‘असल व्यक्तिलाई भोट’ अभियान

बुधबार, १७ जेठ २०७४, ०२ : ०० गोपाल दाहाल , Kathmandu
‘असल व्यक्तिलाई भोट’ अभियान

स्थानीय निर्वाचनका लागि दलहरू आ–आफ्ना उम्मेदवारलाई भोट माग्न व्यस्त थिए । कोही रूखमा, कोही सूर्यमा, कोही हँसिया–हथौडा र कोही केमा भोट माग्दै हिँडिरहेका बेला धरानकी तुलसा गुरुङ ‘भोट केमा, असल व्यक्तिमा’ लेखिएको प्लेकार्ड बोकेर सडकमा निस्किइन् ।
तुलसासँगै धरानका पूर्व उपमेयर कृष्णनारायण पालिखे पनि सडकमा प्लेकार्ड बोकेर निस्किए । उनले बोकेको प्लेकार्डमा लेखिएको थियो– ‘गलत व्यक्तिमा मतदान, बनाउलान् है हैरान ।’ शिक्षण पेशामा आबद्ध तुलसा र पूर्वउपमेयर कृष्णनारायणसँगै भक्तसिंह राजपुत, प्रदीप प्रधान, टंकराज राई, ज्ञानबहादुर राई, रामबहादुर तामाङ, हस्तराज लिम्बू, शुभ राई, सन्ध्या राई, गंगा राईलगायत करिब १५ जनाको समूह गत वैशाख २१ गतेबाट धरानका वार्ड–वार्ड र घर–घर पुगेर ‘असल व्यक्ति’ लाई भोट हाल्न आग्रह ग¥यो । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय अगाडि गएर पनि उनीहरूले ‘भ्रष्टाचार बहिष्कार’, ‘२० वर्षपछिको भोटमा नबिकौँ’, ‘झुटो चुनावी घोषणापत्र, शहर बजार अलपत्र’ जस्ता नारा लेखिएका प्लेकार्ड देखाए, नारा लगाए । त्यति मात्र होइन, मुख्य चोकहरूमा कोणसभा नै आयोजना गरे ।
‘मतदातालाई सचेत गराउने’ भन्दै वैशाख २१ देखि जेठ ४ गतेसम्म टोल–टोल पुगेर ‘असल व्यक्ति’लाई भोट हाल्न आग्रह गर्ने उनीहरू टोलवासीलाई अर्को आग्रह पनि गर्थे– ‘तपाईहरूको टोलमा कुनै असल व्यक्ति, आफ्नो ठाउँको विकास गर्न सक्ने व्यक्ति छ भने चुनावमा उठाउनुस्, हामी भोट माग्न सहयोग गरिदिन्छौँ ।’ उनीहरूले १५ दिनसम्म लगातार यस्तो अभियान सञ्चालन गरे । अभियानकी सक्रिय तुलसा सुनाउँछिन्, ‘हाम्रो अभियान थाहा पाएका ९५ प्रतिशतले राम्रो अभियान भनेर प्रशंसा गरे तर चुनावमा उठ्न कोही तयार भएनन् ।’
मतदाता सचेत गराउन घरदैलो कार्यक्रम सकेका उनीहरू आफूले सहयोग गर्न चाहँदा पनि चुनावमा उठ्न आँट गर्ने कोही नआएपछि आफ्नै समूह बनाएर स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । दोस्रो चरणको निर्वाचनमा धरान उपमहानगरपालिकामा मेयर पदका लागि पूर्वमेयर कृष्णनारायण, उपमेयरमा तुलसा, वडा अध्यक्षहरूमा भक्तसिंह राजपुत (११), धनबहादुर लिम्बू (१५), हस्तराज लिम्बू (१८) ले स्वतन्त्र उठ्ने तयारी थालेका छन् ।
‘राजनीतिक दलका उम्मेदवार हेर्दा सधँै एउटा व्यक्ति, भ्रष्टाचारमा संलग्न, धरानको विकासमा कुनै भिजन नभएका व्यक्ति मात्र रहेकाले जागरुक, भिजन भएका युवा पुस्तालाई ल्याउन सचेत गराउने र जनतालाई अमूल्य मत खेर जान नदिन अभियान सञ्चालन गरेका हौँ,’ तुलसाले भनिन्, ‘असल मान्छे चुप लागेर पछाडि बस्नु हुँदैन र खराब मान्छेलाई प्रतिनिधि छान्नु हुँदैन भन्ने लागेर यसरी सक्रिय भएका हौँ । जुनसुकै पार्टीका भए पनि राम्रा मान्छे छानौँ, खराबलाई शासन गर्न नदिऔँ भन्ने अभियान हो ।’
पूर्वउपमेयर कृष्णनारायण आफू उपमेयर हुँदैदेखि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय हुँदै आएका छन् । नगरका कर्मचारी प्रशासनमा भ्रष्टाचार बढेको भन्दै आवाज उठाएका उनले अनियमितताहरू सार्वजनिक गर्दै विभिन्न अभियान सञ्चालन गरे । उनको अभियानमा भूतपूर्व लाहुरे समुदायले साथ दिए । धरानमा सुरु भएका धेरै आयोजनाको पारदर्शितामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका उनीहरूलाई विकासका काममा विरोध गरेको आरोप पनि लाग्यो । उनीहरूकै विरोधका कारण कतिपय योजना असफल पनि भए । पछिल्लो समय जनसरोकार मञ्च नामक संस्था नै दर्ता गरेर अनियमितताको आशंका भएका ठाउँमा पारदर्शिता खोज्ने र कानुनी रूपमा समेत अघि बढ्दै आएको उनीहरूको समूह पछिल्लो समय धरानको विकासका लागि असल व्यक्ति चुन्न आग्रह गर्दै यस्तो अभियानमा छ । पूर्वमेयर कृष्णनारायण भन्छन्, ‘यहाँका नेता र कर्मचारीको अनियमितताले धरान ध्वस्त भइसक्यो, त्यसैले मैले पद, राजनीति सबै छाडेर खबरदारी गर्न लागेको हुँ । २० वर्षपछि हुन लागेको चुनावमा फेरि पनि पहिलाजस्तै भ्रष्ट नआऊन् भनेर हामी मिलेर खबरदारी गरिरहेका छौँ ।’

Leave A Comment