल्यान्ड जान भने । शेर्पा थाइल्यान्ड उडे । थाइल्यान्डमा रहेका खत्रीका एजेन्टले अमेरिकाका लागि सबै तयारी पूरा भयो भन्दै थप साढे ४१ लाख रुपैयाँ मागे । केहीबेर उनीहरूबीच विवाद भयो । सुरुमा ४० लाख र थाइल्यान्ड पुगेपछि ४४ लाख भनेपछि उनीहरूबीच विवाद भयो । ‘नत्र नेपालै फर्कन भनेपछि म ४४ लाख ६० हजारमै सहमत हुन बाध्य भएँ,’ शेर्पाले भने, ‘खत्रीकी श्रीमतीको खातामा सबै पैसा जम्मा गरिदिएँ । त्यसपछि एजेन्टले राहदानी दियो । राहदानी खाली थियो । कसरी अमेरिका उड्नु ? ठगिएको बल्ल थाहा पाएँ ।’ एजेन्टले सिकाएको बाटोमा जाँदा शेर्पा थाइल्यान्ड प्रहरीको फन्दामा परे । केही रकम बुझाएपछि पाँच दिनमा छुटेका उनी रित्तो हात नेपाल फर्किए । डुबेको रकम फिर्ता पाउन विभिन्न सरकारी निकाय चहार्दा पनि कुनै उपलब्धि हात नपरेपछि शेर्पा यतिबेला तनावमा छन् ।
चारैतिरबाट घेरिएका पीडित
यतिखेर वैदेशिक रोजगारीको प्रलोभनमा रकम गुमाउने मात्र नभई, एकातिर रकम गुमाउने र अर्कोतिर ठगी गर्ने गिरोहबाट उल्टै धाकधम्की र मुद्दाले हैरान छन् पीडितहरू । पीडितलाई रकम फिर्ता गर्न नपरोस् भनेर ठग गिरोह पीडितलाई चारैतिरबाट लखेट्दै छन् । ठग्ने समूहले अनावश्यक विवाद सिर्जना गर्ने र त्यसपछि पीडितका विरुद्ध मुद्दा नै दर्ता गरिदिने घटना बढेका छन् ।
जीटूजी (दुवै देशका सरकारी निकाय) बाहेक कुनै पनि म्यानपावरले अनुमति नपाएको इजरायल पठाउन नपाउने भन्दै लुम्बिनी ल्याङ्वेज इन्स्टिच्युटले डेढ सयभन्दा बढी युवायुवतीलाई ठग्यो । इन्स्टिच्युटले उल्टै युवायुवतीविरुद्ध नै मुद्दा दर्ता गरेको छ । इजरायलमा मासिक १ लाख ३० हजार रुपैयाँ पारिश्रमिक पाइने सपना देखाएर लुम्बिनी इन्स्टिच्युटले युवायुवतीबाट डेढ लाखदेखि अढाई लाखसम्म रकम असुलेको थियो । इन्स्टिच्युटलाई १ लाख ३० हजार रुपैयाँ बुझाएकी चितवन, शिवनगरकी जमुना गुरुङले इन्स्टिच्युटले आफूहरूलाई झुक्याएर ठगेको बताइन् । वैदेशिक रोजगार विभागका कर्मचारीसँग सेटिङ मिलाएर इजरायलमा केयरगिभर, ड्राइभर तथा जनरल वर्करका लागि पठाउने भन्दै लुम्बिनी इन्स्टिच्युटका सञ्चालकहरू कृष्ण तामाङ र कपिल रावतले आफूहरूबाट करोडौँ रुपैयाँ ठगी गरेको अर्की एक पीडितले बताइन् । युवायुवतीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जर्बजस्तीपूर्ण करकापको मुद्दा दर्ता भएको छ । ‘हामी बेरोजगारहरूबाट करोडौँ ठग्नेलाई कारबाही त कता हो कता,’ पीडित रिना सापकोटाले भनिन्, ‘उल्टै हामीमाथि मुद्दा चल्ने यो कस्तो न्याय हो ?’
अधिवक्ता शोभा कार्की पछिल्लो समयमा सुरुमा पीडितसँग रकम असुल गर्ने र अन्तिममा उल्टै मुद्दा लगाएर समस्यामा पार्ने गतिविधि मौलाएको बताउँछिन् । वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई सशक्त कारबाही गर्न सकेको भए यस्ता अपराधमा कमी आउन सक्ने उनको बुझाइ छ । ‘आफैँ ठग्ने र उल्टै पीडितविरुद्ध मुद्दा हाल्नेमाथि मुद्दा दर्ता गर्ने बेला पर्याप्त प्रमाण खोजिनुपर्छ,’ उनले भनिन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका डीएसपी सिद्धिविक्रम शाहले पछिल्लो समयमा वैदेशिक रोजगारीको नाममा ठगिएको भन्दै उजुरी गर्ने क्रम बढेको बताए । गत वर्ष वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै विभागमा २५ सयजति उजुरी परेका थिए ।
अपराध महाशाखाले दर्जनौँ म्यानपावर कम्पनीका सञ्चालकलाई ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाइरहेको छ । प्रहरी प्रशासनले ठग म्यानपावरलाई प्रभावकारी कारबाही गर्न नसकेको आरोप लगाउने पीडितहरूको संख्या बढ्दो छ । २० हजारको कागज गराएर लाखौँ असुल्ने, एउटा काममा भनेर अर्कोमा पठाउने जस्ता ठग्ने चरित्रबाट उनीहरू पीडित छन् । वैदेशिक रोजगारीका नाममा मानव बेचविखन नै हुने गरेका तथ्य पनि सार्वजनिक भइरहेकै छन् ।

Leave A Comment