धरानमा रेल सपना

सोमबार, २९ जेठ २०७४, ०१ : ४० गोपाल दाहाल , Kathmandu
धरानमा रेल सपना

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला पूर्व पश्चिम रेल कुदाउने योजना सुनाएका थिए ।
ओलीको रेल योजनाको चर्चा हराउँदै गएका बेला धरानमा भने रेल कुदाउँने सपना सुरु भएको छ । दोस्रो चरणको निर्वाचनको माहोल तात्तिन थालेपछि बिभिन्न विकास योजनाको चर्चा गर्दै आएका माओवादी केन्द्र धरानका इञ्चार्ज चोत्लुङ याक्थुम्बाले धरानमा कुनैबेला कुद्ने ढुंगे रेल र विदेशका आधुनिक रेलको फोटो राखेर केही दिनअघि फेसबुकमा स्टाटस लेखे ‘इतिहासप्रति गर्व गर्दै धरानमा आधुनिक रेल कुदाउने धरानबासीको सपना’ । त्यसो त माओवादी केन्द्र धरानले आफ्नो चुनावी घोषणापत्रमै भारतको जोगवनीदेखि धरानसम्म रेल सञ्चालन गर्ने उल्लेख गरेको छ । उनि भन्छन् ‘धरानमा रेल कुदाउने सपना मात्र होईन, पहिला रेल चलेको ठाउँ हो सम्भव पनि छ ।’
राजनीतिक दलको घोषणापत्रमै रेल मार्ग स्थापना गर्ने उल्लेख भएपछि यतिबेला धरानबासीमा रेल सपनाको चर्चा हुन थालेको छ । केहीदिन अघि रंगकर्मी राजेन्द्र रिमालले धरानको पुरानो रेलको फोटो पोष्ट गर्दै स्टाटस लेखे ‘त्यो बेला ढुंगा बोक्ने रेल कुदेको हो । त्यसैले आज रेलको सपनालाई आकाशको फल मानिनुपर्ने आवश्यकता छैन ।’ माओवादी केन्द्रले भारतको जोगवनीसम्म बनाउने घोषणा गरेकोमा भने रिमालले गलत हुने तर्क गरेका छन् । उनि भन्छन् ‘भारतसँग होईन विराटनगर, धरान र इटहरी मिलेर रेल सेवा सञ्चालन गर्नु उपयुक्त हुन्छ ।’
चुनावलाई लक्षित गर्दै रेल सपनाको चर्चा भएपनि कुनै समय धरान, चतरा, चक्रघटीबाट भीमनगरस्थित कोशी व्यारेजसम्म ढुंगा बोक्ने रेल चल्थ्यो । धरानको फुस्रे, चतरा र चक्रघटीका विभिन्न ठाउँबाट ढुंगा संकलन गरेर भीमनगर पु¥याइन्थ्यो । धरान र चतरामा अहिलेपनि ठाउँको नामै ‘रेल्वे’ छ । एकदशक अघिसम्मपनि रेलका फलामे लिक, डब्बाहरू चतरा र चक्रघटीमा भेटिन्थे तर अहिले फलामका सबै समान चोरी भए । अहिले कतै कतै अवशेष मात्र बाँकी छन् । रेल सपनाको चर्चा गर्दै हाल बेलायतमा रहेकी समाजसेवी÷रंगकर्मी शशी थापा सुब्बाले लेखेकी छिन् ‘पहिला म पनि त्यो ढुंगे रेल चढेर भीमनगरसम्म घुम्न जान्थें । तर अहिले भीमनगरदेखि धरानको घोपासम्मका घरघरमा खोज्ने हो भने त्यो लिकका फलाम भेटिन्छन् ।’
चुनावको रौनक लागेका बेला दलहरुले रेलदेखि रिङरोड, स्मार्ट सिटी लगायतका अनेकौं सपनाको विस्कुन लगाएका छन् । माओवादी केन्द्रले रेल कुदाउनेदेखि धरानको तिनकुने जिरोप्वाईन्ट फ्लाईओभर, विजयपुर ऐतिहासिक दरबारको संरक्षण जस्ता घोषणा गरेको छ । एमालेले विमानस्थल, व्यवस्थित बसपार्क, आधुनिक थिएटर सहितको सभागृह निर्माण जस्ता योजना अघि सारेको छ । त्यसैगरी नेपाली कांगे्रेसले पनि धरानलाई खेलकूद, सांस्कृतिक, आधुनिक, शैक्षिक शहर बनाउने घोषणा गरेको छ । एमाले धरानका अध्यक्ष तथा मेयरका प्रत्यासी तारा सुब्बा भन्छन् ‘धरानलाई आधुनिक र व्यवस्थित शहर बनाउने हाम्रो भिजन छ ।’
विष्णुपादुका र पाँचकन्या गाविस भागिएर उपपमहानगर बनेको धरानलाई व्यवस्थित बनाउने भन्दै राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता मत फकाइरहेका छन् । धरान जति विकास भएको छ, त्यो आफ्नै बलबुताले भएको हो । भूपु गोर्खा, हङकङ, युकेको सहयोगले बनेको धरानलाई राज्यले भने सधै वेवास्ता गर्दै आएको छ ।
सांस्कृतिक र भावनात्मक रुपमा बलियो धरान राजनीतिक रूपमा स्थिर नहुँदा माथिल्लो तहसम्म पहुँच बनाउन सकेन । त्यसैलेपनि यहाँ सरकारी तवरबाट विकासमा प्राथमिकता पाएन । बरु भएका कार्यालय पनि धमाधम अन्यत्रै सारिए । त्यसो त राजनीतिक दलका स्थानीय नेताहरुको भिजन नहुँदा विकासका काममा विवादै बिवाद उत्पन्न भए । धरानमा बसपार्क, एयरपोर्ट लगायतका योजना लामो समयदेखि विवादकै कारण अधुरा छन् । तर चुनाव लागेपछि दलहरू जनतालाई तिनै आश्वासन दिदै भोट फकाउन व्यस्त छन् । नेपाली कांग्रेसबाट मेयरका आकांक्षी किशोर राई भन्छन् ‘बीस वर्षविचमा धेरै कुरा रोकिएका छन्, अबका दिनमा जसले जीतेपनि धरानलाई मिलेर विकास गर्नुपर्छ । आश्वासन मात्र होईन, काम गर्नुपर्छ ।’

Leave A Comment