जुत्ता उद्योग फस्टाउँदै

शनिबार, २३ पुष २०७३, १० : ५३ दिलीप पौडेल , Kathmandu
जुत्ता उद्योग फस्टाउँदै

नेपाली बजारमा जुत्ता बेच्दै आएको मारुती सु इन्डस्ट्रिजले जुत्ता निर्यात गर्ने तयारीका साथ उत्पादन बढाएको छ । २५ करोड रुपैयाँको लगानी बढाएर ४० करोड रुपैयाँ पु¥याउने तयारीमा छ ।
मारुती मात्र होइन, म्याजिक फुटवेयरले पनि प्लान्ट थपेको छ । म्याजिकसहित पीयु, इभा, हवाई, पीभीसी चप्पल उत्पादन गर्दै आएको कम्पनीले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको जनाएको छ । ‘स्वदेशी मात्र नभएर विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्षम बनेका छौँ,’ म्याजिक फुटवेयरका कन्ट्री हेड महेश बाहेतीले भने, ‘नयाँ प्लान्ट थप्दै गएका छौँ ।’
पछिल्लो समय नेपाली जुत्ता बजारमा स्वदेशी उद्योगले वर्चस्व जमाउँदै गएका छन् । स्वदेशी उद्योगले पार्टी वेयर, क्याजुअल, स्कुल, कलेज, स्पोट्र्स सुज, सेना, प्रहरीले लगाउने बुट उत्पादन गरिरहेका छन् । उपभोक्तालाई आकर्षित गर्न सक्षम भएपछि लगानीसमेत बढाउँदै आएका छन् । बजारमा स्वदेशी जुत्ता, चप्पलको माग बढेपछि लगानी वृद्धि गरेको उद्योगी बताउँछन् ।
नेपालमा साना–ठूला गरी करिब दुई हजार उद्योग सञ्चालनमा छन् । वार्षिक पाँच करोड जोर जुत्ता–चप्पल खपत हुने व्यवसायी बताउँछन् । जुत्ता उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी पुगेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले बताए । उद्योगले वार्षिक ३५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छन् । त्यसमध्ये ८ सय ५० घरेलु उद्योगमा र २ सय ५० उद्योग कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन् । ‘हाम्रा उद्योग प्रविधियुक्त भएकाले गुणस्तरमा पनि क्वालिफाइड छन्,’ श्रेष्ठले भने, ‘नेपाली जुत्ता उद्योग फस्टाउँदै गएको छ ।’
विगतमा विदेशबाट कच्चा पदार्थकै भरपर्ने जुत्ता उद्योगले पछिल्लो समय नेपाली छालाको सोल बनाउने, लाइनिङ, केमिकल पनि प्रयोग गर्न थालेका छन् । नेपाली फुटवेयरको अहिले बिस्तारै फस्टाएको स्काई सुका कार्यकारी अध्यक्ष मनोज श्रेष्ठले बताए । ‘गत वर्ष भारतको नाकाबन्दी, भूूकम्पले केही असर ग¥यो,’ उनले भने, ‘बजारको करिब ६५ प्रतिशत हिस्सा नेपाली उत्पादनले ओगट्दै छ ।’ भूकम्प, नाकाबन्दीले गत वर्ष ४२ प्रतिशतमा झरेको भए पनि चालू आर्थिक वर्षको पहिला चौमासिकमा सुधारोन्मुख देखिएको छ ।
यस क्षेत्रमा ५५ हजारले प्रत्यक्षसहित साढे दुई लाख जतिले रोजगारी पाएका छन् । यसमा लगानीकर्ताको आकर्षण बढेको छ । भारतलगायत देशमा निर्यात भएकोले लगानी अझै बढाउन सक्ने देखिएको छ ।
स्वदेशी बजारमा मात्र नभएर जुत्ता उद्योगले करिब साढे दुई अर्ब रुपैयाँको जुत्ता निर्यात भएका छन् । जुत्ता उद्योगसँगै घरेलु रूपमा उत्पादन हुने छालाका ज्याकेट, पर्स, ब्याग, बेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन् । नेपाली जुत्ता, चप्पलहरू भारत, चीन, भुटानलगायत देशमा निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । बोर्डका अनुसार अघिल्लो आर्थिकमा २ अर्ब ३६ करोड ३१ लाख १२ हजार रुपैयाँ बराबरको ‘फुटवेयर’ सामग्री निर्यात भएका थिए ।
विदेशबाट आयात प्रतिस्थापन गर्दै स्वदेशी जुत्ता, चप्पलमा आत्मनिर्भर हुनका लागि प्रविधिमा सुधार गर्नै पर्ने व्यवसायी बताउँछन् । ‘अहिले धेरै उद्योग नयाँ प्रविधिमा आउन सकेका छैनन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘परम्परागत उद्योगलाई सीप र प्रविधिको आवश्यकता छ ।’ भारतको खुला सीमानाकाले गर्दा जुत्ता उद्योगलाई चुनौती थपिएको छ ।
स्वदेशमै कच्चा पदार्थ उत्पादनमा पनि सरकारले नीतिगत रूपमा सुधार ल्याउनुपर्ने व्यवसायीहरू बताउँछन् । जुत्ता–चप्पल बनाउनका लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थको आवश्यकता पर्छ । त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । जुत्ता–चप्पलमा प्रयोग हुने छाला, सोल, केमिकललगायत कच्चा पदार्थ भारत, पाकिस्तान, चीनबाट आयत हुँदै आएको छ ।
उद्योगमा कच्चा पदार्थ ल्याउन र कामदारको समस्या रहेकोले सरकारले यस विषयमा सघाउनुपर्ने टाकुरा सुका प्रबन्ध निर्देशक नवराज गौतमले बताए । ‘दक्ष जनशक्ति पाउन कठिन छ,’ उनले भने, ‘जुत्ता उद्योगमा ५० प्रतिशत आयातीत कामदारबाट काम गराउनुपर्ने अवस्था छ ।’
विदेशीबाट सीप, प्रविधि, उपकरण ल्याएर यहाँ प्रयोग गर्न सके नेपालको फुटवेयर उद्योगले फड्को मार्न सक्ने क्रस रोडका प्रबन्ध निर्देशक कृष्णकुमार फुयाँलले बताए । ‘उद्योग फस्टाउन पूर्वाधार र प्रविधिको विकासमा सघाउनुपर्छ,’ उनले भने, ‘विगतमा परम्परागत रूपमा सीमित वर्गले व्यवसाय गर्दै आएकोमा अहिले उद्योगकै रूपमा विकास भएको छ ।’
नेपाल जुत्ताको बजार विस्तार गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यसै साता काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरेको थियो । प्रदर्शनीमा ६० उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता–चप्पल छुट र वारेन्टीसहित विभिन्न कम्पनीका १ सय १५ स्टलबाट बिक्री गरेका थिए ।

 

Leave A Comment