कर्मचारीको प्यारो ‘रातो भाले’

मङ्गलबार, २९ चैत २०७३, ०२ : ५० शुक्रवार , Kathmandu
कर्मचारीको प्यारो ‘रातो भाले’

काठमाडौँको प्राइम लोकेसन बबरमहलमा रहेको ‘रातो भाले’ रेस्टुरेन्ट यो क्षेत्रको चर्चित रेस्टुरेन्ट हो । देशको मुख्य प्रशासनिक भवन सिंहदरबारनजिकै रहेको र बबरमहलमा अन्य सरकारी अफिस पनि रहेकाले कर्मचारीमाझ रातो भाले लोकप्रिय छ । रेस्टुरेन्टका म्यानेजर प्रेमबहादुर श्रेष्ठ सार्वजनिक बिदाका दिन रातो भाले सुनसान हुने बताउँछन् । बबरमहल क्षेत्रमा रहेका अफिसमा काम गर्नेहरू नै रातो भालेका नियमित ग्राहक हुन् । बिदाका दिनमा फाट्टफुट्ट मात्र ग्राहक आउने गरेको उनी बताउँछन् । ‘अफिस लागेका बेला भने बिहानदेखि नै खाना र खाजा खानेहरूको भीड लाग्छ । बिदाका दिन भने फाट्टफुट्ट मात्रै ग्राहक आउँछन्,’ उनी भन्छन् ।
रातो भाले खुलेको १० वर्ष भइसक्यो । खाना र खाजाका स्वादिला परिकार पस्केर यसले धेरैको मन जितिसकेको श्रेष्ठको भनाइ छ । चितवन तास, सेकुवा, नेपाली खाना, फापरको ढिँडो तथा लोकल कुखुराको मासुका लागि रातो भाले चर्चित छ । लोकल रातो भालेको मासु नै खुवाउने उद्देश्यले रेस्टुरेन्टको नाम नै रातो भाले राखिएको श्रेष्ठ बताउँछन् । ‘तर, लोकल कुखुरा पाउन मुस्किल छ । ब्रोइलर र लोकल क्रस गरेका कुखुरा बढी पाइने भएकाले ग्राहकलाई पहिला नै भनेर सर्भिस दिने गरेका छौँ,’ उनी भन्छन् । गाउँबाट लोकल नै कुखुरा आएको छ भने त्यहीअनुसार जानकारी दिएर कुखुराका परिकार बनाइदिने गरेको पनि श्रेष्ठ बताउँछन् ।
लोकल कुखुराको मासु र फापर ढिँडो रातो भालेमा बढी रुचाइने परिकारमा पर्छ । यसका साथै चिकेन रेश्मी कबाब, नेपाली खाना सेट पनि ग्राहकले रुचाउने गरेका छन् । एक पटकमा १ सय २० जनासम्म अटाउने ‘रातो भाले’ले स्वस्थ तथा स्वादिला परिकार पस्कने गरेको छ । यहाँ चाइनिज, इन्डियन, कन्टिनेन्टल खानाको स्वाद पनि लिन पाइन्छ ।

 

Leave A Comment