बलुचिस्तानको नेपालमा बाछिटा

बिहिबार, २६ साउन २०७४, १० : ३७ मणि दाहाल , Kathmandu
बलुचिस्तानको नेपालमा बाछिटा

एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट भाषण गर्दैै पाकिस्तानको बलुचिस्तानमा व्यापक मात्रामा मानवअधिकार उल्लंघन भएको विषय उठाएका थिए ।
२०१६ को भारतीय स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ को भाषणमा भारतीय प्रधानमन्त्री मोदीले बलोच जनताको शुभकामना आफूलाई प्राप्त भएको र पाकिस्तान प्रशासित कस्मिर र बलुचिस्तानमा दमनकारी नीति लिएको बताएका थिए । त्यसयता बलुचिस्तान ‘लाइम लाइट’मा आयो । सँगैमा स्वतन्त्र बलुचिस्तानको मागलाई भारतीय खुफिया संयन्त्रहरुले लामो समयदेखि सहयोग गर्दै आएको पनि खुल्न थाल्यो । अफगानिस्तान र इरानमा बसेर भारतले तिनलाई सघाउने गरेको इस्लामावादको दाबी छ ।
भारतले त्यस क्षेत्रमा पाकिस्तानले व्यापक रुपमा मानवअधिकार उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा विषयलाई उठाउने मात्रै होइन, त्यहाँका नेताहरुलाई पनि सहयोग गर्दैआएको छ । त्यसो त पाकिस्तानले पहिलेदेखि नै बलुचिस्तानमा हुने प्रत्येक आक्रमणमा भारतीय पक्षको हात रहेको आरोप लगाउने गरेको छ । उनीहरुले पाकिस्तानबाट बंगलादेशलाई विभाजन गरेजस्तै बलुचिस्तानलाई पनि विभाजन गर्न खोजेको बताउँदै आएको छ । तर जनसंख्या, भौगोलिक निकटता र अन्य कारणले गर्दा भारतका लागि स्वतन्त्र देश निर्माण गर्ने सक्ने अवस्था नभएको पाकिस्तानी सुरक्षा मामिला विज्ञहरुले दाबी गर्ने गरेका छन् । तत्कालीन पूर्वी पाकिस्तान स्थल मार्गबाट पुग्न पश्चिम पाकिस्तान असम्भव नै भए पनि जलमार्गबाट पुग्न पूरै भारतीय प्रायद्वीपलाई फन्को मारेर अरब सागरबाट हिन्द महासागर हुँदै बंगालको खाडी पुग्नु पथ्र्यो ।
पृथकतावादको इतिहास
एकातिर अरब सागर, अर्कोतर्फ इरान र अफगानिस्तान जोडिएको यो भूभागमा पृथकतावादी आन्दोलन पाकिस्तान जत्तिकै पुरानो हो । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र हुँदादेखि नै छुट्टै देश हुनुपर्ने माग बलुचहरूले गर्दै आएका थिए । स्वतन्त्र देशका लागि पाँच पटक सशस्त्र विद्रोह पनि भैसकेका छन् तर पाकिस्तानी सैनिकको सामथ्र्य अघिल्तिर कुनै पनि द्वन्द्व लामो समय टिक्न सकेन । पछिल्लो समय सन् २००६ मा नयाँ चरणको पृथकतावादी सशस्त्र संघर्ष सुरु भएको हो ।
पछिल्लो समयमा भारत र पाकिस्तानबीचको दुस्मनीको क्रीडास्थल बनेको बलुचिस्तानमा पाकिस्तानको ४४ प्रतिशत भूभाग र सात प्रतिशत मात्रै जनसंख्या छ । बलोच र पख्तुनहरुको बसोबास रहेको यो क्षेत्र प्राकृतिक स्रोत र सामरिक दृष्टिले महत्वपूर्ण स्थल बन्न पुगेको छ । आफ्नो प्राकृतिक स्रोत भएर पनि इस्लामावादको दमनकारी शोषणमा पर्नु परेको भन्दै पृथकतावादीहरुले असन्तुष्टिमाथि खेलिरहेका छन् । त्यसको फाइदा अरुले मात्रै लिएको र आफूहरुमाथि दमन भएको बताउने गरेका छन् ।
ओबर र ग्वादर
भारतले बलुचिस्तानको विषयलाई चर्काएर एकै ढुंगाले दुई चराको शिकार गर्न खोजेको छ । लामो समयदेखिको कस्मिरको विषयमा पाकिस्तानी भूमिकालाई सन्तुलनमा ल्याउने अस्त्र मात्रै भएर र चीनले अघि सारेको महत्वाकांक्षी अभियान ‘वन बेल्ट, वन रोड’ (ओबर) अर्थात नयाँ रेमश मार्ग परियोजनाअन्तर्गत महत्वपूर्ण हिस्सा चीन र पाकिस्तान आर्थिक करिडरमा अवरोध पनि हो ।
चीनको पश्चिमस्थित सिन्जियानको कास्गारबाट पाकिस्तानको ग्वादारसम्मको ३ हजार २ सय किमी लामो आर्थिक करिडोरभित्र ग्वादार बन्दरगाह, जलविद्युत आयोजना, पाइपलाइन, सडक तथा रेल मार्ग निर्माणसहितको विषय समेटिएको छ । यस परियोजनाको शीर कास्गार हो भने पुछार बलुचिस्तानमा पर्ने ग्वादर हो । त्यसैले यसमा कुनै स्थानमा आउने अवरोधले पूरै परियोजना प्रभावित बन्ने छ ।
सन् २०१५ मा चिनियाँ राष्ट्रपति सि जिनपिङले पाकिस्तान भ्रमण गर्दा ४६ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए । तर अहिले त्यो बढेर ५० अर्ब अमेरिकी डलर पुगेको छ ।
जसले पाकिस्तानले साठीको दसकमा प्राप्त गरेको आर्थिक समृद्धिलाई फेरि फर्काउने अपेक्षा धेरैले गरेका छन् । सन् १९९० सम्म पाकिस्तानको आर्थिक अवस्था भारतको भन्दा राम्रो थियो । पछिल्लो २५ वर्षमा मात्रै भारतले उल्लेख्य प्रगति हासिल गरेको हो । चिनियाँ र पाकिस्तानी नेताहरुले मध्य एसिया, पश्चिम एसिया, दक्षिण एसियाको आर्थिक उन्नतिका लागि उत्प्रेरक हुने दाबी गर्दै आएका छन् । जसले चीन र पश्चिम एसियाबीच अहिले हुँदै आएको व्यापारका लागि वैकल्पिक समुद्री मार्ग हुने यस कोरिडरले दस हजार किमिले दुरी घटाउने छ ।  
तर यो परियोजना पाकिस्तान प्रशासित विवादास्पद भूभाग गिलगिट (बाल्तिस्तान भञ्ज्याङ हुँदै जाने सो परियोजनालाई लिएर दिल्लीको आपत्ति छ ।) सो भूभागमाथि दिल्लीले आफ्नो दाबी गरेको छ । पाकिस्तानले गत महिना मात्रै सो क्षेत्रलाई आफ्नो पाँचौँ प्रदेशको रुपमा घोषणा गरेको छ । आर्थिक करिडर बनाउन कानुनी मान्यता दिएको छ । कतिपय विश्लेषकहरुले भौतिक पूर्वाधार कमजोर रहेको भारतका लागि ओबरमा सहभागिता हुन यसैले रोकेको बताउने गरेका छन् । चीनले परियोजना सञ्चालन भए पनि पहिलेदेखि कस्मिरको विषयमा रहेको आफ्नो पुरानो धारणामा परिवर्तन नहुने बताएर भारतलाई आश्वास्त तुलाउने खोजेको छ । बेइजिङले कस्मिरलाई विवादित भूभाग मान्दछ । भारत कस्मिरको विषय अन्तर्राष्ट्रिय मुद्दा नबनोस् भन्ने चाहन्छ तर चीन–पाकिस्तान आर्थिक करिडोरले त्यसलाई अन्तर्राष्ट्रियकरण गराउँछ ।
सन् १९६२ मा भारत–चीन बीचको युद्धपछि नजिकिँदै गएको चीन–पाकिस्तान बीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई ओबर परियोजनाले नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । त्यसैले पाकिस्तान चीन आर्थिक कोरिडरलाई ‘गेम चेन्जर’को रुपमा व्याख्या गरिदै आएको छ ।
सन् २०५० सम्ममा चीनको अर्थतन्त्र साढे ५८ हजार अर्ब अमेरिकी डलर पुग्नेछ । यससँगै चीन विश्वको पहिलो अर्थतन्त्र हुने अनुमान गरिँदैछ । सन् २०१० मा चीनको कुल ग्राहस्थ उत्पादन ५ हजार ७ सय अर्ब अमेरिकी डलर छ । त्यसबाट पाकिस्तानको पनि आर्थिक अवस्थामा व्यापाक सुधार आउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले ५ प्रतिशतभन्दा बढी हुने अपेक्षा लिएको छ । सन् २०५० सम्ममा अहिलेको ९ खर्ब ८८ अर्ब अमेरिकी डलर रहेको पाकिस्तानी अर्थतन्त्र ४ हजार २ सय अर्बको हुने अनुमान गरिएको छ ।
करिडरको पूर्वाधार निर्माण परियोजनामा १५ वर्षमा ७ लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने र कुल गार्हस्थ उत्पादनमा साढे २ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।
नेपालका कतिपय सामारिक मामिलका विज्ञहरुले समेत नेपालका लागि पनि यो समुन्द्रसम्मको वैकल्पिक मार्ग हुने ठानेका छन् । उत्तर पश्चिमको हिल्सा वा टिङ्कर भञ्जाङ हुँदै त्यहाँसम्म पुग्न सकिने उनीहरुको जिकिर छ ।
ग्वादर बन्दगाह मात्रै नभएर चीनले बंगलादेश र श्रीलंकामा पनि बन्दरगाह बनाउँदैछ । जसलाई आफ्नो प्रभाव क्षेत्रभित्र ठान्ने हिन्द महासागरमा भारतीय प्रभावलाई चुनौती थप्ने ठानिएको छ । त्यसैले बलुचिस्तानमा हुने तनावले पूरै क्षेत्र प्रभावित हुनेछ ।
बलुचिस्तान र नेपाल
भौगोलिक रुपमा नेपालबाट निकै पर भए पनि बलुचिस्तान संकटको बाछिटा नेपालमा समेत आइपुग्ने गरेको छ । त्यसको उदाहरण हो, चार महिनाअघि नेपालबाट हराएका पाकिस्तानी सेनाका पूर्व कर्णेल । मोहम्मद हबिब जाहिर नेपालबाट हराएको घटनासँगै भारत र पाकिस्तानबीच नयाँ चरणको आरोप–प्रत्यारोप सुरु भएको थियो । इस्लामावादले हबिबलाई सौदाबाजीका लागि भारतीय गुप्तचर संस्था ’रअ’ ले नेपालभित्रबाट अपहरण गरेको आरोप लगाएको छ । इस्लामावादले काठमाडौँ मात्रै नभएर हबिबको अवस्था बारेमा दिल्लीसँग औपचारिक रुपमा जानकारी मागेको छ तर भारतीय पक्षले त्यसमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ ।
नेपाली सञ्चार माध्यमको चासोभित्र नपरेका हबिबको बारेमा भारत र पाकिस्तानमा भने सनसनीपूर्ण समाचारहरु आउने गरेका छन् ।
हबिबको अपहरणलाई जासुसीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक कुलभूषण जादवसँग जोडेर हेर्नेहरुको पनि कमी छैन । इरानमा व्यापार गर्दै आएका भनिएका जादवमाथि छल गरेर आईएसआईको टोलीले अपरहण गरेको आरोप भारतीय पक्षको छ । पाकिस्तानले भने भारतीय नौसेनाका पूर्व अधिकृत जादव बलुचिस्तानबाट पक्राउ परेको र अपराध कबुलिसकेको जनाएको छ । उनीमाथि विभिन्न समयमा बलुचिस्तानमा भएको आक्रमणका लागि आवश्यक पर्ने सामग्री आपूर्ति गरेको आरोप छ । हबिब बेपत्ता भएपछि दुई वर्षअघि प्रकाउ परेका जादवलाई पाकिस्तानी सैनिक अदालतले मृत्युदण्ड दिने निर्णय सुनाएको थियो ।  यो पूरै घटनाक्रमसँगै बलुचिस्तानको विषयमा नेपाल पनि मुछिएको हो ।
 

 

Leave A Comment