आऊ–नआऊ तिम्रो खुसी

मङ्गलबार, ०६ भदौ २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
आऊ–नआऊ तिम्रो खुसी

विजय सिवाकोटी
गीत, कविता र चित्रमा जिन्दगीमा जिउन छुटेका क्षणहरु भेटिन्छन्, जिन्दगीमा नहाँसेका खुसीहरु प्राप्त हुन्छन् र जिन्दगीमा पाउन नसकेको प्रेमका झलकहरु   मिल्छन् । यथार्थमा शिशिरको याम हुँदा गीतभित्र फूल फुल्छ, यथार्थमा औँसीको रात हुँदा गीतभित्र टहटह जून लाग्छन् । यथार्थमा बिछोड भए पनि गीतमा मिलन हुन्छ ।    
साहित्य, संगीतको नशा लागेपछि छुट्ने कुनै उपाय छैन । अरु नशाका व्यसनीहरुलाई सुधार गृहमा राखेर नशा छुटाउन सकिन्छ । गीत, संगीत, कला र साहित्यको नशा लागेपछि केही गरी छुट्दैन । पछिल्लो नशाको अम्मली म पनि हुँ । मलाई साथीहरु सोध्छन्– तँ किन पिउँदैनस् ? असली नशा भेटेपछि, नक्कली नशाको के अर्थ ? म सानैदेखी गीत, कविता, साहित्यको नशामा रमाउँदै आएँ । त्यसैले रक्सीको नशामा मलाई मजा लाग्दैन ।

विश्व इतिहासमा जति  पनि गीत, कविता लेखिए, प्रेमलाई नै विषयवस्तु बनाएर लेखिए । विश्व प्रसिद्ध गायक जोन लेनन, माइकल ज्याक्सन जो आफैँमा पनि उत्तिकै पोख्त गीतकार थिए– उनीहरुदेखि लिएर, भारतका महान गीतकारहरु, गुल्जार, साहिर लुधियानवीदेखि नेपालका एकसे एक गीतकारहरु तथा नयाँ पिँढीका लेख्न सिक्दै गरेका गीतकारहरुले लेखनको विषय मूलतः प्रेमलाई नै बनाएका छन् । अठारौँ शताब्दीका मिर्जा गालीब, जसलाई पछिल्ला शताब्दीकै प्रसिद्ध गीतकारहरुले आदर्श मान्छन्, उनीहरु पनि लेखनमा प्रेमबाट अलग्ग रहन सकेका छैनन् । यी सबै सर्जक नमनीय छन् । सबैले आफ्नो आफ्नो किसिमले  लाखौंं श्रोता एवं पाठकहरुलाई लठ्ठ बनाएका छन् । उनीहरुका सिर्जना एकान्तमा साथी बनेका छन्, मन भुलाउने आधार बनेका छन् । यसर्थ ती गीतहरु स्वभावतः गुनगुनाइन्छन्, गाइन्छन् ।
म आफैँ पनि गीतकार भएकाले खोजी खोजी गीतहरु सुन्छु, शब्दहरुमा हराउँछु । शब्द छनोट र प्रस्तुतिले मलाई तानेपछि, त्यस गीतबाट उम्किन गाह्रो हुन्छ । उम्किने चाहना पनि हुँदैन, त्यो मस्ती, त्यो मादकता अनि त्यो कल्पनाभित्रको पनि कल्पनाको संसारलाई छोडेर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय धेरै गीतकारका शब्दहरुले  म बाँन्धिन्छु र फेरि त्यो बन्धनबाट स्वतन्त्र हुन्छु तर किरण खरेल को ‘आऊ नआउ, तिम्रो खुसी’बाट म कहिल्यै पनि मुक्त हुन सकिनँ । यो गीत मैले किशोर अवस्थामा पहिलो चोटि सुनेदेखि अहिलेसम्म बाँधिएको बाँधिएकै छु । उमेरसँगै जतिजति परिपक्वता बढ्दै  गयो, यस गीत नयाँ–नयाँ र गहन अर्थ निकाल्दै गएँ र म झन् बाँधिदै गएँ, भावनाको गहनताको मजा लिँदै गएँ । प्रेमगीतको हिसाबबाट यो गीतको लेखन बेहिसाब छ, अनमोल छ । यो गीत लेखनको अवधिभरि किरण खरेल वस्तुत थिएनन्, मात्र गीत थियो । अर्थात् समग्र रुपमा उनी गीतमा रुपान्तरित थिए । प्रेम भावनाको प्रस्तुतिमा यसको बराबरीमा सायदै कुनै गीत छ, शायदै लेखिनेछ । म आफैँ पनि चुकेँ । प्रेमगीतमा वस्तुत प्रेम अभिव्यक्त भएको गीत अरु कुनै छैन । अरु गीतहरुमा प्रेमसँगै, अन्य अप्रेमहरु पनि मिसिएर आएको छ– ईष्र्या, जलन, असन्तुष्टि, यौन आदि । प्रेमिका प्रतिको दुराशय र लान्छना प्रेमीको अभिव्यक्ति हुन सक्दैन । तैँले मलाई धोका दिइस्, तँ निष्ठुरी, तँलाई पनि  कसैले धोका देला, म पनि हेरौँला, मैलेजस्तै तैँले पनि रुनु पर्ला आदि मनका क्लेसहरु अन्य गीतमा भेटिन्छन् । ती गीतहरु प्रेमगीत कि ईष्र्या गीत ? असली प्रेमीको प्रेमिकाप्रति कुनै दुर्भावना नै हुँदैन । यो सम्बन्धमा कुनै अपेक्षा नै हुँदैन ।  कुनै माग हुँदैन अर्थात् कुनै जोडघटाउ हुँदैन र प्रेमीले प्रेमिकालाई शर्तको साङ्लाले बाँध्दैन । प्रेमको आकाशमा पंख फिँजाई स्वच्छन्द रुपले उड्न आफू बाधा बन्दैन । यतिसम्म कि आफू र आफ्नो प्रेमिकाको बीचमा आफैँलाई पनि आउन दिँदैन । यिनै भावनाहरु किरणको यस गीतमा भेटिन्छन् । उनी मगन्ते प्रेमीहरुभन्दा पृथक् छन् ।  
आऊ नआऊ तिम्रो खुसी, म त सधैं पर्खिरहुँला
आए पनि हेरिरहुँला, गए पनि हेरिरहुँला

प्रेमिकाबाट कुनै प्राप्तिको लालसा छैन, शब्दमा कतै देहवासना  छैन, मात्र हृदय छ । प्रेमी किरण भन्छन्, ‘प्रतीक्षाको बहानामा मेरो केही आभिप्सा छैन, पर्खिन्छु यो कारणले कि कदाचित तिमीलाई मकहाँँ आउने इच्छा भयो भने यस्तो नहोस् कि तिमी आउँदा म नभेटिऊँ ।’
कहिलेकाहीँ दृष्टि पनि म्वाईभन्दा प्यारो हुन्छ
कहिलेकाहीँ छायाँ पनि मायाभन्दा न्यानो हुन्छ
तिम्रो बाटो छेक्दिन म देख्नै मात्रा पाए पुग्छ

मात्र प्रेमिकाको हेराइ र छायालाई प्राप्ति ठान्ने किरणले प्रेमको सार नै अपेक्षारहित  हुनुमा छ भनेर निसन्देह इंगित गरेका छन् । त्यहाँ कुनै जबर्जस्ती छैन । कुनै दबाब छैन । कुनै आशा नराखी प्रेमिकाबाट, प्रेमिकालाई वास्तवमै प्रेम गरेका छन् ।
वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने छैन
जिन्दगीमा सबले बाजी जित्नै पर्छ भन्ने छैन
तिम्रो जीत खोस्दिनँ म
हार्नै मात्र पाए पुग्छ

प्रेममा जस्तो अवस्था आउँछ, स्वीकार भाव व्यक्त गरेका छन्, गीतकारले । अनुकूल या  प्रतिकूल जस्तोसुकैलाई स्वीकार्य ठानेका छन् । यो वास्तवमा प्रेमको त्यो अवस्था हो, जहाँ जो कोही बिरलै पुग्छन् । यस अर्थमा किरण भाग्यमानी छन् ।
प्रेम अहंकारशून्य अवस्था हो । प्रेमपूर्वक आफू हार्न तयार हुनु र आफूले प्रेम गरेको व्यक्तिको जीतमा आल्हादित हुनु प्रेमको त्यो उचाइ हो, जुन उचाइ हासिल गर्न झुक्नै पर्छ । उनले हार्न तयार हुनु नै उनको जीत हो । यो विरोधाभास अत्यन्त प्रीतिकर छ ।
दुनियाँले प्रेमीलाई भिखारीका रुपमा देखेको छ, किरणलाई जस्तो सम्राटको रुपमा देखेका छैन । यस अर्थमा केही नमागी गीतकारले, लिई नसक्नु पाएका छन्– त्यो सम्पदा हो प्रेममा हुनुको आनन्द ।

 

Leave A Comment