यौन सन्तुष्टिका लागि मानसिक सन्तुष्टता

शनिबार, ०३ असार २०७४, ०१ : ०१ डा. सुबोधकुमार पोखरेल , Kathmandu
यौन सन्तुष्टिका लागि मानसिक सन्तुष्टता

म २७ वर्षीया विवाहित महिला हुँ । हाम्रो एउटा बच्चा छ । म यौन सम्पर्कका बेला चरम आनन्द प्राप्त गरेको महसुस गर्दिनँ । चिन्ता धेरै लिने मानिसले यौन आनन्द लिन सक्दैनन् भन्ने सुनेको छु । चरम यौन सन्तुष्टिका लागि के गर्नुपर्ला ?  
एसकुमार

अग्र्याजम या चरम सुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो ।  हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिए जस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।
पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।
महिलाको चरमसुख पुरुषको भन्दा पृथक र जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुष साथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरमसुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका ‘क्लिटोरिस’ र ‘जी स्पट’ उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरमसुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।
मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेकाहरू, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्नेहरू र लागुऔषध सेवन गर्नेहरूको यौन जीवन गतिलो हुँदैन । डिप्रेसनमा गएको व्यक्तिको सेक्स लाइफ पनि लथालिङ हुन्छ । अनावश्यक चिन्ताले पनि यौन जीवन दिन प्रतिदिन बिगारिरहेको हुन्छ ।  
डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हु“दैन । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुका साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ ।  यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिनु पर्ने हुन्छ ।

डिप्रेसनमा गएकाहरूको उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउ“छ र सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले धेरै चिन्ता लिने र यौन सन्तुष्टि भएन भनेर थप चिन्ता बढाउने गर्नेले समस्या झनै जटिल बन्दै जान्छ । यौन सन्तुष्टिका लागि मानसिक रूपमा सन्तुष्ट हुने अवस्था सिर्जना गर्नुपर्छ । पार्टनर, परिवेश, ‘फोरप्ले’लगायत पक्षमा ध्यान दिनसके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ ।

Leave A Comment