नायकदेवी

मङ्गलबार, २९ चैत २०७३, ११ : १८ शुक्रवार , Kathmandu
नायकदेवी

बुटवलबाट बुटवल मिडिया प्रकाशन प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ माघ २७ गतेको समृद्ध नेपाल १३ वर्ष ७५ अङ्कको ९ पृष्ठमा छापिएको कान्ति चुँदालीको उन्नतिपथामा महिला भन्ने लेखमा नायक देवीले १३८५ मा पिताको निधन भएपछि सत्ता आफ्नो हातमा लिई शासन चलाउन थालिन्, राजा जयरुद्ध मल्लका छोरी मात्र भएकोले उनले राज्यको उत्तराधिकारी बन्ने अवसर पाएकी थिइन् भनी लेखिएको छ । यताबाट जयरुद्ध मल्ल नामका राजाको वि.सं. १३८५ मा मृत्यु भएपछि उनकी छोरी नायकदेवीले शासन चलाउन थालिन् भन्ने बुझिन्छ । गद्दीमा राजा अरि मल्ल भएको समयमा उनका नातेदार राज्यमा हालीमुहाली भएका रुद्र मल्लको ३० वर्षको उमेरमा वि.सं. १३८३ आषाढमा मृत्यु भयो । रुद्र मल्लको उत्तराधिकारीको रूपमा उनकी छोरी नायकदेवी रहिन् । रुद्र मल्ल राजा होइनन् तापनि उनी शक्तिशाली भएका र उनैले शासन चलाएकाले उनलाई उपराज भने भन्न सकिन्छ । राजा र शक्तिशाली व्यक्तिहरूको नामको अघिल्तिर जय लाग्ने र अरि मल्ल र रुद्र मल्लको नामको अगाडि पनि जय लागेको कुरा यस प्रसङ्गमा स्मरणीय छ । वि.सं. २०१९ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित धनवज्र वज्राचार्य, रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शङ्करमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त र नयनाथ पौडेलको इतिहास–संशोधनको प्रमाणप्रमेयका १५५, २३२–२३६ पृष्ठमा तथा वि.सं. २०२२ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ७ पूर्णाङ्कमा छापिएको धनवज्र वज्राचार्यको शक्तिशाली भारादार रामवद्र्धनहरू र तात्कालिक नेपाल भन्ने लेखमा (त्यस पूर्णाङ्कको १४ पृष्ठमा) यस विषयमा सप्रमाण लेखिएको छ । यसकारण राजा रुद्ध मल्लको मृत्यु वि.सं. १३८५ मा भयो भनी लेखिएको अशुद्ध हो भन्ने स्पष्ट हुन्छ ।
प्रा. दिनेशराज पन्त

Leave A Comment