‘दुःखीहरू मेरा फ्यान’

सोमबार, २५ पुष २०७३, १० : ३८ डिबी खड्का , Kathmandu
‘दुःखीहरू मेरा फ्यान’

विमल अधिकारी धेरै म्युजिक भिडियोमा देखिने मोडेल हुन् । आधुनिक गीतका म्युजिक भिडियोमा समेत अभिनय गरिरहेका उनी जमेका भने लोकदोहोरीका गीतमा छन् । लोकदोहोरीमा ‘डान्सिङ’ गीत भयो कि शंकर बीसी सम्झिने गरिएजस्तै ‘सोलो’ गीतका लागि सम्झिइने मोडेल हुन् उनी । पछिल्लो पाँच वर्षमा उनले अभिनय गरेका म्युजिक भिडियोको संख्या पाँच सय नाघिसकेको छ । हाल ‘मर्ने मिति हुँदैन पात्रोमा’ गीतमार्फत चर्चा बटुलिरहेका उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः

तपाईं रुने/रुवाउने गीतमा मात्रै किन अभिनय गर्नुहुन्छ ?
मान्छेले मलाई त्यस्तै गीतका लागि सम्झिन्छन् । आफूलाई आएको अफर छाडी भाग्नु पनि भएन । अहिले त धेरैले विरहका गीतमै मैले राम्रो गर्न सक्ने ठान्छन् । मलाई पनि त्यस्तै गीतमा राम्रो अभिनय गर्न सक्छु कि भन्ने लाग्न थालेको छ ।
उस्तै गीतमा दोहरिरहँदा झर्काे लाग्दैन ?
सुरुको गीतमा त डान्स गरेको छु । त्यसपछि सोलो गीत गरेँ । आफ्नो डान्सभन्दा अभिनय मन प¥यो । अरूलाई पनि त्यस्तै भएछ । काम आउन थाल्यो । काम गर्दागर्दै अहिले त बानी परिसक्यो । आफूले जानेको काम जस्तो आए पनि गर्ने हो । सोलो र विरहका गीतमा मेरो पहिचान बनिसकेको छ । त्यसैले अहिले खुशी छु ।
मोडेल बन्ने सपना थियो कि रहर पूरा गर्दागर्दै यहाँसम्म आइयो ?
रहरले सुरुमा एउटा म्युजिक भिडियोमा अभिनय गरेँ । चिनेजानेकाले टीभीमा हेरे । ‘राम्रो छ, अर्काे कहिले आउँछ ?’ भनेर सोध्न थाले । त्यसपछि मलाई पनि अर्काे भिडियो खेल्न पाए हुन्थ्यो भन्ने भयो । अर्काे भिडियो खेलेँ, त्यसपछि त झन् खेल्नुप¥यो ।
पहिलो गीतमा कसले विश्वास गरेको थियो ?
म १२ कक्षा पढ्दै थिएँ । मेरो चिनजानकै गायक थिए, राजन कँडेल । उनकै गीतमा अभिनय गर्न पाएँ ।
मोडलिङमा निखार ल्याउन के–के गरियो ?
डान्स सिकेँ । जिम ज्वाइन गरेँ । अभिनय त गर्दै जाँदा सिकेको हो । केही निर्देशकले पनि सिकाए । आफूले यही काम गरेपछि बलियो बन्नुप¥यो भनेर अभ्यास पनि गरियो ।
तपाईंका साथीभाइ ‘जोखिम मोल्ने मोडेल’ भनेर अरूका अघि तपाईंको प्रशंसा गरिदिँदा रहेछन् । म्युजिक भिडियोमा त्यस्तो के जोखिम मोल्नुपर्छ र ?
म सकेसम्म म्युजिक भिडियोका दृश्यहरू वास्तविक होऊन् भन्ने चाहन्छु । त्यसैले यथार्थ गर्न खोज्छु । आफैँले डोरी बाँधेर पुलमुनि झुन्डिनेदेखि छातीमा ट्युबलाइट फुटाउनेसम्मका काम गरेँ । ट्युबलाइटले काटेर दागै छ छातीमा । निर्देशकले ‘यस्तो सिन गर्न पाए हुन्थ्यो’ भन्छन्, म त्यस्तै गर्न अघि सरिहाल्छु । एक पल्ट पुसको महिना थियो । पानीले भिजेको म्युजिक भिडियो बनाउनुपर्ने स्थिति आयो । म चिसो पानीमा भिज्न अघि सरेँ । म्युजिक भिडियो सकिँदासम्म कठंग्रिएर लुगा अर्कैले लगाइदिने स्थिति आयो । यस्तो गरेको देख्ने साथीभाइ मलाई जोखिम मोल्ने मोडल भनिदिन्छन् ।
लोकदोहोरी गायक/गायिका वा मोडललाई कला क्षेत्रकै अन्य विधाकाले त्यति भाउ दिँदैनन् रे नि ?
यसले पश्चिम क्षेत्रको मात्रै प्रतिनिधित्व गथ्र्याे । सबैले रुचाउँदैनथे । एक समय गीत पनि राम्रा बनेनन् । त्यसका कारण पनि यस्तो भयो । पछिल्लो समय त यो विभेद हटेको छ । नेपालका नाम चलेका हिरोहरू पनि लोकदोहोरी गीतमा मोडलिङ गर्न लालायित भइरहेका हुन्छन् । सबैजसो हिरोले लोकदोहोरी गीतमा मोडलिङ गरिसके ।
तपाईंहरूको पछिल्लो गीत ‘मर्ने मिति’को भिडियोले लोकदोहोरी गीतकै महँगो र फरक भन्ने दाबी गरिरहेको छ । खासमा कुरो के हो ?
अन्य लोकदोहोरी गीतको म्युजिक भिडियो सुटिङका क्रममा लाग्ने खर्चको तेब्बर खर्च भयो । यो गीत लेख्ने समयदेखि नै यसका गायक मोहन खड्का, संगीतकार रामु खड्का, म्युजिक भिडियोका निर्देशक कपिल लामा सँगै छौँ । हामीले यसलाई ‘ऐतिहासिक’ बनाउन सक्दो प्रयास गरेका छौँ । अहिले आइरहेको प्रतिक्रियाले हाम्रो दाबीलाई प्रमाणित गरिरहेको छ । युट्युबमा म्युजिक भिडियोमुनिका प्रतिक्रिया, हामीलाई फेसबुकमा प्राप्त प्रतिक्रियाले एक हदसम्म हामी सफल भएको देखाएको छ ।
त्यसो भए फेरि एकपल्ट मान्छे रुवाउन सफल भइयो ?
प्रेममा देखाएको समर्पणलाई देखाएका छौँ । जुन धेरै प्रेमी र प्रेमिकाहरूले गरिरहेका हुन्छन् । गीतका शब्द, त्यस्तै लय र स्वर पनि उस्तै मन छुने भएकाले धेरैले मन पराएका छन् । धेरैले गीत सुन्दा र हेर्दा रोएँ भनेर प्रतिक्रिया दिएका छन् । मलाई नै फोन गरेर रुने फ्यान पनि छन् । गीत हेर्दा/सुन्दा रोएको रेकर्ड गरेर पनि पठाएका छन् मलाई ।
तपाईंको स्वभाव हँसाइरहने छ । म्युजिक भिडियो ठ्याक्कै उल्टो !
सबैले त्यस्तै भन्छन् ।
तपाईंका खास फ्यान कस्ता छन् ?
दुःखीहरू मेरा फ्यान । म बढी दुःखका गीतमा अभिनय गर्छु । लोकगीतमा अभिनय गर्छु । यसका दर्शक खाडी देशतिर बढी छन् । गाउँतिर बढी छन् । घरपरिवार, प्रेमी–प्रेमिकाबाट वियोग खेपिरहेका छन् । उनीहरूलाई वियोगका गीतले धेरै छुन्छ । यस्ता फ्यान हुनुको फाइदा के हुँदो रहेछ भने मन पराएपछि मनैदेखि मन पराउँछन् । एकपल्ट मन पराए भने निरन्तर ‘फलो’ गरिरहेका हुन्छन् ।  
लोकदोहोरीमा धेरै लगानी गर्ने पनि खाडी मुलुकतिर बसिरहेकैहरू हुन् है !
अहिले लोकदोहोरी क्षेत्र धानिरहेकै खाडी मुलुक पुगेका दाजुभाइले हुन् जस्तो लाग्छ । कति गाउने रहर हुँदाहुँदै अभावका कारण त्यहाँ पुग्छन् । पैसा कमाएपछि गीत रेकर्ड गरेरै छाड्छन् । कतिलाई त्यहाँ खेपेको दुःख, घरपरिवार, प्रेमिकासँगको दुःखले गीतकार बनाउँछ । आएर रेकर्ड गर्छन् ।
कतिवटा गीतमा मोडलिङ गर्नुहुन्छ महिनामा ?
सिजनमा त १५ ÷१६ वटा पुग्छ महिनामा । अहिले मेरो सिजन चलिरहेको छ ।
लोकदोहोरी गीतमा लगानी पनि निकै छ जस्तो छ ?
हाम्रो प्रोडक्सन पनि छ । हामीले नै महिनामा २०/२२ वटा भिडियो बनाउँछौँ । मलाई लाग्छ– नेपाली फिल्म क्षेत्रमा भइरहेको लगानी बराबरकै लगानी लोकगीतमा पनि छ ।
अब फिल्मको हिरो पनि बन्नुहोला नि त ?
नेपालमा पात्र अनुसारको कलाकार खोज्ने प्रचलन भर्खर आइरहेको छ । यस्तो गर्ने सानो समूह छ । नत्र अझै चिनजान, नतागोता नै हेरिन्छ । त्यसैले त्यति धेरै आशावादी छैन । रहर चाहिँ छ । तर, हिरो बन्ने भनेर त्यसैका पछि कुदेको छैन ।
तपाईं स्टेज कार्यक्रममा नि जानुहुन्छ । के देखाउनुहुन्छ त्यहाँ ?
गीतमा नाच्छु । अभिनय गर्छु । विशेष गरी, पश्चिम क्षेत्रमा मेरो ‘क्रेज’ छ । म जाँदा दर्शक धेरै आउने गर्छन् मलाई हेर्न । त्यसैले दर्शक बटुल्न पनि बोलाउँछन् मलाई ।
घर पनि पश्चिमतिरै हो नि ?
स्याङ्जा हो । मेरो ‘लुक्स’ पनि त्यस क्षेत्रकाले मन पराउने खालको छ ।  
लोकदोहोरी क्षेत्रमा धेरै कलाकार स्याङ्जाकै छन्, क्यारे ?
धेरै नै छन् । हाम्रे गाविसमा मात्र आठ–दश लोकदोहोरीसँग सम्बन्धित छौँ ।
तपाईंको लुक्समा विविधता रहेनछ । म्युजिक भिडियोमा क्यारेक्टरभन्दा पनि विमल नै देखिनुहुँदो रहेछ !
सबैले त्यस्तै मन पराएका छन् । मलाई रुचाउनेहरूका कारण आफूलाई परिवर्तन गर्न सकिरहेको पनि छैन । जुँगा पालेर धेरै म्युजिक भिडियो अभिनय गरियो भनेर काटेँ एकपल्ट । सुहाउँदै सुहाएन भनेर महिला फ्यानहरूले भन्नुभयो । त्यसपछि फेरि पाल्न थालेँ ।  
तपाईंको हातमा सलमान खानको जस्तै ब्रासलेट रहेछ । उनकै फ्यान हो ?
सलमान मन पर्दैनन् मलाई । अजय देवगन र दक्षिण भारतीय अभिनेता  प्रभास मन पर्छन् ।
जुँगा प्रभासकै प्रभावले पालेको होला ?
हो ।

 

Leave A Comment