रामकृष्णको ‘यस्तो को हौ तिमी’

बिहिबार, ०५ फागुन २०७३, १२ : ३६ शुक्रवार , Kathmandu
रामकृष्णको ‘यस्तो को हौ तिमी’

गायक रामकृष्ण ढकालको आवाजमा समावेश ‘यस्तो को हौ तिमी’ बोलको गीतको म्युजिक भिडियो प्रेम दिवसका अवसरमा सार्वजनिक भएको छ । भिडियोमा मोडल तथा रामकृष्ण पत्नी निलम शाह ढकाल र मोडल मन्चिन शाक्यले अभिनय गरेका छन् । निकेश खड्काले भिडियोको निर्देशन गरेका हुन् । गीतमा मनीष वशिष्ठको शब्द र दावा गुरुङको संगीत छ ।

यमको ‘मन भमरा’
गायक यम बरालको नयाँ गीति एल्बम ‘मन भमरा’ सार्वजनिक भएको छ । मंगलवार राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित एक समारोहबीच उनको एल्बमको उपराष्ट्रपति नन्दबहादुर पुनले विमोचन गरे । एल्बममा रहेका ‘मन भमरा’, ‘भुइँको माया टिप्न खोज्दा’, ‘सप्तरंगी इन्द्रेणी’ र ‘सागरबीचको मोती’बोलका गीतका म्युजिक भिडियो सार्वजनिक गरिएका थिए । एल्बममा कोमल वली र रेखा थापाले पनि स्वर दिएका छन् । विभिन्न १० गीत अटाइएको एल्बममा राजेन्द्र थापा, मुकुन्दराज शर्मा, जेपी ढुंगेल, विमल डाँगी, रोशन पाल्पालीलगायत गीतकारका शब्द छन् भने दीपक शर्मा, शान्तिराम राई, गणेश पराजुली, आलोकश्री, विमल डाँगी र  किरण श्रेष्ठले संगीत गरेका छन् । तीन गीतमा बराल आफैँले संगीत भरेका छन् ।

कविराजको ‘युनाइटेड सिर्जना संसार’
गीतकार कविराज वान्तवाको बाल गीतिसंग्रह ‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक भएको । राजधानीमा शनिवार आयोजित कार्यक्रममा कवि तथा गीतकार भुपाल राईले संग्रह सार्वजनिक गरे । गीतकार वान्तवाको एकल शब्द रचना रहेको एल्बममा गायक कन्काइस्ट राईको एकल संगीत छ । एल्बममा ‘मसँग एउटा प्यारो प्यारो देश’, ‘यही हो मेरो जन्मभूमि’, ‘कलम र किताब’ लगायत गीत छन् । गीतमा आकांक्षा राई, मन्दिप राई, लादिप्क्षा राई, सिद्धार्थराज राउत, सालु महर्जन, निर्देश महर्जन, सुदीप पौडेल, सोनुप पराजुली र सीता थापाको स्वर छ ।
गौरव–बसन्तको ‘मीतज्यू’
गीतकार गौरव गुरुङको शब्द र संगीतकार बसन्त मुकारुङको संगीत रहेको एल्बम ‘मीतज्यू’ एल्बम सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं कवि बैरागी काइँलाले एल्बम सार्वजनिक गरेका हुन् । एल्बमभित्र छ वटा गीत समाविष्ट छन् । जसमा ‘कहिले भेडी गोठै’, ‘झुल्केको घामसँगै’, ‘रुम्जाटारे सोल्टी’ लगायत गीत रहेका छन् । सुनीता थेगिम लिम्बू, अशोक मुकारुङ, लासमित राई, रिमा गुरुङ होडा, अञ्जु पन्त, भीषण मुकारुङलगायत गायकगायिकाको स्वर रहेको छ । संगीत संयोजन फणीन्द्र राईले गरेका छन् ।

सुन्दरको ‘सुन्दर सपना’
गीतकार सुन्दर पन्तको ‘सुन्दर सपना’ गीति एल्बम सार्वजनिक भएको छ । एल्बममा चार आधुनिक, तीन लोकपप र एउटा राष्ट्रिय गीत समेटिएको छ । एल्बममा अञ्जु पन्त, सन्तोष लामा, तारावीर पाण्डे, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्पा गुरुङ र विजय थापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारावीर पाण्डेको संगीत रहेको छ । दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । सन्तोष लामाको स्वर रहेको ‘नागबेली चाल’ र तारावीर पाण्डेको स्वर रहेको ‘माया गर्नु पराईलाई’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

 

Leave A Comment