बंगुरको सेकुवा र तोङ्वा सुकुटी

शनिबार, २० जेठ २०७४, ०१ : ३४ गोपाल दाहाल , Kathmandu
बंगुरको सेकुवा र तोङ्वा सुकुटी

‘धराने कालो बंगुरको मासु’ राजधानीमा प्रसिद्ध छ । ब्राण्ड बनिसकेको कालो बंगुरको सेकुवा खान मन लागे ललितपुर, ताल्छिखेलको ‘न्यु कुखुरी काँ’ सेकुवा कर्नरमा पुगे हुन्छ । सेकुवा मात्र होईन पूर्वेली तोङ्वा सुकुटीको स्वाद पनि चाख्न पाईन्छ ।
बाहिरदेखि टेबलसम्म आलंकारिक बोटबिरुवाले सजाईएको कर्नरमा प्राकृतिक वातावरण पाईन्छ । ग्राहक बस्ने टेवलहरू क्याफे र पारिवारिक रेष्टुरेन्टको शैलीका आकर्षक बत्तिहरू राखेर सजाईएको छ । टेवलका छेउ छेउमा सजाईएका बोट बिरुवा, आकर्षक रंगीन बत्तिहरूले ग्राहकलाई पहिलोपटकमै आकर्षित गर्छ ।
पाँचथरका डेनि लिम्बु (सुहाङ) कुनै बेला रोजगारीका सिलसिलामा फ्रान्सको पेरिस पुगे । त्यहिं कुकिङ सिकेर काम काम गरेका उनलाई आफ्नै देशमा फर्केर स्वरोजगार बन्ने जोश चल्यो । पेरिसमा सिकेको शिप र अनुभवले आँट पलाएपछि रेष्टुरेन्ट किने र डेढ वर्षदेखि आफैं खटेर चलाई रहेका छन् न्यू कुखुरी काँ । धराने कालो बंगुरको सेकुवा, तोङ्वा, सुकुटी मात्र होइन अन्य आधुनिक परिकारहरू उपलब्ध न्यू कुखुरी काँमा हाईजेनिक र छिटो सेवा दिने गरेकाले ग्राहकको मन जीत्न सकेको उनको भनाई छ । उनी भन्छन् ‘पेरिसमा मान्छेमा हुनुपर्ने गुण सिकें, अनुसासन सिकें, त्यसलाई यहाँ प्रयोग गरिरहेको छु ।’
पारिवारिक र शान्त वातावरणमा भएकाले न्यू कुखुरी काँमा वरिपरिका मात्र होईन कलंकी, बुढा निलकण्ठसम्मका ग्राहकहरू आउने गरेको सञ्चालक लिम्बु बताउँछन् । यहाँ एकै पटकमा ७० जनासम्मको पार्टी आयोजना गर्न सकिन्छ । विशेषगरी धराने कालो बंगुरको सेकुवाको स्वाद लिन ग्राहकहरू न्यू कुखुरी काँ जाने गरेका छन् । युरोपमा सिकेको शिपको सदुपयोग गर्दै राजधानीका स्वादपारखीको सेवा गरिरहेका लिम्बुले अन्यलाई रोजगारी पनि दिएका छन् । विदेशमा अरुको काम गर्नु भन्दा आफ्नै देशमा स्वरोजगार बनेर अरुलाई पनि रोजगारी दिन सकेकोमा उनी प्रफुल्ल छन् । भन्छन् ‘युवाहरुले मेहनत गर्ने हो भने देशमै पैसा छ, विदेश भौतारिनु पर्दैन । यहिं सम्भावनाहरू खोज्न सक्नुपर्छ ।’

 

Leave A Comment