सुन्दरी प्रतियोगितामा विवादैविवाद

शनिबार, ०५ चैत २०७३, ०२ : ०१ गोपाल दाहाल , Kathmandu
सुन्दरी प्रतियोगितामा विवादैविवाद

सुन्दरी प्रतियोगिताको संख्या बढ्दै छ । प्रतियोगितामा सहभागी हुनेहरूको संख्या पनि त्यहीअनुसार बढ्दै गएको छ । यस्ता प्रतियोगितामा सहभागीको संख्या बढेसँगै आयोजकहरूका लागि कमाउधन्दा बनेका छन्, सुन्दरी प्रतियोगिता । जो बिस्तारै विकृतिका रूपमा बढ्दो छ ।
यसपटक दुई साताभित्र विराटनगरमा भएका यस्ता प्रतियोगिताको विवाद सामाजिक सञ्जालदेखि प्रहरी प्रशासनसम्म पुगे । गत फागुन ७ गते शनिवारको साँझ विराटनगरमा ‘मिस कोशी’ नामको सुन्दरी प्रतियोगिता भयो । प्रतियोगितामा सुजना खड्का विजेता, समिता बञ्जारा फस्ट रनरअप र विपना दाहाल सेकेन्ड रनरअप घोषणा गरिए । विजेताहरूको खुशी दुई दिन पनि टिकेन । कारण, प्रतियोगिताको ताज पैसामा किनबेच भएको आरोपले बजार गर्मायो । जयराज रायले आफ्नै नाममा खोेलेको जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको मिस कोशीका २६ मध्ये १५ सहभागीहरूको समूहले जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजकले ताजको मोलमोलाई गरेको भन्दै उजुरी नै दिए ।

कुनै समय मिस कोशी प्रतियोगितामा सहभागी भएपछि रेखा थापा कला क्षेत्रमा आएकी थिइन् । लामो समयसम्म मिस कोशी भएन । दुई वर्षअघिबाट त्यही नाममा प्रतियोगिता हुन थालेको थियो । तर, आयोजकले कमाउधन्दा सुरु ग¥यो । सहभागीहरूले प्रशासनमा दिएको उजुरीमा ‘कसैलाई सात लाख, कसैलाई तीन लाख मागेर विजेता बनाइदिन्छु भनेको, पैसा नबुझाए डिस्क्वालिफाइड गरिदिन्छु भनेको’ उल्लेख छ । उजुरीमा लेखिएको छ ‘जबर्जस्ती प्रतिव्यक्ति १० वटा टिकट, १० हजारको बेच्न बाध्य बनाएको र अपहरण गराउने धम्कीसमेत दिएको हुँदा कानुनअनुसार कारबाही गरिपाउँ ।’  

मिस कोशीकी प्रतियोगिता रिया चन्दले त आफूलाई उपाधि जिताउन १० लाख रुपैयाँ मागिएको सञ्चारकर्मीमाझ दाबी नै गरेकी छिन् । आफूले २० हजार बुझाएको अझै पैसा माग्न थालेपछि उजुरी गरेको उनको भनाइ छ । प्रतियोगीहरूले लगाएको आरोपले आयोजकलाई मात्र होइन प्रतियोगिताका निर्णायक कलाकार सुस्मिता केसी र क्षितिज शाक्यमाथि पनि प्रश्न उठ्यो ।

मिस कोशीको विवाद सेलाउन नपाउँदै विराटनगरमा अर्को सुन्दरी प्रतियोगिता पनि विवादमा मुछियो । फागुन २० गते भव्यतासाथ भएको ‘मिस पूर्वेली सुपर मोडल’मा सुनसरीकी सोनिया प्रधान विजेता, सोफिया फस्ट रनरअप र ऐश्वर्य खड्का सेकेन्ड रनरअप घोषणा भए । तर, प्रतियोगीहरूलाई निर्णय चित्त बुझेन । प्रतियोगिताकै बेला आक्रोश पोखेका उनीहरूले फागुन २३ गते पत्रकार सम्मेलन गरे । फाइनलमा पुगेकामध्ये टप टाइभमा परेकी नानु वाइबासहित रुचिका गनेश, सविता खड्का, आस्मा देव, पेक्षा सापकोटा र सिमी खानले पत्रकार सम्मेलन गरेर धाँधली भएको आरोप लगाए । निर्णय चित्त नबुझाएका उनीहरूको आरोपले प्रतियोगिताको निर्णायकमा रहेका अभिनेत्री रीमा विश्वकर्मा, फेसन डिजाइनर उत्तम बनेपाली, अभिनेता विनय श्रेष्ठ, निर्देशक सुव्रत आचार्य, विभोर पोखरेल र मिस पूर्वेलीकी पूर्व रेश्मा घिमिरेलाई पनि अप्ठ्यारोमा पा¥यो ।

सहभागीहरूले प्रतियोगिता अपारदर्शी भएको भन्दै पत्रकार सम्मेलन मात्र गरेनन्, सामाजिक सञ्जालमा पनि आयोजकलाई गाली गर्दै आक्रोश पोखे भने प्रहरी प्रशासनलाई समेत गुहारे । फागुन २६ गते प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरायो । आयोजक निर्णायकले दिएका अंकसहितको फाइल बोकेर प्रहरी कार्यालय पुगे । सहभागीहरूलाई निर्णय देखाइयो । दुवै पक्षको छलफलपछि आगामी दिनमा विवाद नगर्ने सहमति गरियो । एवान इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अघिल्ला संस्करणहरूमा पनि कहिलेकाहीँ सामान्य विवाद आउँथे । यसपटकको संस्करण अर्थात् छैटौँ संस्करणमा आइपुग्दा भने विवादले उग्ररुप लियो । प्रतियोगीताका निर्देशक निराजन लुईटेल भने विवाद गर्नेहरूको गतिलो तर्क नभएको बताउँछन् । उनले भने ‘उनिहरूले नबुझेका कुरा बुझाएपछि विवाद सकियो ।’

धरानमा अहिले ‘मिस्टर एन्ड मिस धरान’ नामको प्रतियोगिता भइरहेको छ । ११ युवा र १३ युवती सहभागी प्रतियोगितामा अविवाहितले मात्र फाराम भर्न पाउने व्यवस्था थियो । तर, प्रतियोगिताको फाइनल हुन लाग्दा विवाहित पनि सहभागी भएको थाहा भएपछि ह्वाइट इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिता विवादमा तानिएको छ । फागुन ५ मा फाइनल हुने बताइएको प्रतियोगिताकी आयोजक ज्योत्सना डंगोल आफूले अविवाहितलाई मात्र फाराम भर्न आग्रह गरेको र को विवाहित, को अविवाहित छुट्याउन नसक्ने बताउँछिन् । आयोजक समितिकै इक्सा लिम्बू प्रतियोगिता अविवाहितको भएकाले विवाहित भेटिए छानबिन गरेर कारबाही गरिने बताउँछिन् । उनले भनिन्, ‘सहभागीबीच हामी छानबिन गरिरहेका छौँ ।’

यसअघि पनि पूर्वमा भएका सौन्दर्य प्रतियोगितामा पटक–पटक विवाद उत्पन्न भएका छन् । यसरी पूर्वमा भएका सौन्दर्य प्रतियोगिताहरूमा एकपछि अर्को विवाद उत्पन्न हुँदा सही ढंगले प्रतियोगिता गर्नेहरूलाई पनि असर पर्ने गरेको छ भने पैसा कमाउने धन्दामा लागेकाहरूले गर्दा यस्ता प्रतियोगिताको बद्नामी बढ्दो छ ।

Leave A Comment