चोरी नियन्त्रणका फ्लप मोडल

बिहिबार, १५ भदौ २०७४, १० : ३० शुक्रवार , Kathmandu
चोरी नियन्त्रणका फ्लप मोडल

दसैँ संघारमा छ । त्यसैले राजधानी काठमाडौँ लगायतका सहरबजारमा चहलपहल स्वाभाविक बन्दैछ । किनमेल, यात्राका कुरामा नेपाली भुलिन थालेका छन् । यसैबीच चोरी, लुटपाट, ठगीका धन्दा पनि चर्चामा छन् । प्रत्येक वर्ष दसैँअघि चोरी, लुटपाट र पकेटमारी बढ्छ । दसैँतिहार भनेको पैसाको खोलो बग्ने चाडपर्व हुन् । यही मौकामा चोर तथा लुटेरा अझ बढी सक्रिय हुन्छन् र बर्सेनि हजारौं नागरिकको बिचल्ली पार्छन् ।
बर्सेनि यस्ता घटना बढिरहेको तथ्य प्रहरी प्रशासनसँग छ । प्रहरी–प्रशासनसँग चोर, लुटेरा, गुण्डा लगायत आपराधिक वृत्तिमा लागेका मानिसबारे फेहरिस्त रेकर्ड हुन्छ । उनीहरूबारे यथेष्ट जानकारी प्रहरीले राखेको हुन्छ  । त्यैपनि यस्ता घटनामा कमी आएको पाइँदैन, सुनिदैन । काठमाडौँमै पछिल्लो समय चोरी ह्वात्तै बढेको छ । कतिसम्म भने भूकम्पले क्षतिग्रस्त इलाका चोरका लागि लाभकारी देखिएको छ । सहरका असन, इन्द्रचोकजस्ता घनाबस्ती अहिलेको अवस्थामा पनि चोरका लागि स्वर्ग बनेका छन् । भत्किएका घरमा मानिस बस्दैनन्, त्यस्ता घरभित्र कतिपय बहुमूल्य सामान राखिएको र त्यो हात पार्ने चोरहरुको चाउ नै मुख्य कारण हो । त्यस्तै, कतिपय स्थानमा नयाँ घरका संरचना बनेका छन् । पिलर ठडिएका छन् । ४/५ तला ढलान भएको छ तर पर्खाल कोठाचोटा बनेका छैनन् । चोरका लागि नयाँ संरचना पुराना घरहरूमा पसेर चोरी गर्ने माध्यम बनेको छ । बाक्लो बस्तीमा चोरहरूको यो शैलीबाट काठमाडौँका बासिन्दा अहिले आक्रान्त छन् ।
चोरी, लुटपाट, ठगी वर्षौंदेखिका समस्या हुन् । यो समस्याबारे प्रहरीको एकोहोरो जवाफ हुन्छ, हामीसँग पर्याप्त जनशक्ति  छैन, कानुन फितलो छ । निश्चय नै प्रहरीका आफ्ना सीमितता र समस्या छन् । कानुन कार्यान्वयमा समस्या छन् तर के प्रहरी जिम्मेवार भएर चोरी नियन्त्रण गर्न लागिपरेको छ त ? प्रश्नहरू अनुत्तरित छन् । हाम्रो सुरक्षा व्यवस्थामाथि एकैसाथ धेरै प्रश्न उठ्छन् । प्रचारमुखी प्रहरीतन्त्र र सबै समस्याका पछाडि कानुनका कमजोरी र जनशक्ति अभाव देखाएर पन्छने कार्यशैली आलोच्य विषय हो । बर्सेनि कतिवटा चोरी, डकैतीका घटना भए र त्यसमा प्रहरी कुन हदसम्म सफल भयो ? घटनाको रेकर्ड राख्नु, विवरण संकलन गर्नु एउटा कुरा हो तर जनताको समस्यामा प्रहरीले कति सार्थक काम ग¥यो, त्यसबाट क्षमताको परख हुने हो । यस मामलामा प्रहरी सफल छैन । उसको वर्गीय चरित्रको कार्यशैली पनि यसमा दोषी देखिन्छ । चोरीका घटनाको बिगो दस लाखभन्दा बढी भयो भने प्रहरीको बेग्लै संयन्त्रले खोजी गर्छ, त्योभन्दा कम भयो भने बेग्लै । पैसाको आधारमा प्रहरीको प्राथमिकता फरक पर्नु दुर्भाग्य हो । धेरै पैसा बराबरको चोरी ठूलाबडाकोमा हुन्छ । प्रहरीको नीति नै ठूलाबडाको सेवा गर्ने खालको देखिन्छ । मध्यम र निम्म वर्गीय परिवारमा चोरी हुँदा त्यस्ता घटना पार्ने पीडा, क्षति र दस लाख बढी चोरिएकाहरूको पीडा, क्षति उस्तै हुन्छ तर प्रहरीको व्यवहार किन फरक ?
जेललाई अचेल सुधार गृह भनिन्छ । अपराधीहरूको आचरणमा सुधार गर्ने नीतिगत व्यवस्था नेपालले अख्तियार गरेको छ, त्यसै अनुसारका नियमहरू छन् र जेलको व्यवस्थापन पनि त्यस्तै बनाउने अवधारणा बलियो हुँदै आएको छ तर ती सबै कागजमा सीमित छन् । सुधारगृहको अवधारणा अनुसार कतिपय जेलहरूको भौतिक निर्माण भएका छैनन् भने त्यहाँको प्रशासनिक सोच र सञ्चालन परम्परावादी देखिन्छ । कारगार सुधार गृहभन्दा पनि अपराधीलाई अझ परिस्कृत, पेसेवर तथा खुंखार अपराधी बनाउने काममा तल्लिन भएको अनुभव हुन्छ । चोर जेल परेपछि फेरि सोही धन्दामा लाग्ने गरी फर्केको हुन्छ । अपहरणकारी अझ ठूलो नेटवर्क बनाएर फर्किएको पाइन्छ । यस्तो अवस्थामा चोरी, अपराध प्रवृत्ति नियन्त्रण आफैँमा चुनौतीपुर्ण छ । जेललाई सुधारगृहको अवधारणामा लग्न सकेको अवस्थामा चोरीजस्ता आपराधिक प्रवृत्ति  आफैँ नियन्त्रित र निस्तेजित हुँदै जाने निश्चित छ । त्यसका लागि जेल खाली हुँदै गरेका डेनमार्क, नेदरल्यान्डजस्ता देश र ती देशका वरिपरिका जेल, गृह प्रशासन अध्ययन गरे हाम्रो गृह तथा जेल प्रशासनलाई फाइदा हुनेछ ।

 

Leave A Comment