जो अलग्गिए

शनिबार, १६ पुष २०७३, ०९ : ५० शुक्रवार , Kathmandu
जो अलग्गिए

रणवीर–कट्रिना
रणवीर कपुर र कट्रिना कैफको बे्रकअप साल २०१६ मा भयो । छ वर्षयता एकअर्कालाई डेट गरिरहेका उनीहरूको प्रेम सन् २००९ को फिल्म ‘अजब प्रेम की गजब कहानी’ बाट झांगिएको थियो । यी दुईले आफ्नो प्रेम सम्बन्धबारे कहिल्यै खुलेर बोलेका थिएनन् । ब्रेकअपबारे त मुखै खोलेनन् । कतिपयले उनीहरू छुट्टिनुको कारण रणवीरका आमाबुबालाई बताए भने कतिपयले फिल्म ‘तमाशा’ का क्रममा दीपिका पादुकोणसँग रणवीर नजिकिनुलाई बताए ।

अरबाज–मलाइका
सलमान खानका भाइ अरबाज खान र भाउजू मलाइका अरोडा खानको सम्बन्ध बिग्रेको चर्चा मिडियामा लामो समयदेखि चलिरहेको थियो ।

अन्ततः अरबाज र मलाइकाले यस वर्ष बान्द्रा फेमिली कोर्टमा सम्बन्ध विच्छेदको निवेदन दिए । २३ वर्षको वैवाहिक जीवन साल २०१६ मा टुंगियो ।

फरहान–अधुना
जनवरी २०१६ मा अभिनेता फरहान अख्तर आफ्नी श्रीमती अधुनाबाट अलग्गिए । बिहेको १६ वर्षपछि फरहान घर छोडेर बहिनी जोयाको घरमा बस्न भए । अधुनाले बलिउडमा हेयर स्टाइलिस्टका रूपमा पहिचान बनाएकी छिन् । फिल्म ‘दिल चाहता है’ को सेटमा उनीहरूको भेट भएको थियो । तीन वर्ष डेट गरेपछि सन् २००० मा उनीहरूले बिहे गरेका थिए । अधुना फरहानभन्दा छ वर्ष जेठी छिन् । अभिनेत्री अदिति राव हैदरीलाई उनीहरू छुट्टिनुको कारण मानिन्छ ।

पुलकित–श्वेता
फिल्म ‘सनम रे’ बाट अभिनेताका रूपमा आफ्नो पहिचान बनाएका पुलकित सम्राटले सलमान खानकी धर्मबहिनी श्वेता रोहिरासँग सन् २०१४ मा प्रेम विवाह गरेका थिए । गोवामा भएको उनीहरूको बिहेमा परिवारका सदस्यबाहेक बलिउड स्टारहरू पनि सहभागी थिए । तर, उनीहरूको बिहे वर्षदिन पनि टिकेन । नोभेम्बर २०१५ मा उनीहरू छुट्टिने समाचार आउन थाल्यो । साल २०१६ मा अन्ततः उनीहरू छुट्टिए । पुलकित र श्वेता छुट्टिनुको कारण अभिनेत्री यामी गौतमलाई मानिन्छ ।

सुशान्त–अंकिता
भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रसारण हुने टेलिसिरियल ‘पवित्र रिश्ता’ मा सुशान्त र अंकिता जोडीका रूपमा देखिए । अनएयर देखिने उनीहरूको प्रेम अफएयर पनि सुरु भयो । नजिकिएपछि उनीहरू सँगै बस्न थाले । छ वर्षसम्म लिभ–इन रिलेसनसिपमा रहेका उनीहरू २०१६ मा छुट्टिए ।

ओम–नन्दिता
२६ वर्षको वैवाहिक जीवन अन्त्य गर्ने निर्णयले यो वर्ष अभिनेता ओम पुरी पनि चर्चामा रहे । आपसी मनमुटावका कारण यो जोडी पहिला पनि चर्चामा रहिरहन्थ्यो । फेब्रुअरी २०१६ मा उनीहरू छुट्टिए ।

Leave A Comment