सुटिङमा दुर्घटना

बिहिबार, ०४ जेठ २०७४, ०५ : ०३ अनिल यादव
सुटिङमा दुर्घटना

फिल्ममा फाइट र स्टन्टका दृश्य देख्दा दर्शक  उत्तेजित हुन्छन्, जीउमा काँडा उमार्छन्, भरपूर मनोरञ्जन लिन्छन् । तर, त्यस्ता दृश्यका लागि हिरो, हिरोइन, स्टन्टम्यान र फाइटरले ज्यानको बाजी लगाएका हुन सक्छन् । सुरक्षा उपाय कमजोर हुने हुँदा सुटिङमा दुर्घटनामा नपरेका कलाकार भेट्न मुश्किल छ । त्यसमाथि ज्यानै जोखिममा पारेर काम गर्ने स्टन्टम्यानहरूको पारिश्रमिक र सुविधा अत्यन्तै कम हुन्छ । अनिल यादवले फिल्म सुटिङका क्रममा भएका दुर्घटनाको लामो सूची मात्रै प्रस्तुत गरेका छैनन्, कलाकारका पीडा पनि समेटेका छन् । 

घटना १ः फिल्म ‘मैदान’ को ‘फाइट सिन’ छायांकन भइरहेको थियो । अभिनेता राजेश हमाल हातमा तरबार बोकेर गुण्डालाई प्रहार गर्न तम्तयार थिए । तर, अकस्मात् त्यो तरबार बिँडबाट फुत्कियो र क्यामेराम्यानको अनुहारमा गएर लाग्यो । उनका चार वटा दाँत पूरै भाँचिए, ओठ पनि काटियो । हमाल हेरेको हेरै भए । 

घटना २ : आजभन्दा २२ वर्षअघि ‘दुश्मन’ फिल्मको सुटिङ भइरहँदाको कुरा हो । ‘ब्लास्टिङ सिन’ खिचिँदै थियो । द्वन्द्व निर्देशक एनबी महर्जन स्वयं स्टन्ट गर्दै थिए । उनको शरीरमा आगो लाग्यो । करिब दुई महिना अस्पताल बस्नुपर्यो उनले । 

घटना ३ : फिल्म ‘जाऊँ हिँड पोखरा’को सुटिङमा अभिनेत्री रेखा थापाले अभिनेता जीवन लुइँटेललाई गुण्डाहरूबाट जोगाएर भगाउनुपर्ने दृश्य थियो । हाम्फाल्ने बेलामा ‘मिसप्लेस’ भएर उनी राखिएको ‘फर्म’ भन्दा बाहिर लडिन् । पर्दामा जीवनलाई बचाउनुपर्ने थियो, यथार्थमा आफैँ घाइते भइन् । खुट्टाको ‘लिगामेन्ट’मा असर पर्यो । उनी बेडमै थलिएपछि १५ दिन सुटिङै रोकियो । 

घटना ४ : फिल्म ‘सन्तान’का लागि अभिनेता निखिल उप्रेती बाइक उडाउँदै थिएँ । उडाए पनि । तर, उडाउने क्रममा उनको दाहिने हातको ठूलो औँलै भाँचियो । त्यो स्टन्टमा दर्शक रमाए तर उनको त्यो हातको औँला अझै बांगै छ । 

०००

फिल्म हेर्दा दर्शकले भरपूर मनोरञ्जन खोजिरहेका हुन्छन् । हिरोले गुण्डालाई पिट्दा उनीहरू खुशी हुन्छन्, ताली पिट्छन् । बाइक उडाउँदा अथवा सात तलाबाट हाम्फाल्दा उनीहरू उत्तेजनामा बेस्सरी चिच्याउँछन्, सिटी बजाउँछन् । स्टन्ट र फाइटका दृश्यहरूले दर्शकलाई खूब रमाइलो गराइरहेको हुन्छ । यो त पर्दामा देखिँदाको कुरा हो । तर, पर्दापछाडि यस्ता डरलाग्दा, लोभलाग्दा र रोमाञ्चक दृश्य खिच्ने बेलामा फिल्मका कलाकार, फाइटर, फाइट डिरेक्टरहरूले मोल्ने जोखिमको कथा अर्कै हुन्छ । उनीहरूले बेहोर्ने दुर्घटना उस्तै खतरनाक हुन्छन् । माथिका चार त प्रतिनिधि उदाहरण मात्र हुन् । ‘लात लाग्ने, मुक्का लाग्ने घटना त कति भोगियो, भोगियो,’ अभिनेता राजेश हमाल भन्छन्, ‘फाइटरहरू नयाँ–नयाँ हुन्थे । जोशमा आएर हान्थे, शरीरमा लागिहाल्थ्यो । राउन्ड किक हानेर मलाई दिउँसै तारा देखाइदिएका घटना पनि थुप्रै छन् ।’

सुटिङमा कमजोर सुरक्षा उपायका कारण पनि नेपालमा दुर्घटना जोखिम बढी हुने गरेको लामो समयदेखि फिल्म निर्देशनमा सक्रिय निर्देशक ऋषि लामिछाने बताउँछन् । ‘हामी अझै ‘कार्टुन’कै भरमा फाइट खेलाउँछौँ,’ उनी भन्छन्, ‘सिनेमा सस्तोमा कसरी बनाउने भन्नेतिर बढी ध्यान गएकाले यस्तो भएको हो । तर, यो गम्भीर कुरा हो । मान्छेको जिन्दगीसँग जोडिने कुरा हो । त्यसैले बलियो सुरक्षा उपाय अपनाउनलाई निर्माताले सम्झौता गर्नु हुँदैन ।’ 

सुटिङका दुर्घटना 
अधिकांश कलाकारले फिल्म सुटिङका क्रममा कुनै न कुनै दुर्घटना भोगेकै हुन्छन् । शुक्रवारको जिज्ञासामा अधिकांश कलाकारको जवाफ हुन्थ्यो– ‘दुर्घटना छ नि, किन नहुनु ?’ 

अभिनेता निखिल उप्रेतीले दर्शकमाझ ‘एक्सन हिरो’को बलियो पहिचान बनाएका छन् । नेपाली फिल्ममा सात तलाबाट हाम्फाल्नेदेखि हेलिकप्टर स्टन्टसम्मको सुरुवात उनले गरेका हुन् । ‘मलाई चुनौती सामना गर्न मन पर्छ,’ उनी भन्छन्, ‘त्यसैले म स्टन्ट गर्न डराउँदिनँ । सुटिङका क्रममा यस्ता सामान्य चोटपटक त कति लागे, लागे । ’ रोचक कुरा के छ भने उनले ‘पिँजडा’ फिल्ममा सात तलाबाट हाम्फाल्दा केही भएन, हेलिकप्टरबाट पनि सकुशल ‘जम्प’ गरे । तर, ११ वर्षअघि फिल्म ‘भाग्य विधाता’मा सामान्य जम्प गर्दा उनको देब्रे खुट्टै भाँचियो । ‘त्यत्रो ठूलठूलो फाल हान्दा केही भएन, तर सानो जम्पमा दुर्घटना भयो । त्यतिबेला खुट्टा भाँचिएपछि डाक्टरले ‘कम्तीमा एक महिना रेस्ट गर्नू’ भने । तर, निर्माताको आग्रहले १० दिनमै सुटिङ थाल्नुपर्यो । यही हाम्रो विडम्बना हो ।’ आफ्नै फिल्म ‘भैरव’को सुटिङमा पनि फाइट सिन खिच्दा असन्तुलनका कारण दाहिने खुट्टा भाँचिएको उनले बताए । 

नौ महिनाअघि ‘चर्खा’ फिल्मको सुटिङमा अभिनेत्री रजनी केसीले त्यस्तै नमीठो दुर्घटना बेहोरिन् । कानमा इन्फेक्सन भएर उनले एक महिना आराम नै गर्नुपर्यो । ‘गीतको सुटिङ भइरहेको थियो,’ रजनीले घटनाक्रम सुनाइन्, ‘हिरोले मलाई स्विमिङ पुलमा फाल्नुपर्ने सिन थियो । ब्यालेन्स नमिलेर सीधै पुलभित्र परेँ । अनि कानमा पानी छिरेर इन्फेक्सन भयो । कानले दुःख दिएर एक महिनाजति मैले साह्रो खानेकुरा खान मिलेन, तरल पदार्थ मात्र खानुपर्यो ।’ 

अभिनेत्री झरना थापाले सुटिङका क्रममा बेहोरेको दुर्घटनाको सूची लामै छ । नेपाली फिल्मका ‘फाइटर हिरोइन’हरूमा उनको पनि नाम आउँछ । भारतमा ‘मुग्लान’ भन्ने फिल्मको सुटिङका बेला दौडिने क्रममा उनको दाहिने कुर्कुच्चामाथिको हड्डीमा गम्भीर चोट लागेको रहेछ । ‘त्यतिबेला मलाई डाक्टरले कम्तीमा १५ दिन रेस्ट गनुपर्छ भनेका थिए,’ उनले सम्झिइन्, ‘तर, विदेशमा भएकाले चाँडो–चाँडो काम सक्नुपर्ने थियो । त्यसैले जबर्जस्ती काम गरियो । यसरी काम गर्दा खुट्टामा निलो रगत नै जमेको थियो । खुट्टा निको हुन छ/सात महिना नै लागको थियो ।’ हिट गीत ‘आज बाह्रहाते पटुकी’मा उनको खुट्टालाई राम्रोसँग नियाल्ने हो भने आज पनि उनको पीडा महसुस गर्न सकिने झरनाको भनाइ छ  । हिट फिल्म ‘हामी तीन भाइ’को सुटिङमा पनि गाडी चलाउने सिनका बेला झरना दुर्घटनामा परेर घाइते भएकी थिइन् । 

अभिनेता राजेश हमालले आफ्नो अभिनय करिअरमा ताल–तालका दुर्घटना भोगेका छन् । स–साना दुर्घटनाका त हिसाबकिताब नै छैनन् । तर, केही मुटु नै कमाउने खालका दुर्घटना पनि छन् । शोभित बस्नेतको ‘जंगबाज’ फिल्मको सुटिङका बेला कानमै बन्दुक पड्केको घटना उनी कहिल्यै बिर्संदैनन् । ‘पिस्टोल समातेर भिलेनलाई ताक्ने सिन थियो,’ उनले भने, ‘नक्कली लोडेड बन्दुक थियो, सक्कलीभन्दा बढी आवाज दिने रहेछ । मैले कानमा दोबारेर बाँदरे टोपी नलगाएको भए मेरो कानको जाली नै फाट्थ्यो होला । देब्रे कानको मुन्द्रा लगाउने पाटातिर तीन टाँका लगाउनुपर्यो । त्यसपछि त लामो समय त्यही कानमा घन्टी बजिरहन्थ्यो । अहिले पनि प्लेन चढ्दा कटन मागिहाल्छु, नलगाई हुँदैन ।’

अभिनेत्री रेखा थापा पनि सुटिङका क्रममा थुप्रै दुर्घटनामा परेकी छिन् । ‘‘जलजला’ फिल्मको पटाका पड्काउने दृश्यमा त्यसका छिर्का शरीरमा लाग्दा त बेकारमा एक्सन फिल्म खेलेछु जस्तो लाग्थ्यो,’ रेखाले भनिन्, ‘ ‘‘हिफाजत’को सुटिङ गर्ने क्रममा हेटौैँडाको सामरी पुलबाट हाम्फाल्दा थचारिएर नाकबाट रगत नै आएको थियो ।  सामान्य चोटपटक त कति लागे, लागे । हिरोइन भएर पनि होला एक्सन दृश्य गर्दा मनमा कता–कता अनुहार बिग्रिएला भन्ने डर भइरहन्छ । किनकि, दाँत मात्रै गयो भने पनि धेरै थोक जान्छ ।’ 

आजभन्दा २० वर्षअघि फिल्म ‘पुकार’को सुटिङताका अभिनेता सरोज खनालको देब्रे हात भाँचिएको थियो । त्यसको असरले उनको हात अहिलेसम्म पनि दुख्छ । ‘नीर शाह र मेरो फाइटको दृश्य थियो,’ उनले झापा, बिर्तामोडमा छायांकन हुँदाको त्यो घटना सम्झिए, ‘फाइट खेल्दाखेल्दै बम पड्किनुपर्ने र त्यसपछि हामी दुवै बेग्लाबेग्लै दिशातिर हाम्फाल्नुपर्ने सिन थियो । नीर शाह झुक्किएर मतिरै हाम फाल्नुभयो । उहाँको ठूलो ज्यानले मलाई थिच्यो र मेरो हात भाँचियो । 

त्यसपछि प्लेन चार्टर्ड गरेर उहाँले मलाई काठमाडौँ ल्याएर उपचार गराउनुभएको थियो । २० दिनसम्म हात नै हल्लाउन नहुने गरी थला परेको थिएँ ।’

अभिनेत्री केकी अधिकारीले पनि सुटिङका बेला धेरै पल्ट दुर्घटना भोगेकी छिन् । ‘महसुस’ फिल्मको सुटिङताका बाइक दुर्घटनामा परेर घाइते भएकी थिइन् । त्यही घटनाका कारण अहिले पनि उनको खुट्टामा पानी जमेको छ । ‘‘आई एम सरी’ फिल्मको सुटिङका बेला पोखराको फेवातालमा खुट्टा चिप्लिएर लडेकी थिएँ,’ उनले सम्झिइन्, ‘क्यामेरा टेकरमात्र नजिक हुनुहुन्थ्यो । उहाँले तान्नुभएको थियो, म त बेहोसै भएकी थिएँ । त्यस्तै ‘माई प्रमिस’ फिल्मको बेला तिखो धार भएको चक्कुले मेरो घाँटीमा छोएर रगत आएको थियो ।’ 

अभिनेत्री वर्षा शिवाकोटीले नेपाली फिल्ममा पाइला टेकेको धेरै भएको छैन । तर, उनले पनि दुर्घटना भोगिसकिन् । हेटौँडामा ‘कारखाना’ फिल्मको सुटिङताका बाइकबाट लडेर उनको टाउको र हातमा चोट लागेको थियो । सुटिङ पनि दुई दिनलाई रोकिएको थियो । ‘हिरोसँग बुलेट बाइक पछाडि बस्ने सिन थियो, त्यो नि वान साइडेड,’ वर्षाले सुनाइन्, ‘मैले लगाएको ड्रेस चिप्लो थियो । त्यसमाथि दुवै हातमा सामान बोकेकोले कतै समाउन मिल्थेन । त्यसैले बाइक स्टार्ट गरेर चलाउने बेलामा म हुत्तिएँ र सडकमा पछारिएँ । हात र टाउकोमा चोट लाग्यो । ’ 

सुटिङका क्रममा कलाकारले बेहोरेका यस्ता घटना थुप्रै छन् । अपवादलाई छाड्ने हो भने प्रत्येक कलाकारसँग केही न केही दुर्घटनाको अनुभव छ । अभिनेता आर्यन सिग्देललाई ‘किस्मत’ फिल्मका बेला खुट्टामा लागेको चोटले अहिलेसम्म दुःख दिइरहेको छ । फिल्म ‘आवेग’का बेला उनी सुटिङकै क्रममा घाइते भएका थिए । यता थुप्रै फिल्ममा एक्सन हिरोइनका रूपमा देखापरेकी अभिनेत्री शिल्पा पोखरेल पनि ‘हवल्दार सुन्तली’ को क्लाइमेक्स खिच्ने बेलामा बेहोस नै भएकी थिइन् । 

कस्तो छ सुरक्षा उपाय ? 
‘नेपालमा सेफ्टी भन्ने नै छैन,’ सुरक्षा उपायबारे सोध्दा नेपाली फिल्मका चर्चित फाइट डिरेक्टर चन्द्र पन्त भन्छन्, ‘जय शम्भो भन्ने अनि एक्सन गर्ने हो । लागेन भने ‘ए हे’, लाग्यो भने ‘ओ हो’ भन्ने हो । यहाँ धेरै फाइटर र स्टन्टम्यानहरूले गुरुबाले भनेको भरमा जे पनि गरिदिन्छन्, अनि घाइते हुन्छन् । कतिपयले घुँडामा लाउने प्याडसम्म प्रयोग गर्दैनन् ।’ 

अधिकांश द्वन्द्व निर्देशक स्विकार्छन्, ‘नेपालमा सेफ्टी मिजर्स कमजोर छन् ।’ हरेक द्वन्द्व निर्देशकलाई निर्माताले ‘फुल बडी सेफ्टी’ उपलब्ध गराउनु आवश्यक रहेको उनीहरूको तर्क छ ।  ‘हामी म्याट, बक्स, फर्म, वायरहरू प्रयोग गर्छौं,’ चलचित्र द्वन्द्व संघका अध्यक्ष सूर्य थोकर भन्छन्, ‘हामीसँग पर्याप्य सामग्रीको अभाव छ । इयर ब्यागसम्म छैन । कमजोर आर्थिक अवस्थाका कारण पनि हामी हेभी स्टन्ट गर्न सक्दैनौँ । एक्सन भन्नेबित्तिकै मार्सल आट्र्ससँग जोडिने विषय हो । तर, यहाँ मार्सल आट्र्स सिकेर आउने कलाकार औँलामा गन्न सकिने मात्र छन् । यो अर्को डरलाग्दो कुरा हो । ’ 

अभिनेता राजेश हमाल भन्छन्, ‘मैले गरिन्जेल त सुटिङमा सुरक्षा रामभरोसा नै थियो । सेफ्टी मिजर्स एकदमै कम थिए । घोडाबाट जम्प गर्नुपर्दा प्याड लगाइएको हुन्थ्यो, मुनी म्याट्रेस हुन्थ्यो तर भरपर्दो हुँदैनथ्यो ।’ 

ज्यानकै जोखिम बेहोर्नेहरू
सुटिङका क्रममा अभिनेता सरोज खनालले यस्तो दुर्घटना भोगेका छन्, जसकारण उनी आफूले बाँचिरहेको जीवनलाई ‘दोस्रो जीवन’ भन्छन् । त्यो घटना ०५२ सालतिर फिल्म ‘जन्म जन्म’को सुटिङताकाको हो । पोखराका फेवातालमा सुटिङ भइरहेको थियो । एउटा डुंगामा ठूलठूला सोलार लाइटहरू राखिएका थिए । लाइटम्यानले मादक पदार्थ सेवन गरेको रहेछ । लाइट मिलाउन जाने क्रममा डुंगा पल्टिएछ । ‘पानीमा खस्न तीन सेकेन्डमात्र बाँकी थियो,’ खनालले सम्झिए, ‘युनिटकै एक जना सदस्यले हत्त न पत्त मेन सर्किट निकालिदिए । जसकारण २५ जना मान्छेको ज्यान जोगियो । खसेर पड्किँदा त बम पड्किएझैँ पड्किएको थियो । हामी पानीमा थियौँ । मर्यौंँ भन्ने ठानेका थियौँ । पछि बदमासी गर्ने केटालाई एक लात हानेँ । अनि ज्यान जोगाइदिने केटालाई दोस्रो जीवन दिएकोमा मसँग भएको सबथोक (पर्स आदि) दिएँ । ’

अभिनेता निखिल उप्रेतीले ‘मायाको जाल’ फिल्ममा मुग्लिनको पुलको लट्ठामा हिँड्दा दर्शकले पनि हेर्न नसकेर आँखा चिम्लेका थिए । ‘तर, मैले त्यो नौ चोटिको रिटेकमा फाइनल गरेको दृश्य थियो,’ उनले सम्झिए, ‘सुरक्षा उपाय केही पनि प्रयोग गरेको थिइनँ । झरेको भए सीधै मुग्लिनको खोलामा झरिन्थ्यो । सात तलाबाट हाम्फाल्नु र हेलिकप्टरबाट जम्प गर्नु पनि एक किसिमले मूर्खता नै थियो । यी सबै काम मैले ज्यान जोखिममा राखेर गरेको हुँ ।’

झापाको कन्काईमाईमा ‘आफ्नो बिरानो’ फिल्मको सुटिङका बेला अभिनेता हमालले पनि ज्यानकै जोखिम बेहोरेका थिए । ‘खोलाको बगरमा हिरोइनलाई हातमा उचालेर दुई–तीन चक्कर घुमाउनुपर्ने सिन थियो,’ उनी अहिले पनि त्यो घटना सम्झिरहन्छन्, ‘ब्यालेन्स नमिलेर हामी दुवै किनारबाट खोलाको बीचबीचतिर पुगेछौँ । हामीलाई पानीको धारले बगाएर लगिरहेको थियो । युनिटकै एक जना केटाले बचाएका थिए । झण्डै ज्यान गएको !’

पारिश्रमिकमा गुनासो
पर्दामा देखिँदा हिरो–हिरोइनहरू ठूलठूला स्टन्ट गरिरहेका हुन्छन्, उडीउडी फाइट हानिरहेका हुन्छन् । तर, पर्दापछाडिबाट स्टन्टम्यान र फाइटरहरूले उनीहरूको ‘डुप्लिकेट’ भूमिका निर्वाह गरिरहेको दर्शकलाई पत्तो हुँदैन । तिनै स्टन्टम्यान र फाइटरहरू आफूहरूले श्रम र जोखिमअनुसार पारिश्रमिक नपाउने गरेको गुनासो गर्छन् । ‘हामीलाई दुःख गरेअनुसार पारिश्रमिक हुँदैन,’ करिब दुई सयभन्दा बढी फिल्ममा काम गरिसकेको बताउने स्टन्टम्यान रेबन्ट थापा भन्छन्, ‘हामीलाई सेफ्टी पनि बाहिरतिरको जस्तो हुँदैन । केही भइहाल्यो भने पनि उपचारको व्यवस्था छैन । मेरा कतिपय साथी उपचार नपाएर आफैँले दुःखसुख गर्नुपरेका उदाहरण छन् । हाम्रो कामको कदरै भएन ।’ 

अर्का स्टन्टम्यान/फाइटर अटल निरोजको अनुभव पनि उस्तै छ । ‘सबैभन्दा बढी रिस्क लिएर काम गर्ने नै एक्सन कलाकारले हो,’ अटल भन्छन्, ‘तर, सबैभन्दा कम पारिश्रमिक पाउने पनि एक्सन कलाकार नै हो । फाइटरहरूकै कारण धेरै हिरो चम्किए । तर, हामी जहीँको तहीँ छौँ । न पारिश्रमिक राम्रो छ, न उत्प्रेरणा नै ।’ 

सुरक्षाका सामग्री द्वन्द्व निर्देशकले नै व्यवस्था गर्नुपर्ने नेपाली फिल्म निर्माणको प्रवृत्तिप्रति पनि उनको आपत्ति छ । ‘नेपालमा फाइट डिरेक्टरले स्वयं म्याट बोकेर लाने सिस्टम छ,’ उनी भन्छन्, ‘यो गलत हो । हिरो–हिरोइनलाई चाहिने सामग्री चाहिँ निर्माताले व्यवस्था गर्नुपर्ने, अनि फाइटको सामग्री चाहिँ फाइट डिरेक्टरले किन ? यस्तो संसारमा कतै हुँदैन । यो कहाँको न्याय हो ?’ नेपालमा करिब डेढ सयको हाराहारीमा स्टन्टम्यान र फाइटरहरू रहेको नेपाल द्वन्द्व संघका अध्यक्ष थोकर बताउँछन् । ‘उनीहरूको पारिश्रमिक नर्मल र क्लाइमेक्स फाइट भनेर दुई विधामा छुट्ट्याइएको हुन्छ,’ उनले भने, ‘एउटा फाइट सिक्वेन्सको कम्तीमा चार हजार रुपैयाँ दिनुपर्छ । अनि, हेभी स्टन्ट गरेको बेग्लै मूल्य लिने चलन छ ।’

प्रविधिले सजिलो
प्रविधिको विकासले अहिले एक्सनका दृश्यहरू राख्नका लागि फिल्म मेकर्सलाई निकै सहज भएको छ । निर्देशक ऋषि लामिछाने भन्छन्, ‘अहिले ग्राफिक्स, क्रोमाबाट ठूलठूला स्टन्टहरू गर्न सकिन्छ । त्यसैले पहिलेजस्तो रिस्क छैन फाइटरहरूलाई । तर, छँदै छैन चाहिँ भन्न मिल्दैन ।’ यता अभिनेता राजेश हमाल पछिल्लो समय प्रविधिले धेरै सजिलो बनाएको बताउँछन् । ‘एक त अहिलेका फिल्ममा पहिलेजसरी धेरै फाइट सिक्वेन्स राखिएका पनि हुँदैनन्,’ उनी भन्छन्, ‘अर्को कुरा पहिला लाइभ एक्सन गर्नुपथ्र्यो । अहिले ग्राफिक्सले सजिलो बनाएको छ । पहिला तार लगाएर एक्सन गर्दा इरेज गर्न मिल्दैन थियो । अहिले तारलाई इरेज गर्न मिल्छ ।’ अभिनेत्री रेखा थापा पनि हमालसँग सहमत छिन्, ‘अहिले त प्रविधिको प्रयोग गर्न सकिन्छ । साततले भवनबाट हाम्फाल्न पनि प्रविधिले सम्भव बनाइदिएको छ ।’

दुर्घटना हुँदा कसले बेहोर्ने ? 
सुटिङका बेला दुर्घटना हुँदा कसले बेहोर्छ ? अभिनेता राजेश हमाल भन्छन्, ‘सायद निर्माताको कर्तव्य हुन्छ । तर, त्यतिबेला तरबार उछिट्टिएर क्यामेराम्यानको दाँत भाँचिदा सीमित रकम निर्माताले बेहोरेका थिए । बाँकी मैले आफैँ उपचार गरिदिएको थिएँ ।’ केही वर्षयता चलचित्र विकास बोर्डले दुर्घटना बिमाको व्यवस्था गरेको चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले जानकारी दिए । यता दुर्घटना बिमाको व्यवस्था भए पनि त्यसबाट स्टन्टम्यान/फाइटरहरु विमुख भइरहेको स्टन्टम्यान अटल निरोजले बताए । ‘फाइटरहरु अरू कलाकारजसरी अनुबन्धित भएका हुँदैनन्,’ उनी भन्छन्, ‘एकदुई दिनका लागि अचानक हायर गरिन्छ । त्यो अवस्थामा बिमा गरिएको हुँदैन । त्यसैले दुर्घटना भयो भने कसले बेहोर्ने भन्ने अन्योल हुन्छ ।’

०००

‘एक्सन कलाकारको भविष्य अन्धकार छ’ 

राजेन्द्र खड्गी 
द्वन्द्व निर्देशक

मैले फिल्म क्षेत्रमा काम गरेको ३३ वर्ष भयो । पछिल्लो समय त्यति सक्रिय छैन । एक वर्ष भयो, मैले कामै गरेको छैन । केही नयाँ गर्न चाहन्छु, केही चुनौती भए हुन्थ्यो भन्ने लाग्छ । तर, सधैँ निर्माता/निर्देशक उही खाले स्टोरी, उही खाले फाइट लिएर आउँछन् । कति गर्नु उही काम ? वाक्कै भइयो । मैले नेपाली फिल्ममा उल्लेखनीय स्टन्ट गरेको छु । पेट्रोल ब्लास्ट, बिल्डिङबाट हाम्फाल्ने, घोडा पल्टाउने, गाडी पल्टाउने, बाइक स्टन्ट सबै गरियो । ठूलठूला स्टन्ट गर्दा केही भएन । तर, चार वर्षअघि ‘साथी म तिम्रो’को फिल्म सुटिङका क्रममा आकाशेपुलबाट हाम्फाल्ने क्रममा सन्तुलन बिग्रेर खुट्टा भाँचियो । अहिले पनि खुट्टामा स्टिल हालेर हिँडिरहेको छु । खुट्टा भाँचिदा पनि मैले ह्विलचेयरमा बसेर सुटिङ गरेको छु । 

स्टन्ट गर्ने क्रममा बेहोस त कति भइयो, भइयो । त्यसको त लेखाजोखा नै छैन् । फिल्मको सुटिङका क्रममा हात भाँचिनु, खुट्टा मर्किनु त सामान्य कुरा हुन् । मेरो अनुभवमा घाइते नहुने कोही कलाकारै छैनन् । भिलेनहरू झन् बढी घाइते हुन्छन् । यसरी फाइट गर्नेहरूले बुढेसकालमा साह्रै दुःख पाउँछन् । 

एक्सनमा जान्ने/नजान्ने भन्ने हुन्न । त्यो एक्सन डिरेक्टरले सिकाउने कुरा हो । मलाई अहिलेसम्म एक्सनमा सबैभन्दा मन पर्ने कलाकार भनेको शिव श्रृष्ठ हुन् । उनको टाइमिङ एकदमै राम्रो छ । त्यसपछि धिरेन शाक्य, विराज भट्ट, रमेश उप्रेती, निखिल उप्रेतीको पनि राम्रो छ । अभिनेत्रीहरूमा कृष्टि मैनाली, रेखा थापाको एक्सन राम्रो छ । 
मलाई लाग्छ– एक्सनमा काम गर्ने कलाकारको भविष्य अन्धकार छ । भविष्यमा उनीहरूको शरीरले निकै दुःख पाउँछ । धन्न, हामीकहाँ अहिलेसम्म पशुपतिनाथको कृपाले मान्छेको ज्यान चाहिँ गएको छैन । दुर्घटना त कति भए, भए !   
पछिल्लो समय एक्सनको ट्रेन्ड परिवर्तन भएको छ । प्रविधिका कारणले काम गर्न सजिलो छ । पहिलेजस्तो फाइट सिनहरू हुनुैपर्छ भन्ने बाध्यकारी अवस्था अहिले छैन् । यो ट्रेन्ड परिवर्तनलाई हामीले स्विकार्नुपर्छ । कुलो जहाँ बग्छ, माछा त्यहीँ बग्नुपर्छ । २५ वर्ष त लगातार उही तरिकाले बित्यो ? अब त परिवर्तन हुनै
पर्यो नि । 


०००

द्वन्द्व निर्देशकको नजर 
एक्सनमा को राम्रो ? 

एनबी महर्जन
मलाई एक्सनमा भयंकर राम्रो लाग्ने अभिनेता शिव श्रेष्ठ हुन् । उनको एक्सनमा टाइमिङ हुन्छ, हाउभाउ राम्रो हुन्छ । उहाँ रिएक्सन राम्रो दिनुहुन्छ । पछिल्लो समयको पुस्तामा विराज भट्ट पनि मन पर्छ । उहाँको एक्सनको फोर्स राम्रो छ । उहाँले हान्दा साँच्चिकै हानेजस्तो महसुस हुन्छ । हिरोइनमा रेखा थापा र नीता ढुंगानाको एक्सन राम्रो छ । 

सूर्य थोकर 
मलाई एक्सनमा मन पर्ने अभिनेता निखिल उप्रेती हुन् । उनी फाइटमा टेक्निकल्ली पर्फेक्ट छन् । कसरी बच्ने भन्ने उपाय पनि जान्दछन् । फाइटरलाई जोगाएर काम गर्न सक्ने खुबी छ । मार्सल आट्र्स पनि सिकेका छन् । त्यस्तै, महिला कलाकारमा रेखा थापा र झरना थापा उत्कृष्ट लाग्छन् । 

हिमाल केसी
मेरो नजरमा बेस्ट फाइटर हिरो निखिल उप्रेती हुन् । उनी आफ्नो र अरूको सुरक्षालाई ध्यान दिएर एक्सन  गर्छन् । उनको एक्सन सेन्स साह्रै राम्रो छ । त्यस्तै, हिरोइनहरूमा रेखा थापा, शिल्पा पोखरेल र निशा अधिकारी बेस्ट लाग्छन् । तीनै जना हिम्मतिला छन् ।

चन्द्र पन्त
मेरो नजरमा अबको राम्रो एक्सन हिरो हुनेछन्, अनमोल केसी । त्यस्तै, सविन श्रेष्ठको एक्सन पनि राम्रो छ । हिरोइनमा शिल्पा पोखरेल, रेखा थापा, अशिष्मा नकर्मी पनि राम्रै छन् । 

Leave A Comment