पूर्वमा बढ्दो ‘जघन्य’ अपराध

सोमबार, २८ चैत २०७३, १२ : ४४ गोपाल दाहाल , Kathmandu
पूर्वमा बढ्दो ‘जघन्य’ अपराध

मोरङको कटहरी १ आदर्श टोलमा इन्द्रचन डागाकी श्रीमति दीपा निरौला डागा र बुहारी अस्मिता भट्टराई डागाको चैत ४ गते घरमै हत्या भयो । केही समय रहस्यमै रहेको घटनामा संलग्न अभियोगमा प्रहरीले झण्डै दुई सातापछि उनीहरूकै आफन्त पर्ने विराटनगरका २६ वर्षीय विष्णुकुमार डागालाई पिस्टोल र गोलीसहित पक्राउ ग¥यो ।
—भोजपुर नगपालिका ११ का ३८ वर्षीय हर्कबहादुर मोक्तानले चैत १९ गते आफ्नी श्रीमती ३५ वर्षीया मुना तामाङलाई खुकुरी प्रहार गरी हत्या गरे । हत्यापछि १२ वर्षीय छोरालाई लिएर भागेका उनलाई भोलिपल्ट भोजपुरकै जंगलबाट प्रहरीले पक्राउ ग¥यो ।
यी घटना पूर्वमा चैत महिनामा भएका ‘जघन्य अपराध’का दुइटा उदाहरण हुन् । पूर्वमा प्रहरीले अहिले अपराध न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिरहेको छ । तर पनि, हत्या, अपहरण, बलात्कारजस्ता घटना दैनिक भइरहेका छन् । यो आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको प्रहरीको तथ्यांक हेर्ने हो भने ‘जघन्य अपराध’को अवस्था कहालीलाग्दो छ । प्रहरीले ‘जघन्य’ सूचीमा राखेका घटनाको संख्या चैतबाहेक आठ महिनामा १ हजार ७ सय ३४ छ । अर्थात्, यी घटनाले के देखाउँछन् भने आठ महिनाको अवधिमा पूर्वमा हरेक दिन सात वटा यस्ता ‘जघन्य’ घटना भए । त्यसमध्ये हरेक दुई दिनमा एक जनाको हत्या (जम्मा १ सय ७) भयो भने त्यही अनुपातमा हत्या प्रयास (जम्मा १ सय २२) भए ।
अझ आत्महत्याको दर कहालीलाग्दो छ । पूर्वका १६ जिल्ला हेर्ने क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको तथ्यांकले आठ महिनामा ७ सय ८९ जनाले आत्महत्या गरेको देखाउँछ । यो भनेको हरेक दिन तीन जनाले आत्महत्या गर्नु हो । बलात्कारका घटना पनि उत्तिकै बढ्दा छन् । यो अवधिमा २ सय २० वटा बलात्कारका घटना दर्ता भएका छन् । यसले हरेक दिनजसो बलात्कारका घटना भएको जनाउँछ । प्रहरी तथ्यांकअनुसार लागुऔषधका ३ सय ९० मुद्दा दर्ता भएका छन् भने हातहतियार खरखजनाका ५१, मानव बेचबिखनका ३४, विष्फोटक पदार्थ सम्बन्धी आठ, अपहरणका चार, गर्भपतनका तीन र राज्यविरुद्धको अपराधका एक घटना भएका छन् ।
प्रहरीले ‘जघन्य’ सूचीमा राखेका यस्ता घटनाको संख्या धेरै भए पनि अपराधीलाई कारबाही गर्ने काममा भने प्रहरीको सफलता निराशाजनक देखिन्छ । प्रहरीकै तथ्यांकले भन्छ, जम्मा १ हजार ७ सय ३४ यस्ता घटनामध्ये ७ सय ८६ घटना मात्र फस्र्यौट भएका छन् । बाँकी ९ सय ४८ घटना फस्र्यौट हुनै बाँकी छन् । हालसम्म गर्भपतन र अपहरणका मुद्दाको मात्र पूर्ण फस्र्यौट भएका छन् । प्रहरी अधिकारीहरू भने कतिपय मुद्दामा अभियुक्तको अनुसन्धान चलिरहेको र कतिपय अझै फरार रहेकाले फस्र्यौट संख्या कम भएको बताउँछन् । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अपराध अनुसन्धान शाखाका सञ्चार समन्वय अधिकृत प्रहरी निरीक्षक सन्तोष निरौला पूर्वमा यस्ता घटना बढेको देख्दा अचम्म मान्छन् । भन्छन्, ‘पहिला अपराध भन्नेबित्तिकै सबै डराउँथे, अहिले मार्ने÷मर्नेजस्ता घटना सामान्य लाग्न थालेका छन् । हाम्रो समाजै कुन दिशातिर गइरहेको हो ? बुझ्नै गाह्रो भो ।’
समाजको अपराध नियन्त्रणको काम प्रहरीकै मात्र हो भन्ने सोच छ । तर, पूर्वका घटनाहरू हेर्दा प्रहरीले मात्र यस्ता घटना नियन्त्रण गर्न कठिन भइरहेको छ । पूर्वका ठूला शहर विराटनगर, इटहरी, धरान, बिर्तामोड लगायतमा कुनै बेला प्रहरीको सक्रियताले अपराधको संख्या घटेको थियो । तर, अहिले त्यतिले मात्र अपराध नियन्त्रण हुने देखिँदैन । प्रहरी अधिकारीहरू नै समाजको सक्रिय सहभागिताविना अपराध नियन्त्रण गाह्रो भएको बताउन थालेका छन् । बेलाबेला प्रहरीले नागरिकसँग सहकार्य गर्ने उद्घोष गरे पनि त्यसको व्यावहारिक प्रयोग हुन सकेको छैन ।

 

Leave A Comment