रोहित राई/ धरान
एक समय थियो, धरानमा हप्तैपिच्छे जसो डान्स पार्टी आयोजना हुन्थ्यो । डान्स पार्टीको लहर यस्तो थियो कि जुनसुकै अवसरमा पनि धरानमा डान्स पार्टी भइहाल्थ्यो । न्यु इयर इभ, न्यु इयर, क्रिसमस पार्टी, फ्रेण्डसिप डे, होली, भ्यालेन्टाइन डे, दशैंतिहार पार्टी, हलोइन नाइट, पिस पार्टी, मनसुन पार्टी, ब्लु एन्ड ह्वाइट, अकेजन पार्टी आदि इत्यादि । पूर्वमा सबैभन्दा धेरै डान्स पार्टी हुने सहर धरान थियो ।
डान्स पार्टी धेरै हुने भएपछि डि.जे.(डिस्क जकी) हरुको डिमान्ड बढ्ने नै भयो । डिजेइङ बिनाको डान्स पार्टी वा नाइट क्लबहरु खल्लो हुन्छ । कुनै न कुनै बहानामा हुने पार्टीमा धराने युवा मात्र होइन, पूर्वका अन्य सहरबाट पनि युवाहरु आइपुग्थे र मस्तसँग रमाउँथे, झुम्थे । जति धेरै डान्स पार्टी हुन्छ, डिजेहरु पनि व्यस्त थिए । धरानमा मात्र होइन, आधुनिकतातिर लम्कदै गरेको विराटनगर, इटहरी, दमक, उर्लाबारीतिर पनि डान्स पार्टी हुँदा धरानबाटै डिजेहरु डिजेइङ गर्न पुग्थे । डिजेइङ पेसा सुरक्षित थियो । धरानको निर्वाणा कन्ट्री क्लब, स्विमिङ पुल, हुक्पा चोङवाङ रिसोर्ट, ब्रिटिस कम्युनिटी हल, सैनिक भवन प्रायः डान्स पार्टीले प्याक हुन्थ्यो ।
हिजोआज भने धरानमा शून्यता छाएको छ । हरेक हप्ता वा महिनामा हुने डान्स पार्टी विगतमा जस्तो हुँदैन । डान्स पार्टी नै हुन छोडेपछि डिजे पेसा नै संकटमा परेको छ । पेसा संकटमा परेपछि अधिकांश डिजेहरु पलायन भइसकेका छन् । कोही विदेशतिर छन्, कोही धरानमा भएर पनि अन्य पेसा व्यवसायमा संलग्न छन् । डिजे पेसा संकटमा पर्न थालेपछि करिब चार वर्षअघि (२०७० मा) धरान डिजे एसोसिएशन गठन नभएको पनि होइन, तर पेसाबाट पलायन हुने क्रम रोकिएन । पेसा संकटले डिजेहरु नै पलायन हुन बाध्य भएपछि एसोसिएसनले पनि काम गर्न सकेन ।
डिजेहरुका अनुसार समाज, प्रहरी प्रशासनले डान्स पार्टी र डिजे पेसालाई सहज रुपमा स्वीकार नगर्दा पेसा नै संकटमा परेको हो । कोलाहल मच्चाएको र छोराछोरी बिगारेको भन्दै समाज, अभिभावक र प्रहरी प्रशासनले कतिपय भेन्यु (स्थान)मा अचेल डान्स पार्टी आयोजना गर्न नै दिँदैनन् । स्थान अभाव र प्रहरी प्रशासनको कडाइले इभेन्ट म्यानेजमेन्टहरु नभएपछि त्यसको असर डिजेहरुलाई प¥यो । ‘पहिला हप्तापिच्छे डान्स पार्टी हुन्थ्यो, अहिले त डान्स पार्टी गर्ने भेन्यु (ठाउँ) नै पाइँदैन, त्यसैले धरानमा हुने पार्टी पनि अन्य सहरतिर सरिरहेको छ,’ ४ वर्षअघि एसोसिएसन गठनका पहलकर्तामध्ये एक डिजे बाबाले भने, ‘पार्टी नभएपछि पेसा संकटमा प¥यो, समाज र प्रहरी प्रशासनबाट ड्रग्स खाँदा पनि नपाइने गालीगलौज पाइन्छ, सधैँ नेगेटिभ व्यवहार भएपछि टिक्नै गाह्रो ।’ उनका अनुसार गत होलीमा पार्टी भएयता धरानमा एउटा पनि डान्स पार्टी हुन सकेको छैन । धरानमा हुने भनेको कट्टु पार्टी इटहरी स¥यो भने जिंकको टुर पार्टी पनि धरानमा रद्द भयो ।
धरानमा ४ वर्षअघिसम्म एक दर्जन जति डिजेहरु सक्रिय थिए । धरानका पहिलो डिजे मिराक हुन् । उनी अस्ट्रेलिया पुगेका छन् । अन्य डिजेहरुमा डिजे सुबो, डिजे लाक्पा, डिजे डि.याक्खा, डिजे स्याडो, डिजे ललित, डिजे बाबा, डिजे एन्भिस, डिजे सम्पत, डिजे म्याक्स, डिजे नब्स लगायत कति विदेशिएका छन् भने कति डिजेइङबाट टाढिएका छन् । हाल व्यावसायिक रुपमा डिजेइङमा डिजे ललित र डिजे बाबा मात्र छन् । उनीहरु पनि आफ्नै क्लब भएकाले पेसामा टिकेका हुन् । डिजे ललितको धरान ९ बगैँचा लाइनमा फ्युजन क्लब र बाबाको पुतलीलाइनमा क्लब डोम छ । क्लबमा लगानी नभएको भए डिजे पेसाबाट पलायन भइसक्ने उनीहरु बताउँछन् । हरेक शुक्रबार क्लबले पार्टी आयोजना गर्छ । नयाँ पुस्ताका डिजेहरु पनि छन्, तर उनीहरु बेसिक कोर्स गर्दैछन् र क्लबमा सघाउँछन् । ‘आउट डोर पार्टीहरु त ठप्पै छ, पार्टी नै नभएपछि डिजेहरु बेरोजगार छन्,’ डिजे ललित भन्छन्, ‘नाइट क्लबमा पनि प्रहरी प्रशासनले १० बजे नै बन्द गराउँछ, अनि यो पेसामा कसरी टिक्नु ?’
जानकारहरुका अनुसार धरानमा करिब डेढ दसक अघिदेखि डान्स पार्टी र डिजेइङ हुन थालेको हो । पूर्वमा सबैभन्दा बढी डान्स पार्टी हुने ठाउँ धरान नै थियो । पार्टी अथवा नाइट क्लबहरुमा क्राउड(सहभागी)को मनोभावना बुझेर उनीहरुलाई गीत, संगीतमा झुलाउन सक्नु नै डिजेको कला हो । तर, अभिभावक, समाज र प्रशासनले डिजे पेसालाई नबुझिदिँदा पलायन हुनुपरेको गुनासो गर्छन्, डिजे ललित । ‘डिजेइङ पनि पेसा हो, बाँच्ने आधार हो । यो कलालाई युवा पुस्ताले पेसाका रुपमा अपनाउन सक्छन् । यसमा गलत के छ ? बुझेर मात्र प्रहरी प्रशासनले कडाइ गर्नुपर्छ,’ डिजे ललित भन्छन् । समाज, प्रहरी प्रशासनले डान्स पार्टी र डिजेप्रति नकरात्मक रुपमा हेर्ने धारणामा परिवर्तन हुनुपर्ने उनी बताउँछन् ।
Leave A Comment