पोखरा मदिरा, म्युजिक र मस्ती

सोमबार, ०२ साउन २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
पोखरा मदिरा, म्युजिक र मस्ती

सन्तोष पोखरेल/मनोज घर्तीमगर
‘पोखरा’ जाने भनेपछि जो कोही हुरुक्क हुन्छन् । त्यसैले त एकदिन बिदा पाउनासाथ पोखरा आउन झोला कस्ने धेरै हुन्छन् । कुनै न कुनै बहानामा हरकोही पोखरा आउन चाहन्छन् । त्यसैले पोखराले दिनहुँ नयाँ पाहुनालाई स्वागत गरिरहेको हुन्छ । स्वदेशी वा विदेशी, पोखराले दैनिक नयाँ पाहुना भेट्टाइरहेको हुन्छ ।
आखिर के छ त पोखरासँग, जसले धेरै आन्तरिक र बाह्य पाहुनाको को मन जितिरहेको छ र उनीहरुलाई तानिरहेको छ ? पोखरासँग प्राकृतिक सुन्दरता त छँँदैछन्, यहाँका तालतलैया, आँखैमा ठोक्किने हिमाली श्रृंखला, गुफा, मन्दिर यहाँका मुख्य गन्तव्य हुन् । तीबाहेक मानव निर्मित साहसिक गतिविधिमा रमाउन मिल्ने पूर्वाधार पनि यहाँ थुप्रै छन् । यी सबै हुँदाहुँदै पनि सबैभन्दा बढी यहाँको ‘रात्रि जीवन’ ले धेरैलाई लोभ्याउँछ ।

पोखरा ‘नाइट लाइफ’ मा रमाउन थालेको अहिले होइन । ‘फेसनेवल’ सहरको रुपमा समेत चिनिएको पोखराको नाइट लाइफ पछिल्लो समय निकै फस्टाएको छ । ‘लेकसाइड’ आएपछि मनै फुरुङ्ग हुन्छ । मनले शान्त अनुभव गर्छ,’ भारत आन्द्रप्रदेशका मसवान्थ रेड्डी भन्छन्, ‘शान्त र सुन्दर वातावरण, शितल मौसम, स्वागतमा खटिने सुन्दर नेपाली मनले मलाई लेकसाइड तानिरहन्छ ।’ केही वर्षदेखि पोखरामा बस्दै आएका उनले लेकसाइड झर्दा मनले शान्त अनुभव गर्ने बताउँछन् । ‘रात्रि जीवन साँच्चै रमाइलो छ,’ उनले भने, ‘रात्रि जीवनमा रम्दा भएका दुःखपीडा सबै बिर्सिइन्छ ।’
लेकसाइडमा खोजेजस्तो मनोरञ्जन पाइने भएकाले पनि रात्रिजीवन रौनकमय हुने उनले बताए । ‘डान्स वा डिस्को, रक वा पप, जुनसुकै म्युजिकको आनन्द लिएर रमाउन पाइन्छ,’ रेड्डी  भन्छन्, ‘त्यसैले त लेकसाइडको रात्रिजीवन आनन्ददायी लाग्छ ।’ पोखरामा ६ वर्षदेखि विद्यार्थीको रुपमा बसिरहेका उनी पोखराको रात्रिजीवनसँग निकै निकट छन् । त्यसैले त साथीभाइ जमघट हुनासाथ लेकसाड हानिन्छन् । ‘बेलुकीको केही समय लेकसाइडमा सुस्ताउन पाउँदा निकै आनन्द लाग्छ । शरीरले ‘फ्रेस’ अनुभव गर्छ,’ उनले भने ।
लेकसाइडको सामूहिक घुमघाम निकै नै रोमाञ्चक हुने अर्का एकजना युवा बताउँछन् । ‘लेकसाइड घुम्न आउन कुनै निहुँ नै चाहिन्न । साताको एकपटक अवश्य झरिन्छ । केहीबेर घुमिन्छ, रमाइन्छ, अनि घर गइन्छ,’ पोखराको एक शैक्षिक संस्थामा कार्यरत रहेकोले नाम बताउन नचाहने उनले भने, ‘खुसीमा पनि लेकसाइड, दुःखमा पनि लेकसाइड । दुःख आइपरे केहीबेर लेकसाइड झरेर रमाएर फर्किदा मन चंगा हुन्छ । लेकसाइड आयो, खायो, पियो, नाच्यो, अनि घर गएर सुत्यो । केहीबेरका लागि भए पनि टेन्सन सखाप । मस्ती र धुममा रमाउन चाहनेले लेकसाइड धाउनुको विकल्प नै छैन ।’

लेकसाइड बिहान अबेरसम्म सुत्छ । राति ढिलासम्म जागा रहने भएकाले होला, लेकसाइड बिहान ढिला उठ्छ । अनि दिउँसो केही चहलपहल बढाउने लेकसाइडले साँझ पर्न थाल्दा बल्ल असली रुप देखाउन थाल्छ, जुन मध्यरातसम्म देख्न पाइन्छ । ‘हो, लेकसाइड मध्यरातसम्म जागै रहन्छ,’ रेस्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष गोपी भट्टराई भन्छन्, ‘दिनभर सुस्ताएको लेकसाइड बेलुकी पर्नासाथ बल्ल खुल्दै जान्छ, अनि गुञ्जिन पनि । त्यसैले लेकसाइड साँझमा चम्किलो र झम्किलो बन्छ ।’ साँझ पर्न थालेपछि लेकसाइडका होटल, रेस्टुराँबाट सुरिलो संगीत सुनिन थाल्छ । अनि साँझ छिप्पिदै जाँदा सबैतिर रमझम बढ्न थाल्छ ।
रात बढ्दै जान्छ, अनि आएका पाहुना पनि बल्ल बाटोमा देखिन थाल्छन् । दिनभर होटलका कोठामा गुप्तबास बसेका पाहुना बेलुकी परेपछि सडकमा पोखिन्छन्, अनि मन लाएको रेस्टुराँ, डान्स, रक बार, लाइभ म्युजिक रेस्टुरेन्ट, डिस्को छिर्छन् । मस्तसँग राति अबेरसम्म खाने, पिउने, नाच्ने अनि फर्किने यहाँ आएका पाहुनाको रुटिन नै हो । नयाँ पुस्ता डिस्को, डान्स बार, रक कन्सर्टमा झुम्छन् भने प्रौढहरु दोहोरी, गजल अनि लाइभ म्युजिकमा रमाउँछन् । हरेक हप्ता हुने डान्स पार्टीमा टिनएजरदेखि अधवैंशेहरु उत्तिकै झुमिन्छन् । त्यसैले त भट्टराई भन्छन्, ‘लेकसाइडको ‘नाइट लाइफ’ रवाफिलो छ ।’
पोखरामा गोधुली साँझको संकेतसँगै रात्रिजीवनको मजा लिने धेरै हुन्छन् । बाहिरबाट पोखरा छिरेका मात्र नभई पोखराभित्रैका युवायुवती पनि बेलुकी परेपछि कुनै न कुनै बहानामा लेकसाइड ताकिरहेका हुन्छन् । अनि मस्ती गरेर सुटुक्क घर फिर्छन् । ‘लेकसाइड आउनुको मज्जा नै बेग्लै हुन्छ, शान्त र सुन्दर वातावरणले मध्यरात भएको समेत थाहा हुँदैन,’ पोखरामै बस्दै आएकी भारत तामिलनाडुकी बाला अबिरानी भन्छिन्, ‘लेकसाइडमा जति समय बिताए पनि मलाई अपुग लाग्छ ।’ मध्यरातसम्म पनि लेकसाइडमा रमाउन पाए हुन्थ्यो भन्ने लागिरहने उनी बताउँछिन् ।
पछिल्लो समय विशेषगरी नेपालीहरु नै लेकसाइडमा बढी आउँछन् । विदेश गएका नेपाली घर फिर्दा परिवार वा साथीसँग पोखरा आउँछन् । नेपालका मुख्य सहरका बासिन्दाको पहिलो च्वाइस पोखरा हुने गरेको छ । व्यवसायीका अनुसार २५ देखि ४० वर्षका मान्छे बढी आउँछन् । उनीहरुसँग आउने छोराछोरीबाहेक फरक शैलीमा व्यक्तिगत रुपमा समूह बनेर पनि पोखरा आउने युवापुस्ता झनै कम उमेरका युवायुवती हुन्छन् । रेबानका पूर्व अध्यक्ष भट्टराईका अनुसार १८ वर्ष कटेका कलेज उमेरका युवायुवतीको मुख्य मनोरञ्जनको ठाउँ पनि अहिले लेकसाइड बनेको छ । विदेशी पाहुनाको गन्तव्य भए पनि अहिले स्वदेशी पाहुनाका कारण लेकसाइडले व्यापारमा थमौती गर्न सकेको उनी बताउँछन् ।

पोखराका युवायुवती डान्स र डिस्कोप्रेमी छन्, त्यसैले त केही फुर्सद मिल्नासाथ डान्स वा डिस्को धाई हाछन् । गर्मी महिनामा मात्र नभई पुसको मुटु छुने ठिहर्याउँदो याममा पनि डान्स र डिस्कोमा झुम्न पुगेका युवायुवती पर्याप्त भेटिन्छन् । डान्स र डिस्कोथेक लगायतमा रम्दै रात्रिजीवन मन पराउने वर्गका लागि लेकसाइड गतिलो गन्तव्य बनेको छ ।
पोखरा घुम्न आउने र यहाँका युवायुवतीलाई जाडो र गर्मी मौसमले डिस्को वा डान्समा जान कुनै प्रभाव पार्दैन । जाडो होस् वा गर्मी उनीहरु रमेकै हुन्छन् । रात्रि जीवनको मजा लिन चाहनेले जाडो गर्मी नभनी डान्स र डिस्को धाउँछन् । पश्चिमा संगीतको तालमा झुम्ने टिनएजरका लागि डिस्को र डान्सपार्टी सबैभन्दा प्रिय बन्दै गएका छन् । चिसो मौसममा पनि छोटा कपडा लगाएर डान्स पार्टीमा पुगेका भेटिन्छन् । गर्मीमा त झनै खुला कपडा लगाएर नाच्न पुगेका हुन्छन् ।
‘ग्याङ’ बनाएर डान्स र डिस्कोमा रम्ने युवायुवतीको हुल बिस्तारै बढ्दैछ । त्यस्तै रकबारमा पनि त्यही वर्ग र समूहका युवायुवती झुम्न आइपुग्छन्,’ रोलिङस्टोन रकबारका संचालक रोशनजंग कार्की भन्छन्, ‘अहिलेका युवायुवती एक्लैभन्दा पनि साथीभाइको समूह बनाएर बढी आउँछन् । रकबार र डान्स डिस्कोमा एक्लै गएर रमाउने कुरै रहन्न ।’
पछिल्लो समय पोखराभित्र लेकसाइड डान्स, डिस्को मात्र नभई मुख्य बजारमा संचालित दोहोरी, गजल साँझमा मस्ती गर्ने र तिनमा रम्ने क्रम पनि बढेको छ । पोखराको लेकसाइड भने रात्रि जीवनको मुख्य थलो हो । तर कुनै न कुनै प्रकारले रमाइलो गर्न चाहनेले फरक गन्तव्य ताक्ने गरेका छन् । विभिन्न निहुँमा डान्स पार्टी छ भन्दै टिकट थमाउने चलनसमेत बढ्दै गएको छ । बेलाबेला पूरै रकबार भाडामा लिएर कुनै समूहले कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।
लेकसाइडमा अहिले डिस्को, डान्सबारदेखि लाइभ म्युजिकमा रम्ने पाहुना पर्याप्त पुग्छन् । ‘रेस्टुरेन्टमा खान र होटलमा सुत्नका लागि मात्र पाहुना पोखरा आउने होइनन्, उनीहरु फरक शैलीमा रम्न पनि चाहन्छन्,’ रेबानका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्, ‘त्यही भएर यहाँ फरक शैली, ब्राण्डका रेस्टुरेन्ट खुलेका हुन् ।’ कुन रेस्टुरेन्टमा के खान र कहाँ गएर रम्न पाइन्छ भन्नेमा अहिलेका पाहुनाको चासो रहने उनले बताए ।  
फरक चाहना रहेका तीनै पाहुनालाई लेकसाइडले अहिले भरपूर मनोरञ्जन दिइरहेको छ । ‘मेरो मनले रमाइलो खोज्यो भने म एक्लै पनि लेकसाइड झर्छु,’ लेकसाइको प्याराडिजो स्पोेर्टसबारमा पुल खेल्दै रमाइरहेकी सन्ध्या केसी भन्छिन्, ‘सकेसम्म साथीको समूहमा आउने हो । कहिलेकाहीँ एक्लै आएर पनि रमाउन मन लाग्छ । अनि, लेकसाइड झर्छु ।’ आफूजस्तो एक्लै रमाउन खोज्नेले भने विश्वासिलो र परिचित रेस्टुरेन्ट वा बारमा पुग्नुपर्ने उनी बताउँछिन् ।
रकबार, डान्स, डिस्को कल्चर पछ्याउने युवायुवती अहिले सबैतिर बढिरहेका छन् । त्यसैले सिजनका बेला लेकसाइडका डान्स डिस्कोमा थामिनसक्नुको भीड हुन्छ । ‘अफसिजन भएकाले मात्र यतिबेला कम भएको हो, नत्र हामीलाई फुर्सदै हुन्थेन,’ प्याराडिसोका म्यानेजर हरिप्रसाद पौडेल भन्छन्, ‘आन्तरिक युवायुवतीको आगमनले नै हामीले अफसिजनमा पनि व्यापार थाम्न सकेका छौं ।’
लेकसाइडको रात्रि जीवनमा रम्नका लागि एक्लै जाने निकै कम हुन्छन् । साथीभाइ वा जोडी नै बनेर पुगेका बढी हुन्छन् । हातमा बियरको बोटल च्यापेर चुस्की लगाउनु, मुखबाट हुक्काको मुस्लो निकाल्नु वा वाइनको गिलास ठोक्काउनु अहिलेका युवायुवतीको चलन नै बनेको छ । यस्तै चाहना राख्ने युवायुवतीले अहिले लेकसाइड ताक्ने गर्छन् । ‘सातामा एक पटक हामी रेस्टुरेन्ट झर्छौंै । लेकसाइडको रात्रिजीवनमा रम्न कुनै न कुनै बहाना बन्छ,’ कोयला रेस्टुरेन्टमा हुक्काको मुस्लो निकाल्दै एक पोखरेली युवाले भने, ‘ह्याङ मेटाउने ठाउँ बनेको छ । पिउने निहुँ कुनै न कुनै बन्दोरहेछ !’
त्यसबाहेक अंगालोमा बाँधिएर मस्तराम हुनेहरु लेकसाइडमा खुबै भेटिन्छन् । लेकसाइडमा रम्न पुग्ने युवायुवती कुनै न कुनै बहाना बनाएर घरबाट निस्कन्छन् । कोही साथीको घरमा जाने त कोही बर्थ–डे सेलेब्रेट गर्ने निहुँमा अहिलेका युवायुवतीले घर छाड्छन् अनि अबेरसम्म लेकसाइडमा रम्छन् ।
मदिराको तालमा झुम्नेहरु मात्र नभई हल्का पेयकै भरमै घण्टौँ बिताइदिने पनि लेकसाइड पुगेका हुन्छन् । तिनै डिस्को र डान्समा नेपाली र विदेशी नाचेका भेटिन्छन् । मदिराको तालमा म्युजिकमा रम्न खोज्नेहरु हतपति खुल्न चाहँदैनन् । त्यसैले युवयुवतीहरु आउटडोर भन्दा इन्डोर पार्टी वा डिस्कोमा जान मन पराउँछन् । ‘लेकसाइडको रात्रिजीवनमा रमाउन खोज्ने तर कसैले देखिहाल्छ कि भनेर हच्किने पनि हुन्छन्,’ रोलिङस्टोनका कार्की भन्छन्, ‘सबैजना ओपन हुन चाहँदैनन् ।’

पोखराको युवापुस्ता ‘विकेन्ड कल्चर’मा रम्न चाहन्छ । डिस्को, डान्स, दोहोरी साँझ जानेभन्दा केही फरकपनमा रम्न चाहेका युवाजमात अहिले ‘गजल’समेत धाउन थालेका छन् । यहाँ सञ्चालित तीन वटा गजल साँझमा गजलपारखीको भिड लाग्छ । हप्ताभरिको ह्याङ मेटाउन शुक्रबार र शनिबार गजल साँझमा झुम्मिन्छन् । केही वर्षअघिसम्म अधवैंशे र परिवारसहितको टोली गजल जाने गरेकोमा अहिले भने युवामा त्यो ‘टेन्ड’ सरेको छ । यहाँका युवाहरु गजल पुगेर मनोरञ्जन लिन प्रतिस्पर्धा नै गर्छन् ।
आक्कलझुक्कल विदेशी पनि छिर्ने गजलमा मध्यमस्तरका नेपाली नै बढी छन् । तीमध्ये सबैभन्दा धेरै युवायुवती भेटिन्छन् । पारिवारिक जमघटमा रमाउन चहाने बढी आउँछन् । कतिपय बाहिरी जिल्लाबाट पोखरा आएका पाहुना पनि गजलको आनन्द लिन पुग्छन् । रात्रिकालीन मनोरञ्जन लिन चाहने पाहुनाले अहिले गजल धाउने गर्छन् । ‘तुलानात्मक रुपमा भद्र देखिने व्यक्ति गजलमा रम्न आउँछन्,’ महेन्द्रपुलस्थित चल्तीको ओपन हाउसका संगीतकार सुनिल थापा भन्छन्, ‘युवायुवतीभन्दा पनि फरक शैलीका पाहुना आएका छन् ।’

गीतसंगीतमा माहिर लोकदोहोरी गायक प्रजापति पराजुलीले २०५० तिर पहिलोपटक पोखरामा दोहोरी साँझ सञ्चालन ल्याए । उनले त्यस बेला खोलेको ‘दोहोरी रेस्टुरेन्ट दोहोरी साँझ’ एकाएक चम्कियो, छोटो समयमै चर्चा पनि पायो । भर्खरै खुलेको दोहोरी साँझमा त्यो बेला थुप्रै भिआइपी मनोरञ्जन लिन पुग्थे । दोहोरीको माहोल जम्दै गयो । प्रजापतिको दोहोरीसाँझ चम्किएपछि धेरैले यतैतिर आँखा लगाए । दोहोरीलाई नयाँ ‘बिजनेस’ देख्न थाले । लगत्तै अमरसिंहचोकमा सोल्टी, बुद्धचोकमा सप्तकोशी, सृजनाचोकमा गोधुली दोहोरी साँझ खुले ।
गुरुङ र मगर गाउँमा रोधी बस्ने चलन हराउँदै गएका बेला त्यसको ठाउँ लिएका पोखराका दोहोरी साँझ त्यो बेला नजम्ने कुरै थिएन । त्यसैले त दोहोरीले राम्रै व्यापार गरे । त्यसपछि दोहोरी खोल्ने होडबाजी नै चल्यो । पानस, गोधँुली, निराला, गाउँले, सरगम, माछापुच्छे लगायतका दोहोरी साँझ यही बीचमै खुलेका छन् । पोखरामा अहिले डेढदर्जन बढी दोहोरी खुलेका छन् ।
पोखराको ‘नाइट लाइफ’मा रम्न चाहने एकखाले जमातको नजरमा यहाँ सञ्चालित दोहोरी साँझ पनि पर्छन् । त्यसैले त दोहोरीमा रम्न चाहने पाहुना महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक लगायतका क्षेत्रमा रम्न पुग्छन् । लेकसाइडमै भने दोहोरी साँझ छैनन् । शुद्ध नेपाली गीतसंगीतमा रम्दै कम्मर मर्काउन चाहने ग्राहक दोहोरीतिर झुमिरहेका भेटिन्छन् । पोखरा भित्रैका हुन् वा बाहिरबाट आउने पाहुना, तिनले यहाँका दोहोरीमा पर्याप्त स्थान लिएका छन् । विदेशी पाहुना भने दोहोरीमा पुग्दैनन् ।

अहिलेको बाग्लुङ बसपार्कलाई पहिले गुह्या खेत भनिन्थ्यो । २०३९ सालमा व्यवस्थित बसपार्क बनाउन पहल सुरु भयो । एक रोपनी बराबर १६/५० हातको एक वटा घडेरी लिएर अरु जग्गा त्यो बेला स्थानीयले दिए । स्थानीयले पोखराबाट जताततै छुट्ने बसको त्यहीँबाट टिकट बिक्री होस् भनेर यसो गरेका थिए । स्थानीयले यसलाई नयाँ बसपार्क नामाकरण गरे ।
२०४४ सालमा बाग्लुङ–पोखरा सडकमार्ग खुल्यो । त्यसपछि नयाँ बसपार्क बाग्लुङ बसपार्कको नाममा चिनिन थाल्यो । बसपार्क बनेपछि ससाना टहरा बनाएर व्यापार सुरु भयो । त्यससँगै बिस्तारै यौन व्यवसाय पनि सुरु भयो । ‘जहाँ बसपार्क आउँछ, त्यहाँ यौन व्यवसाय भित्रिन्छ,’ संस्कृतिकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘यहाँ बसपार्कसँगै वेश्यावृत्ति पनि आयो ।’ बाक्लो बस्तीको बीचमा बसपार्क भएकाले यसबारे बढी हल्लाखल्ला भयो ।
बिस्तारै यसले अघोषित ‘रेडलाइट एरिया’को दर्जा पायो । यहाँ भारतका ठूला सहरमा जस्तै चौबीसै घण्टा देहव्यापार हुन्थ्यो । पोखराले जति नाम कमाएको छ, यो बाग्लुङ बसपार्कले यौनका मामलामा त्यति दुर्नाम कमायो । झन्डै १०/१५ वर्षदेखि यो क्षेत्रको देहव्यापार यति फस्टायो कि यसको ‘कीर्ति’ छिमेकी भारतसम्म फैलियो । भारतीय नागरिकको पहिलो रोजाई नै बाग्लुङ बसपार्क थियो । ‘माल मिलेगा’ भन्ने भारतीयले राम्रै व्यापार दिएका थिए ।
एसपी वसन्त लामाको पालामा प्रहरीले निगरानी बढाएदेखि यहाँको यौन बजार शून्य छ । यौनकर्मी तितरबितर भए । प्रहरीले २४ घण्टा पहरा दिन थालेपछि यहाँको रुप फेरिएको छ ।  रेडलाइट एरिया बागलुङ बसपार्कमा २४ घन्टा प्रहरी राखेर पेशेवर यौनकर्मी युवतीलाई हटाइएपछि बाग्लुङ बसपार्कमा यौनक्रियाकलापमा कमी आए पनि पोखराका विभिन्न क्षेत्र र कास्की जिल्ला आसपाससम्म फैलिएको छ ।
बाग्लुङ बसपार्कमा केन्द्रित यौन व्यवसाय अहिले पोखरा र आसपासमा फैलिएको छ । यौनकर्मी ‘डेस्टिनेसन चेन्ज’ भएको छ । पहिले व्यवसायीसँग मिलेर यौनकर्म गर्ने उनीहरुलाई अहिले झन् सजिलो भएको छ । व्यक्तिगत सम्पर्कमा आउने ग्राहकहरुसँग उनीहरुले विभिन्न होटलमा रात बिताउने गर्छन् । यति मात्रै होइन, उनीहरुले आफ्नै कोठामा लगेर ग्राहकलाई यौन सन्तुष्टि दिने गरेका छन् ।
यौन व्यवसाय भाडाका घरहरुबाट सञ्चालन हु“दै आएको प्रहरीले भेट्टाएको छ । कसैले शंका नपाउने गरी कुनै घर या फ्ल्याट भाडामा लिएर यौनकर्मीले व्यवसाय सञ्चालन गर्दैआएका छन् । यसरी चल्दै आएको यौन व्यवसायलाई मध्यस्थकर्ताले युवती र ग्राहकको भेट गराइदिन्छन् । कसैले चालै नपाउनेगरी उनै मध्यस्थकर्ताले युवतीको घरसम्म ग्राहक पुर्याइदिन्छन् र केही रकम आफू असुल्छन् । ‘अहिले ग्राहकलाई यौनकर्मी  मिलाउने कामले फाइदा पुगेको छ,’ मध्यस्थकर्ताको काम गर्ने एक युवाले बताए ।
पोखरामा यस्ता अखडाहरु धेरै छन् । मध्यस्थकर्ताले सुरको हिसाबले सजिलो पर्ने भएकाले भारतीय पर्यटकहरुसँग बढी डिल गर्ने स्रोत बताउ“छ । ‘प्रहरीसँग भारतीयहरुको सोझै सम्पर्क नहुनाले भारतीय पर्यटक यौनकर्मी अनि मध्यस्थकर्ताको रोजाइमा परेका हुन्,’ एक होटल व्यवसायी भन्छन्, ‘उनीहरु पाँच हजारदेखि ३० हजारसम्म तिर्न तयार हुन्छन् ।’

जस्तोसुकै खुसियालीमा लेकसाइड जम्छ
गोपी भट्टराई

पूर्वअध्यक्ष
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखरा

पछिल्लो समय विशेषगरी नेपाली नै लेकसाइडमा बढी आउँछन् । विदेश गएका नेपाली घर फिर्दा परिवार वा साथीसँग पोखरा आउँछन् । नेपालका मुख्य सहरका बासिन्दाको पहिलो छनोट पोखरा हुने गरेको छ । २५ देखि ४० वर्षका मान्छे बढी आउँछन् । उनीहरुसँग आउने छोराछोरीबाहेक फरक शैलीमा व्यक्तिगत रुपमा समूह बनेर पनि पोखरा आउने युवापुस्ता बढेको छ ।
पोखरा आएका पाहुनाहरु खाना र रमाउनका लागि बार, पब, डिस्कोमा जाने धेरै चलन छ । त्यसले पनि लेकसाइडको रात्रिजीवनमा रौनकता थपेको छ । त्यस उमेर समूहका आन्तरिक पाहुना विदेशी ब्यान्डभन्दा नेपाली ब्यान्डका पुराना गीतमा रमाउन बढी हुन्छन् । केही संख्यामा डिस्कोबाहेक ७÷८ वटा लाइभ म्युजिक प्रस्तुत हुने रेस्टुरेन्ट पनि लेकसाइडमा छन् । १८ वर्ष कटेका कलेज उमेरका युवायुवती बढी लाइभ म्युजिक र डान्स, डिस्को चहार्छन् । यस उमेरका युवायुवतीले हार्ड र रक म्युजिक मन पराउँछन् । उनीहरु बढी भीडभाड मन पराउँछन् । उनीहरुको चाहनालाई पश्चिमा संस्कारले बढाएको छ ।
युवापुस्ताको चाहनाअनुसार अहिले लेकसाइडमा जमघट हुने गरेको छ । कसैको बर्थ–डे प¥यो भने पनि त्यसले जमघट बढाउने गरेको छ । कुनै न कुनै निहुँमा लेकसाइड आउने र बिन्दास तरिकाले रमाउने युवायुवती अहिले बढिरहेका छन् । युवायुवतीको यस्तै जमघटले पनि लेकसाइडको रात्रिजीवन चलेको छ । कुनै पनि प्रकारको खुसियालीमा लेकसाइडमा भेटघाट जम्छ ।
१६–२८ वर्षका युवायुवतीको भीड
मोहनमणि अधिकारी

प्रहरी निरीक्षक
वडा प्रहरी कार्यालय बैदाम

पर्यटकीय क्षेत्र भएकाले होला शुक्रबार, शनिबार लेकसाइडमा अधिक भीड लाग्छ । सार्वजनिक बिदासँगै थप बिदा भयो भने झनै भीड बढ्छ । बिदाको मौका पारेर काठमाडौँ, बुटवल, चितवन, भैरहवा, पाल्पासहित पोखरा आसपासका जिल्लाका युवायुवती यहाँ भित्रन्छन् । त्यही भीड लेकसाइडका लाइभ म्युजिक, रक ब्याण्ड, दोहोरी, डान्सबारमा थुप्रिन्छ ।
पोखरामा कुनै ठूला आकारका कार्यक्रम, सभासम्मेलन, गोष्ठी, बैठक, भेला हुँदा पनि यहाँ आन्तरिक पाहुनाको भीड लाग्छ । ती कार्यक्रमका पाहुना पनि यहाँका रेस्टुरेन्टमा जान्छन् । लेकसाइडमा सबैखाले पाहुना आउँछन् । सबैभन्दा बढी स्थानीय युवायुवती नै बढी र दिनहुँजसो आउँछन् । बाहिरबाट आएकाभन्दा स्थानीय पाहुनाबाटै यहाँ बढी होहल्ला हुन्छ । मादक पदार्थ सेवन गरेर रेस्टुरेन्टमै झगडा गर्ने, सञ्चालकसँग विवाद गर्ने, आफूआफूबीच नै झगडा गर्ने गर्छन् । रातिको समयमा बढी मदिरा सेवन गरेका भेटिन्छन् । विदेशी निकै कम मात्र विवाद गर्छन । विदेशीहरु राति अबेरसम्म रमाउन खोज्छन् तर झैँझगडाबाट टाढै रहन्छन् ।
लेकसाइडमा पछिल्लो समय विदेशीभन्दा पनि स्वदेशी र तीमध्ये पनि पोखराभित्रैका १६ देखि २८ वर्षका युवायुवती बढी घुम्न पुगेका हुन्छन् । समूहमा जाने स्थानीयबीच आपूmआफूमा झैझगडा भइरहन्छ । त्यसबाहेक एक र अर्काे समूहमा पनि झगडा हुन्छ । मादक पदार्थ सेवन गरेपछि सानो निहुँमा पनि यहाँ झगडा हुन्छ । लेकसाइडको रात्रि जीवनमा ‘ड्रिंक्स र ड्राइभ’ नै चुनौती हो । ‘ड्रिंक्स’पछि झगडा गर्ने युवा बढी भेटिन्छन् । युवतीको विषयमा भने यहाँ कमै झगडा हुन्छन् । पर्यटकीय क्षेत्र भएकाले होला, युवतीलाई जिस्क्याउने चलन भने निकै कम छ । बाहिरबाट आएका पाहुना कमै झगडा गर्छन् ।


६० प्रतिशत केटा र ४० प्रतिशत केटी
रोशनजंग कार्की
सञ्चालक
रोलिङस्टोन रकबार

हामी सातै दिन राति अबेरसम्म पाहुनाका लागि सांगीतिक कार्यक्रम पस्कन्छौँ । स्टेजमा कन्सर्ट हुन्छ, त्यही कन्सर्टमा रम्दै, पिउने चाहना भएका युवायुवती यहाँ आउँछन् । सातै दिन फरक समूहबाट कन्सर्ट हुन्छ । स्थानीय ब्यान्डका साथै १५ दिनको फरकमा राजधानीबाट परिचित सांगीतिक समूह पनि भित्रयाउँछौँ ।
हामी रक म्युजिक मात्र पस्कन्छौँ । अंग्रेजी र नेपाली रक म्यूजिकमा रम्ने पाहुना मात्र यहाँ आउँछन् । यहाँ बज्नेमध्ये करिब ७० प्रतिशत गीत अंग्रेजी हुन्छन् । ती गीतमा रम्ने २० देखि ३० वर्षका पाहुना बढी हुन्छन् । कम उमेरका युवायुवतीलाई हामीले प्रवेश दिन्नौँ । बेलुकी ८ बजेपछि हाम्रो बारमा पाहुना भित्रिन थाल्छन् । स्थानीय प्रहरीले हामीलाई ११ बजेपछि बन्द गर्न भन्छ तर पाहुना गइसक्दा १२ बज्छ ।
बारमा काठमाडौं, बुटवल, चितवनसहित पोखरा सहर भित्रैका युवायुवती बढी आउँछन् । सप्ताहन्त र बिदाको बेलामा झनै भीड लाग्छ । अरु दिनको तुलनामा शुक्रबार यहाँ भीड थपिन्छ । बाहिर मादक पदार्थ सेवन गरेर होहल्ला गर्न आउनेलाई हामीले प्रवेश दिन्नाँै । यहाँ आउने पाहुनाको चाहना गीतमा रम्ने, झुम्ने, पिउने र नाच्ने हुन्छ । उनीहरु कतैबाट अवरोध चाहँदैनन् । त्यसैले पनि होहल्ला गर्ने, बाहिर पिएर आएर अरुलाई डिस्टर्ब गर्नेलाई हामीले ‘वाच’ गरेका हौँ ।
स्वदेशी पाहुना खानेकुरामा कुनै कन्जुस्याइँ गर्दैनन् । भनेजति खर्च गर्न तयार हुन्छन् । बरु विदेशी पाहुना कम खर्च गर्छन् तर स्वदेशी जति पनि पैसा तिर्न तयार हुन्छन् । रकबारमा आउनेमध्ये ६० प्रतिशत केटा र ४० प्रतिशत केटी हुन्छन् । पाहुनामध्ये समूहमा बढी आउँछन् । रकबारमा एक्लै आएर रम्ने पाहुना कमै हुन्छन् । स्थानीय युवायुवती नै पनि बढी आउँछन् । कलेज पढ्ने उमेरका युवायुवती यस्ता कार्यक्रममा रम्न चाहन्छ । एक हातमा पेय पदार्थ लिने र पिउँदै कन्सर्टमा झुम्ने बढी हुन्छन् । पिउने, रमाउने, नाच्ने र चुरोटको धुँवा फुक्ने समूहका युवायुवती नै हाम्रा लक्षित ग्राहक हुन् । थपक्क घर बस्न रुचाउने पाहुना यहाँ आउँदैनन् ।
बारभित्र रमझमसहितको लाइट बढी राखिएको छ । त्यसले युवायुवतीलाई नाच्न प्रोत्साहन गरिरहेको हुन्छ । समूहमा रम्न आउनेबाहेक ‘बर्थ–डे, ‘म्यारिज एनिभर्सरी’ मनाउन आउने पाहुना पनि हुन्छन् । अलि सिरियस र भलाद्मी पाहुनाका लागि हामीले भिन्दै बस्ने ठाउँ बनाएका छौं । समूहमा आएका युवायुवती आफ्नै समूहमा रमाउँछन् । केटाहरु मात्र नभई केटीहरु पनि समूहमा आएका हुन्छन् । हाम्रो बारमा राति दश बजेपछि मात्र पाहुनाको भीड थपिन थाल्छ । आएका पाहुना अझै राति अबेरसम्म बस्न रुचाउने भए पनि सरकारी निर्देशनले राति ११ बजेपछि म्युजिक बन्द गर्न बाध्य भएका छौँ । अझै राति ढिलासम्म खोल्न दिने हो भने हाम्रो व्यापार पनि बढ्थ्यो ।

पाँच सय होटल,२० हजार बेड
पोखरामा करिब ५ सय होटल र २ सय रेस्टुरेन्ट छन् । ती होटलमा करिब २० हजार बेड छन् । होटल क्षेत्रमा मात्र करिब १ खर्ब रुपैयाँ लगानी छ । त्यस्तै करोडौँ रुपैयाँ लगानी रेस्टुरेन्टमा पनि छ । नेपाल आएकामध्ये करिब ६० प्रतिशत पाहुना पोखरा आउने अनुमान छ ।
पोखरामा बर्सेनि आन्तरिक र बाह्य गरी करिब चार लाख पाहुना आउने तथ्यांक छ । तीमध्ये आन्तरिकको हिस्सा ३० प्रतिशत रहेको छ । होटलको अकुपेन्सीलाई आधार मानेर आन्तरिकको हिस्सा व्यावसायीले अनुमान गर्दै आएका छन् ।
पोखरा आएका सबैजसो पाहुना रमाउने ठाउँ रेस्टुरेन्टमै हो । त्यसैले पनि ‘नाइट लाइफ’को व्यापार होटलभन्दा रेस्टुरेन्टको बढी हुन्छ । ‘होटलमा बस्ने मात्र हो, रमाउने रेस्टुरेन्टमा हो,’ पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली भन्छन्, ‘होटलमा बस्छन्, रमाउन रेस्टुरेन्ट पुग्छन् । होटलमा मनोरञ्जन गतिविधि हुँदैनन्, रेस्टुरेन्टमा रमाउने सबै गतिविधि हुन्छन् ।’
नाइट लाइफ बाट रेस्टुरेन्टले बढी फाइदा लिएको उनी बताउँछन् । उनका अनुसार नेपाल आउने विदेशी पाहुनाको नाइट लाइफ टार्गेट हुँदैन तर स्थानीय र आन्तरिक पाहुनाको लक्ष्य नाइट लाइफमै रमाउने हुन्छ । ‘त्यसैले त बेलुकी यहाँका कुनै पनि रेस्टुरेन्टमा आन्तरिक युवायुवतीको भीड लागेको पाइन्छ,’ उनले भने, ‘विदेशी पनि रेस्टुरेन्ट त जान्छन् तर रक, पब, डान्स, डिस्कोमा आन्तरिक पाहुना बढी हुन्छन् ।’ भूकम्पपछि आन्तरिक पाहुनाले नै लेकसाइडको व्यापार धानिएको व्यवसायीको भनाइ छ ।
पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया नाइटलाइफ बढी लेकसाइडमात्र केन्द्रित रहेको बताउँछन् । आक्कलझुक्कल महेन्द्रपुल, सिर्जनाचोकका दोहोरीमा पाहुना गए पनि अधिक लेकसाइडमै रम्ने उनले बताए । नाइट लाइफको घेरा साँघुरो भएको उनको भनाइ छ । अहिले फेवा किनारको करिब तीन किलोमिटर क्षेत्रमा मात्र नाइट लाइफ सीमित छ । फेवातालको पूरै किनारालाई उपयोग गर्न सकियो भने नाइट लाइफको दायरा पनि बढ्ने उनले बताए । फेवाताल माथिल्लो किनारसम्म उपयोग गर्न सक्ने हो भने रात्रिजीवनमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।
थपलियाका अनुभवमा आन्तरिक पाहुना खर्च गर्न भनेर नै आउँछन् । सीमित बजेटका पाहुनादेखि अधिक खर्चालु पाहुना पोखरा आउँछन् । उनीहरुले गर्ने खर्च कति हुन्छ भन्ने सीमित नहुने थपलियाले बताए । ‘सप्ताहन्तमा पाहुना बढी पोखरा आउँछन्, ती पाहुनाले मनग्य खर्च गर्छन्,’ उनले भने, ‘विदेशीभन्दा स्वदेशी पाहुना बढी खर्च गर्छन् ।’ पोखरा आएका कोही न कोही पाहुना नाइट लाइफ हेर्नका लागि पनि कम्तीमा राति एकपटक लेकसाइड पुग्छन् । ‘पोखरा आएर एक रात लेकसाइडको रात्रिजीवनमा नरमाउने कोही हुँदैन,’ उनले भने, ‘ताल किनारको सबैक्षेत्र सौन्दर्यीकरण गर्ने हो भने सबै क्षेत्रमा पाहुना बढ्छन् ।’
उनको अनुभवमा सबै उमेर, वर्ग, हैसियतका पाहुना पोखरा आउँछन् । डान्स डिस्को, रकमा रमाउनेमा युवा पुस्ता बढी हुन्छन् । ‘बाहिरबाट पोखरा आउने पाहुनाको मनमा डान्स, डिस्को जाने रहन्न । पोखराको प्रकृतिसँग रम्ने उनीहरुको योजना हुन्छ तर आएको बेला डान्स र डिस्कोको अनुभव पनि लिने धेरै नै हुन्छन्,’ उनले भने, ‘नाइट लाइफबिना लेकसाइडको कल्पनासमेत गर्न सकिन्न ।’

 

Leave A Comment