मीरकासिम

शनिबार, १९ चैत २०७३, ११ : ५७ प्रा. दिनेशराज पन्त , Kathmandu
मीरकासिम

काठमाडौँबाट नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा प्रकाशित वि.सं. २०७३ चैत्र १२ गतेको अन्नपूर्ण पोस्ट् १५ वर्ष ३२० अङ्कको फुर्सदको ख पृष्ठमा छापिएको सुजित मैनालीको पृथ्वीनारायणले ल्याएका सेखका सन्तति भन्ने लेखमा राष्ट्रघातीका रूपमा कुख्यात मिर जाफरका छोरा हुन्, मिर कासिम भनी लेखिएको छ । त्यस लेखमा अन्यत्र पनि मीरजाफरका छोरा मीरकासिम भनी लेखिएको छ । मीरकासिम बङ्गालका नवाब मीरजाफरका छोरा होइनन्, उनी मीरजाफरका जुवाइँ हुन् । आफ्ना नवाब सिराजुद्दौलालाई धोका दिई वि.सं. १८१४ मा मीरजाफर बङ्गालका नवाब भएजस्तै मीरजाफरलाई धोका दिई उनका जुवाइँ मीरकासिम वि.सं. १८१७ मा बङ्गालका नवाब भएका हुन् । यो कुरा प्रसिद्धै छ । वि.सं. १९८४ मा काशीबाट काशी विद्यापीठद्वारा प्रकाशित हरिहरनाथ शास्त्रीको मीर कासिमका ४२–४३ पृष्ठमा सप्रमाण यो कुरा लेखिएको पनि छ । वि.सं. १८१९ मा नेपालमा भएको मीरकासिमको आक्रमणलाई गोरखालीहरूले रोक्न नसकेको भए नेपालको अहिलेको अवस्था हुँदैनथ्यो भन्ने स्पष्ट छ । पृथ्वीनारायण शाहको विषयमा नयाँ कुरा खोजी लेखिएको सुजित मैनालीको लेखमा मीरकासिमको परिचयमा अशुद्धि परेकोले अलि खल्लो हुन गएको छ । सोही लेखमा जनरल भीमसेन थापाले सन् १८८७ मा कादरका छोरा अकबर सेख र उनका सन्तानका निम्ति काठमाडौं, पनौती, फूलबारी, भावरकोट आदिमा जग्गा दिइने व्यवहारको पत्रमा लालमोहर गरिदिएका थिए भनी लेखिएको छ । वि.सं. १८८७ मा भनी लेख्नुपर्नेमा सन् १८८७ मा भनी यहाँ अशुद्धि गरिएको कुरा पनि यस प्रसङ्गमा स्मरणीय छ ।
 

Leave A Comment