नृपेन्द्र मल्ल

आइतबार, १३ चैत २०७३, ११ : ५३ प्रा. दिनेशराज पन्त , Kathmandu
नृपेन्द्र मल्ल

काठमाडौँबाट कान्तिपुर पब्लिकेसन्स (प्रा.)लि.द्वारा प्रकाशित वि.सं. २०७३ चैत्र ४ गतेको कान्तिपुर २५ वर्ष २८ अङ्कको ४ पृष्ठमा छापिएको दामोदर न्यौपानेको तालमुनि त्रैलोक्य मन्दिर भन्ने खबरमा पार्थिवेन्द्र मल्लले पिता नृपेन्द्रको स्मृतिमा सन् १६८० मा यो मन्दिर बनाएका हुन् भनी लेखिएको छ । यताबाट नृपेन्द्र मल्लका छोरा पार्थिवेन्द्र मल्ल देखिन आउँछन् । वास्तवमा पार्थिवेन्द्र मल्ल नृपेन्द्र मल्लका भाइ हुन् । काठमाडौँका राजा प्रताप मल्लका छोरा नृपेन्द्र मल्ल र पार्थिवेन्द्र मल्ल हुन् । बाबु प्रताप मल्लको मृत्यु भएपछि यी दुई क्रमैले काठमाडौँका राजा भएका थिए । वि.सं. २०१९ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित धनवज्र वज्राचार्य, रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शङ्करमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त र नयनाथ पौडेलको इतिहास–संशोधनको प्रमाणप्रमेयका ५९–६२, २३७–२४०, २६१ पृष्ठमा, वि.सं. २०३३ मा काठमाडौँबाट त्रिभुवन विश्वविद्यालय नेपाल र एशियाली अध्ययन संस्थानद्वारा प्रकाशित गौतमवज्र वज्राचार्यको हनुमानढोका राजदरबारका ४६, २७९ पृष्ठमा, वि.सं. २०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागका १४३–१४४, १५१ पृष्ठमा तथा वि.सं. २०४३ मा दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास दोस्रो भागका ५५४–५५६ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । सामान्य कुरा पनि विचार नगरी लेख लेख्ने प्रचलन बढ्दै गएको नमूना यो हो ।
 

Leave A Comment