सर्पले टोके के गर्ने ?

आइतबार, २२ साउन २०७४, ०१ : ०१ शुक्रवार , Kathmandu
सर्पले टोके के गर्ने ?

साउन महिना सर्पको टोकाईबाट अस्पताल आउनेको संख्या बढ्ने महिना हो । प्रायः मानिस खेतबारीको काममा व्यस्त हुने भएकाले सर्वसाधारण सर्पको टोकाइमा पर्ने गरेका छन् । शुक्रराज शास्त्री तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार नेपालमा बर्सेनि तराईका जिल्लादेखि सर्पले टोकेका तीन सयको हाराहारीमा उपचारका लागि आउने गरेका छन् । पुनका अनुसार, पहाडी जिल्लाका केही विषविहीन सर्पले टोके पनि मानिसहरु डरले विभिन्न लक्षणहरु देखाउँछन् । जस्तैः बढी अत्तिँदा हृदयघात हुनसक्ने, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेको जस्तो अनुभव हुने, हातखुट्टा कडा हुने वा बाउँडिने, चक्कर लागेर बेहोस हुने आदि । यस्तै पहाडी जिल्लामा पाइने हर्रो सर्पको टोकाइबाट टोकेको ठाउँ वरपर बढी सुन्निने गर्छ । त्यस्तै पहाडी क्षेत्रमा पाइने सर्पले टोक्दा निम्न लक्षणहरु देखिन्छः
१. पहाडी क्षेत्रमा पाइने पिट भाइपर जातको सर्पले टोक्दा टोकेका ठाउँमा सुन्निनुका साथै दुई वा एउटा दाँतको चिह्न देखिन्छ ।
२. रक्तस्राव हुन्छ ।
३. नीलो हुने वा फोका बन्छ ।
४. लिम्फ ग्रन्थि सुन्निन्छ ।
५. संक्रमण वा नेक्रोसिस हुन्छ ।
त्यस्तै कोब्रा, करेतजस्ता विषालु सर्पका टोकाइका कारण स्नायु प्रणालीमा देखिने चिह्न र लक्षण निम्न छन् :
१. स्वादमा भिन्नता
२. बान्ता हुनु
३. आँखाको परेला उठाउन गाह्रो हुनु
४. स्वरमा परिवर्तन आउनु
५. घाँटी भाँचिने चिह्न (ब्रोकेन नेक साइन)
६. नाडी छिटो छिटो चल्नु
७. सास फेर्न समस्या देखिनु
सर्पले टोकेपछि के गर्ने त ?
प्राथमिक उपचार
१.  बिरामीलाई सबैभन्दा पहिले शान्त पर्नु पर्छ । सर्पदंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदयघातसमेत हुने भएकाले बिरामीलाई परामर्श दिई शान्त पार्नुपर्छ ।
२. बिरामीलाई सजिलो हुने गरी भुइँमा सुताउनु पर्छ र शरीरमा कसिएको लुगा फुकाली दिनुपर्छ ।
३. टोकेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ ।
४. टोकेको ठाउँलाई सकेसम्म नचलोस् भन्नका लागि काठ वा स्प्लिन्टको प्रयोग गर्नुपर्छ किनभने टोकेको भाग बढी चलेमा सर्पको विष मांसपेसीमा छिटो शोषित भएर रगतमा मिसिन सक्छ ।
के नगर्ने ?
१. टोकेको सर्पलाई मार्ने कोसिस नगर्ने । यसले गर्दा अरु व्यक्ति पनि घाइते हुन सक्छन् ।
२. टोकेको घाउलाई नचलाउने । यसबाट अरु इनफेक्सन हुने र विष छिटो फैलिने सम्भावना हुन्छ ।
३. रबर वा डोरीले कडा रुपमा नबाँध्ने । यसले रक्तसञ्चारलाई अवरुद्ध पार्छ । यदि रबर तन्किएर ४० मिनेटभन्दा बढी बाँधेमा कोषिकाहरु मर्दै (नेक्रोसिस) जानेछ र धेरै ढिलो भए नेक्रोसिस भएको भाग नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।
४. धामी–झाँक्रीसँग उपचार गराउँछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएकाले जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्रमा लैजाने ।
५. टोकेको ठाउँमा कुनै चिजले नकाट्ने, नचुस्ने, कुनै मलम वा रासायनिक कुरा नदल्ने ।

 

Leave A Comment