मनिषाको नयाँ रुप

बिहिबार, १९ साउन २०७४, ११ : ५२ शुक्रवार , Kathmandu
मनिषाको नयाँ रुप

रोहित राई

चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला आइतबार(साउन १५) मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइन् । कुनै समय ग्लामर दुनियामा चर्चाको शिखरमा पुगेकी मनिषा अर्को ग्यामर नगरी धरानमा आउदा चर्चा नहुने कुरै भएन । तर, यहाँ उनी आफ्नो उपचार(स्वास्थ्य जाँच) गराउन वा कुनै फिल्मको सुटिङ गर्न अथवा चलचित्रबारे कुरा गर्न पनि आएकी भने थिइनन् ।
अभिनेत्री कोइराला आफ्नै हजुरबुबाको नाममा स्थापना भएको प्रतिष्ठानमा पहिलो पटक पाइला टेक्दा ठुलो जिम्मेवारीका साथ आएकी थिइन् । यहाँ उनी त संयुक्त राष्ट्र संघीय जनसंख्या कोष(युएनएपपिए)को सद्भावना दुत बनेर प्रसव फिस्टुला जस्तो गम्भीर समस्यासँग जुधिरहेकी महिलाहरुको पीडा बुझ्न र फिस्टुलाबारे जनचेतना जगाउन धरान आएकी थिइन् ।
गरिबि र शिक्षा, जनचेतनाको अभावले गर्दा नेपालका ग्रामिण महिलाहरुलाई प्रसव फिस्टुला अभिषाप झै बनेको छ । लामो र कठिन प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मी वा प्रसुतीकर्मीबाट सही समयमा सही सेवा नपाउदा महिलाहरुमा प्रसव फिस्टुला हुने चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानमा शल्यक्रिया पश्चात वार्डमा आराम गरिरहेका पीडित महिलाहरुसँग कोइरालाले केहीबेर भलाकुसारी गरिन्, र अन्र्तक्रियामा भनिन्,‘म ग्लामर फिल्डबाट आएको हुँ । यो फिल्डको मानिस समाजसँग जोडिएको हुन्न, अहिले सामाजिक क्षेत्रमा आएपछि मात्र समाजको वास्तविक पीडा, समस्यालाई बुझ्ने मौका पाएको छुँ ।’
बलिउडमा थुप्रै सफल सिनेमा खेलेकी अभिनेत्री कोइरालाले थुप्रै चरित्रमा अभिनय गरेकी छिन् । तर, ती केवल पर्दामा मात्र सिमित भएको उनले अभिव्यक्तिले जनाइरहेको थियो । ग्लामर फिल्डबाट उनी जब समाजमा पर्दापण भइन्, तब समाजको वास्तविक पात्रहरुसँग उनको साक्षात्कार भइरहेको थियो । ‘मैले ३० औं बर्षसम्म रोग लुकाएर बसेकी ७० बर्षकी महिलालाई पनि भेटे, जसले आफ्नो छोराले बुहारी ल्याएपछि मात्र रोगबारे भनिन्, अनि, भर्खर ३० बर्ष लागेकी युवतीलाई पनि भेटे, जो युवा उमेरमा नै फिस्टुलाबाट पीडित भइन्,’ भावुक मुद्रामा मनिषाले भनिन्,‘हाम्रो समाजको अवस्था यो छ, अझै पनि आफ्नो रोगबारे, समस्याबारे महिलाहरु खुलेर बोल्न चाहदैनन्,ती लुकेका पीडितहरुलाई उपचारमा ल्याउनुपर्छ ।’
अभिनेत्री कोइरालाले यसो भनिरहदा उनी कलाकार कम, सामाजिक अभियन्ता बढी झल्किन्थ्यो । जीवनको पछिल्लो कालखण्डमा उनी आफै पनि क्यान्सर जस्तो जटिल रोगसँग लडेर जितेकी थिइन् । त्यसपछि उनले आफ्नो जीवनको महत्व र अर्थलाई बुझिन् । २०७२ बैशाखको महाभुकम्प पछि उनले महिला र किसोरी स्वास्थ्य क्षेत्रमा काम गर्न चाहिरहदा युएनएफपिएले सद्भावना दुतको प्रस्ताव गरेको थियो । ‘मेरो भाग्य नै यस्तो हो, पुर्वजन्मको फल हो भन्ने ठानेर महिलाहरु पीडा, समस्या लुकाएर बस्छन् । गरिब, पिछडिएको महिलाहरुमा यस्तो धेरै हुन्छ, त्यसपटि कसैले ध्यानै दिदैनौं, अब सबै मिलेर यसको अन्त्य गर्नुपर्छ,’उनले भनिन् ।

 

Leave A Comment