गर्मी छल्न पहाडी पर्यटन

शनिबार, २४ असार २०७४, ०१ : ०७ गोपाल दाहाल , Kathmandu
गर्मी छल्न पहाडी पर्यटन

पूर्वी तराईमा दिनभर खपी नसक्नु गर्मी हुन्छ । दिउँसो सडकमा हिँडिसक्नु हुँदैन तर तराईको यही कठीन गर्मी नेपालको पूर्वी पहाडका लागि चाहिँ अवसर बनेको छ ।

गर्मीसँगै पूर्वी पहाडका जिल्लाहरुमा आन्तरिक पर्यटक बाक्लिन थालेपछि स्थानीय पर्यटकीय गन्तव्यहरु चम्किन थालेका छन् । नयाँ–नयाँ पर्यटकीय स्थलहरु विकास हुने क्रममा छन् । पूर्वी तराईका जिल्लामा गर्मीले व्याकुल भएकाहरु फुर्सद मिल्नासाथ पहाडतिर चढ्न थालेका छन् । जलवायु परिवर्तनले हरेक वर्ष गर्मी बढिरहँदा पहाडी क्षेत्रमा भने नयाँ–नयाँ पर्यटकीय स्थल थपिँदै छन् । गर्मी मौसममा सबैभन्दा धेरै मान्छे चढ्ने पहाड भनेको कोसी राजमार्गले भेट्ने भेडेटार र मेची राजमार्गले भेट्ने इलाम हो । अहिले भेडेटारमा ‘चिसो खान’ आउनेहरुको भीडभाड हुन्छ । भेडेटार चोक, चाल्र्स टावर, शंखेश्वर मन्दिर, नाम्जे, आत्माघर जताततै चिसोको स्वाद लिँदै सेल्फी खिच्नेहरु देखिन्छन् । पूर्वी तराई र भारतका विभिन्न ठाउँबाट आउने पर्यटकहरुकै कारण भेडेटारका सयभन्दा बढी होटल, रेस्टुरेन्टको व्यवसाय फस्टाएको छ ।

भेडेटारबाट ९ किलोमिटर धनकुटातर्फ ओरालो झरेपछि पुगिने नमस्ते झरनामा पनि यो गर्मी मौसममा नुहाउने र रमाउनेको उस्तै भीड छ । कोसी राजमार्गसँगैको नमस्ते गोलाइदेखि नै रेस्टुरेन्टहरुमा पनि भीड बढ्न थालेको छ ।
कोसी राजमार्गमै पर्ने धनकुटाको हिलेमा पर्यटकलाई आकर्षण गर्न तोङ्बाको स्तम्भ बनाइएको छ । तेह्रथुमको वसन्तपुरमा लालीगुराँस र लसुनेमा लसुनको स्तम्भ बनाएर तराईका पर्यटकलाई आकर्षण गराउने प्रयास भएको छ । सोही क्षेत्रमा पर्ने तीनजुरे मिल्के जलजलेमा पनि गर्मी सुरु भएदेखि नै आन्तरिक पर्यटक बाक्लिन्छन् । २८ प्रजातिका गुराँस एकै क्षेत्रमा पाइने यस ‘गुराँसको राजधानी’मा पनि घुम्नेहरु धेरै हुन्छन् । होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावती भन्छन्, ‘यतिबेला भेडेटारका अधिकांश होटल भरिभराउ छन्, अन्य पहाडी क्षेत्रमा पनि घुम्नेहरु धेरै जाने हुँदा व्यवसाय राम्रो छ ।’

मेची राजमार्गमा पर्ने इलामको फिक्कल, कन्याममा चियाबगानमा रमाउन पुग्नेहरु पनि धेरै छन् यतिबेला । पाँचथरको रवि, फिदिम हुँदै ताप्लेजुङको पाथिभरा मन्दिरसम्म दर्शन गर्न पुग्नेहरु पनि बाक्लै भेटिन्छन् । उदयपुरको रौता पोखरीमा पनि गर्मी छल्न पुग्ने तराईबासीको संख्या बढिरहेको छ । पर्यटकहरुलाई विभिन्न स्थानमा घुमाउँदै आएको ट्राभलिङ धरानका निर्देशक बासुदेव बरालको अनुभव छ, ‘आन्तरिक पर्यटकले नै पूर्वमा पर्यटकीय गन्तव्य धानिएका छन्, सरकारले लगानी गर्ने हो भने विदेशी पर्यटकको पनि उल्लेख्य उपस्थिति हुन्छ ।’

गर्मी बढे पनि धनकुटाको मूलघाटस्थित तमोर नदीबाट सप्तकोसीको चतरासम्म ¥याफ्टिङ गर्नेको संख्या पनि बढ्छ ।
पर्यटकलाई आकर्षण गर्ने साइक्लिङमा पनि पूर्वेलीहरु रमाउन थालेको दुई चार वर्ष बितिसक्यो । विशेषगरी धरानमा साइक्लिङका गतिविधि भइरहेका छन् । सरकारले आन्तरिक पर्यटनको विकास गर्ने नीति लिएसँगै पूर्वमा पर्यटकहरुको आगमन बढ्ने त देखिएको छ तर पूर्वाधार तयार पार्न भने सरकारले सहयोग नगरेको पर्यटनकर्मीको गुनासो छ । सुनसरी पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष शिवराज श्रेष्ठ भन्छन्, ‘हामीले विदेशीको मुख ताकेर बस्नु भन्दा आन्तरिक पर्यटन विकासमा स्थानीयबासी र स्थानीय निकाय जुट्ने हो भने छिटो प्रगति हुन्छ ।’

 

 

Leave A Comment