पठाएको ४० वर्षपछि चिठ्ठी पाएपछि

आइतबार, ०१ साउन २०७४, ०२ : ३९ शुक्रवार , Kathmandu
पठाएको ४० वर्षपछि चिठ्ठी पाएपछि

सुन्दा अचम्म लाग्छ होला । पठाएको ४० वर्षपछि मेल आउँदा कस्तो होला । बेलायतका स्टेवार्ट ग्लासले आफ्नो मेलमा ४० वर्ष अघि पठाएको रहस्यमय पोस्टकार्ड पाएका छन् । डोरम्याट नजिक रहेको मेलबक्स जाँचपड्ताल गर्दा ग्लासले आफूसँग अन्जान दुई महिलाले पठाएको पोस्टकार्ड फेला पारेका हुन् । डोर्सेटको पूली नामको ठाउँमा रमाइरहेका दुई युवतीले साथी करेन टिडको नाम उल्लेख गर्दै पोस्टकार्ड पठाएका थिए । पोस्टकार्डमा हुलाक टिकट जम्मा साढे ६ पेन्सको लगाइएको छ । रोचक कुरा त के छ भने ग्लासले पोस्टकार्ड पढ्दै जाँदा सन् १९७६ अगस्ट ५ मा पठाएको पाएका छन् । ‘हामीले समय समयमा अन्य ठाउँमा पुग्नुपर्ने चिठी यता आएको पाइन्थ्यो तर यो त एकदमै रहस्यमय लाग्यो । यो हेर्दा यस्तो लाग्यो लामो समय यो कतै थन्किन पुग्यो,’ ६७ वर्षे ग्लासले भने । पोस्टकार्डमा दुई महिला लिन्डा र जेनेट नाम उल्लेख छ । उनीहरुले सुखद् पलको कामना भन्दै पोस्टकार्डमा लेखेका छन् । उनीहरुले अझ आफूहरु नजिकैको पबमा रमाएको र पुरुष साथी नभएको गुनासो समेत लेखेका छन् । चेसाएरको मिक्ले ट्राफोर्डमा बस्ने ग्लास श्रीमतीसँगै रहँदै आएका छन् । ग्लासले आफू ती दुवै महिलाबारे अन्जान रहेको र पहिलोपटक उनीहरुको नाम सुनेको बताएका छन् । तत्कालै जाँचपड्ताल गर्दा भने टिड थर भएको एक परिवार १९६०को दशकदेखि त्यही आसपास बस्दै आएको पाइएको छ । गत महिना प्राप्त भएको उक्त पोस्टकार्ड घर परिवार हुँदै छिमेकहरुमा समेत चर्चाको विषय बनेको थियो ।
‘मलाई लाग्यो यसमा केही अमिल्दो छ । पोस्टकार्ड हेर्दै त्यसमा भएको कारको तस्बिर हेर्दा मलाई यो निकै पुरानो भएको जस्तो लागेको थियो,’ हजुरबा समेत रहेका ग्लासले भने । उनले कार्ड भेटेपछि पछाडिपट्टि पल्टाएको र मिति हेर्दा आश्चर्य चकित भएको बताए । त्यस पोस्टकार्ड आफ्नो मेलमा निष्क्रिय अवस्थामा रहेको हुन सक्ने ग्लासको अनुभव छ । रोयल मेलकी प्रवक्ता जुली पिरोनका अनुसार स्टाम्पअनुसार त्यो मेलमा ४० वर्ष अघिकै छाप रहेको बताइन् । भनिन्, ‘पोस्टकार्ड हाम्रोमै कतै छिपेर अथवा अड्किएर रहेको अवस्थामा हुनुपर्छ । साथीहरुले त्यो भेट्ने बित्तिकै मेल डेलिभरी गर्न पुगेको हुनुपर्छ ।’

Leave A Comment