गृहमन्त्रीको गन्थन

मङ्गलबार, १२ बैशाख २०७४, ११ : ४८ ईश्वर दाहाल , Kathmandu
गृहमन्त्रीको गन्थन

हेर्दा मसँग के छैन ? सबथोक छ । मुलुकको गृहमन्त्री, त्यसमाथि नेपालजस्तो देशको । पार्टीमा आफ्नै लाइनको वर्चस्व छ । अर्काेतर्फ मधेशलाई महत्व दिएन भन्ने विगतको छवि पनि सुध्रिँदै गएको छ । म पनि मधेश र मधेशीको अधिकारको लागि प्रतिबद्ध छु भन्ने सन्देश हिजोआज सलेहश फूलबारीदेखि माता जानकीको धामसम्म पुगेको छ । रामानन्द चोकदेखि राजबिराजसम्म प्रवाहित भएको छ ।
स्थानीय चुनाव सँघारमा छ । चुनावको मुखमा गृहमन्त्री बन्न पाउनु आफैँमा अहोभाग्य हो । जो–जो चुनावको मुखमा गृहमन्त्री भए, तिनले इतिहास रचे । तर, आज समय फरक छ । मेरो हाल कविशिरोमणि लेखनाथ पौड्यालले भनेजस्तो ‘बालक बबुरो...छु पिँजडामा’ भएको छ । यसो गम्छु– पिँजडामा परेको सुगा र मेरो हालतमा कुनै फरक छैन । पिँजडाको सुगासँग सबथोक छ । आहारा खोज्न पखेटा फटफटाउनु पर्दैन । असुरक्षाबोधले तड्पिनु पर्दैन । मान्छेले हेर्छन् र रमाउँछन् । तर, के गर्नु ? जिन्दगी पिँजडामा कैद छ । म पनि हिजोआज त्यही पिँजडाको सुगाकै तालमा दिन भुक्तान गर्न अभिशप्त छु ।
हेर्दा देशको गृहमन्त्री । सत्ता गठबन्धनमा प्रमुख दलको नेतृत्व गरेको मान्छे । पुस्तैनी राजनीतिको विरासत । त्यसमाथि कांग्रेसतर्फबाट मधेशको एक मात्र मसिहा । देशभरका कार्यकर्ता आशाका नजरले हेर्छन् ।  सडकमा काफिला निक्लदाँ साइरन बज्छ । सुरक्षाकर्मीको लावालस्कर मेरो अघिपछि छ । तर, के गर्नु यी सबथोक भएर पनि असुरक्षाबोधले सताउन थालेको छ । किन–किन एक्लो लाग्न थालेको छ ।
अस्ति राति निन्द्रा परेन । मनमा तर्क–वितर्क चलिरहे । मलाई लाग्थ्यो– हाम्रो खानदानको मुख्य शत्रु भनेकै कोइराला खानदान हो । बाबुजीलाई पनि खूब सम्झिएँ । बाबुजीको सिंगो राजनीति पनि कोइराला खानदानको पेलानमा परेर स्वाहा भयो । मलाई पनि कोइराला पेलानले पार्नुसम्म सास्ती पारेपछि म पूर्वेलीले, सुदूरपश्चिमको राजासापको दामन थामेँ । उनको पनि त्यतिबेला गतिलो हबिगत थिएन । कोइराला खानदानको जाँतोमा पिँधिन बाध्य थिए । काका र भतिजा दुवै कोइराला बिदा भएपछि राजासापका दिन फिरे । उनलाई पार्टीको मुखिया बनाउन मैले के गरिनँ ? दिल्ली दरबारदेखि पार्टी कार्यकर्ताहरूको समेत चाँजोपाँजो मिलाएँ । राजासापसँगै आफ्ना पनि सुदिन आउँछन् भन्नेमा ढुक्क थिएँ । तर, तारादेवीले गाएको गीत जस्तो भयो– ‘सोचेजस्तो हुन्न जीवन ।’
मनको बह कसलाई सुनाऊँ ? देशको गृहमन्त्री बोल्दै हिँड्ने कुरा पनि भएन । उल्कै छटपटी भएपछि मैले मन थाम्न सकिनँ । मेरा सुनाउने मान्छे पनि छैनन् । दुःख बिसाउने ठाउँ पनि छैन । मध्यरातमा मच्चिएको छटपटीलाई ट्वीटरमा लेखेँ । सोझो–सोझो कुरा पनि लेख्नु भएन । जेजस्तो भए पनि राजनीति गर्न बाँकी नै छ । मनको औडाहालाई स्थानीय तह निर्वाचन र सुरक्षासँग जोडेर अभिव्यक्त गरेँ । मेरो कुरा बेठीक पनि थिएन । मधेशलाई छाडेर चुनाव गर्न सुरक्षाको दृष्टिले सजिलो छँदै छैन । तर, के गर्नु ? मेरो मर्म कसैले पनि बुझेन । गालीगलौज र आरोपको वर्षा भयो । तै–तै, ट्वीटरमा लेख्दा अंग्रेजी भाषामा लेखेको थिएँ र भोलिपल्ट विज्ञप्ति निकाल्न सजिलो भयो ।
साँच्चै म रनभुल्ल पर्छु । म गृहमन्त्री हुँ कि ? कसैको अरनखटमा चल्ने कारिन्दा ? गृहमन्त्रीले देशको सुरक्षाको प्रबन्ध मिलाउँछ । समाजमा अमनचैनका लागि काम गर्छ । फेरि गृहमन्त्री एक्लैले चाहँदैमा शासन व्यवस्था राम्रो हुने पनि होइन । प्रहरी प्रशासनको व्यवस्थापनले नै शान्ति र सुरक्षा समाजमा व्यक्तिने हो । यसका लागि मलाई टिम चाहिन्छ । आफूअनुकूल प्रहरी महानिरीक्षक नियुक्त गर्छु भन्दा झण्डैझण्डै गृहमन्त्रीको कुर्सी नै स्वाहा भएको थियो । अचम्म लाग्छ, मेरा पार्टी मुखिया हिजो के थिए, हेर्दाहेर्दै एक डेढ वर्षमा के भए ? गृहमन्त्रीले प्रहरी महानिरीक्षक नियुक्त गर्न पनि नसक्ने अवस्था भएपछि राजीनामा ठोकौँ जस्तो पनि लाग्यो । फेरि स्थानीय तह निर्वाचन सम्झिएर मनको आवेग नियन्त्रण गरेँ ।
पार्टी मुखिया हरेक मोडमा तरबार बोकेर हाजिर छन् । यता उनी छन्, उता प्रधानमन्त्री घन उचालेर टाउकामा हान्न ठिक्क छन् । ठिक्क छन् मात्र के भन्नु ? प्रधानमन्त्रीले घनले टाउकैमा बजारिसके । सत्ताघटक दलको प्रमुख पार्टीको मानिसलाई छाडेर चौथो दलको मानिस मन्त्री परिषद्मा दोस्रो वरीयतामा राख्नुलाई घनले हानेको नभनेर के भनौँ ?
प्रहरी महानिरीक्षक काण्डदेखि बूढानीलकण्ठ जान छाडेको थिएँ । आखिर आफ्ना लागि प्रगतिभन्दा खति मात्रै भइरहने मन्दिर धाएर पनि के गर्नु ? वरीयताबाट आफू अपमानित भएपछि तैपनि केही भइहाल्छ कि भनेर भारी मनले त्यहाँ पुगेको थिएँ । तर, केही भएन । पार्टी मुखिया ढुंगो बोल्ला बोलेनन् । आफूसँगै पार्टी अपमानित भएको, वरीयताले नराम्रो सन्देश गएको भनेर सुनाएँ । तर, मेरो केही लागेन । जतिसक्दो छिटो प्रधामन्त्रीको कुर्सीमा चढ्न आतुर भएका मुखियाका कानसम्म मेरा कुरा पुग्दै पुगेनन् ।
मन्त्री परिषद् बैठकको ढोका पनि आफ्ना लागि बन्द भएको छ । तेस्रो वरीयताको कुर्सीमा बस्न कुन मुख देखाएर जानु ? जाँदै जाँदिनँ भनेर किरिया खाइसकेँ । मलाई हिजोआज आफैँसँग दया लाग्न थालेको छ । कहिलेकाँही झस्कन्छु र गम्छु– के म यो देशको साँच्चै गृहमन्त्री हुँ ?

 

Leave A Comment