कृषिप्रधान, ऋषिप्रधान र सिसीप्रधान हुँदै दोभानतिर !

सोमबार, १९ भदौ २०७४, ०९ : ३२ शुक्रवार , Kathmandu
कृषिप्रधान, ऋषिप्रधान र सिसीप्रधान हुँदै दोभानतिर !

बद्रीप्रसाद  दाहाल  
प्रकृतिप्रधान, कृषिप्रधान, धर्म—संस्कृतिप्रधान र ऋषिप्रधान भनेर चिनिने हाम्रो  देश अहिले आएर प्रकृतिलाई खल्बल्याएर विकृतिप्रधान, कृषिलाई दपेटेर बेसौती—प्रधान, धर्म—संस्कृतिलाई निरपेक्ष वा वास्ता नगरेर नास्तिकता मुहान र गतिशील ऋषिमार्ग तोडेर बियर तथा मदिराका सिसी फोरेर सिसीप्रधान बनाउन माहिर भएका छौँ । विराटनगर जुट उद्योग नेपालको उद्योगको बीज बनेर देशका विभिन्न नगरलाई औद्योगिक नगरी बनाउन प्रेरक भूमिका खेल्दै थियो विडम्वना ! नयाँ नेपाल बनाउने भेलले झेल खेल गरेर ती त आप्रवासनतिर पो थन्किए  कि ? खै कता पु¥यायो कता ? नारन ! शिव ! यतिखेर त देश विप्रेषणप्रधान, भूकम्प र बाढीले राहतप्रधान तथा शासक प्रशासकले लुट्दा—चुस्दा भ्रष्टाचारप्रधान, बियर, मदिरा र ठर्रासमेतको सिसी फोर्ने हिसाबकिताबले सिसीप्रधानमा बढोत्तरी दिन दुगुना रात चौगुना पो छ त ?

पचासको दसकपछि वैदेशिक रोजगारमा जानेको संख्या ह्वात्त बढेपछि त हाम्रो देश आप्रवासप्रधान बन्यो । भूकम्पमा एघारौँ, बाढी र पहिरोमा एकतीसौँ, जलवायु परिवर्तनमा चारौँ र भ्रष्टाचारमा एक सय एकतीसौँ स्थान विश्व रेकर्ड कायम  गरेको हाम्रो चालाले यसो विचार गर्दा अस्थाइ र स्थायी बसाइँसराइँमा पनि गिनिज बुकमै नाम लेखाइन्छ जस्तो छ । साठीको दसकपछि त नेपाली महिला पनि कामका लागि विदेशका धेरै देश जान पाउने उदार नियमको आडमा विचौलिया, दलाल र मानव तस्करहरुले मज्जैले खुट्टो घुमाउन थाले भन्ने बकबासै छ । यसैले गर्दा कृषिप्रधान, सतीप्रधान,  यो देश चेलीबेटी बेचबिखनप्रधान बन्यो भनेर आधुनिक नारदमुनिहरु  सर्वत्र चर्चा गर्दछन् । अहिले  पाँच लाख चेलीहरु परायाका बेली र मख्मलीपूmल बनेर गम्भीर भुलमा बेपत्ता भएको कुराले सञ्चारमा अर्को भयावह बाढीको प्रकोप उर्लिरहेको देखिन्छ । यसरी मातृशक्ति छिरिलबिरिल भएको दुर्घटनाले त हरे दैव ! देशै मानव तस्करीप्रधान पो बन्न पुग्ने भो भनी बूढादेखि भुरासम्म खुलेआम डुग्रिरहेका छन् । हाउसमेडको दर्जा दिएर कयौँ सतीशिरोमणिहरुलाई यौनदासी बनाइने अपाच्य कुकामले पुर्खाका धरोहर कतै धमिराहरुले मक्याउन त थालेनन्, यक्ष प्रश्नहरु चटारिएका छन् । युधिष्ठिरहरु भए त राम्रै जवाफ दिन्थे होलान् ? तर दुर्योधनहरुको हाकोडाकोमा बालबालिका र कयौँ हर्हराउँदा युवासमेत बेपत्ताका सूचीमा टाँगिन पुग्दा मुटु कुटुकुटु खान थालेको छ । अझ बन्द बाकसमा दैनिक झन्नै आधा दर्जन नेपालीका शव विमानस्थल आइपुग्ने कहालीलाग्दो यथार्थले मुटु नै चिसो बनाएको छ मुटु हुने जमातको ।

अब हाम्रो कृषिप्रधानताको पक्षतिर जाऊँ— नेपालमा कुल एक चालीस लाख एक्काइस हजार हेक्टर जमिन खेतीयोग्य छ । तर विभिन्न कारणले यतिखेर तीस लाख एकानब्बे हजार हेक्टरमा मात्र खेती हुँदै आएको तथ्याङ्क भेट्टाइन्छ । यो तथ्याङ्क कति बासी तेसी हो म्यादी सरकार पनि अनाडी नै छन्, स्थायी सरकार भनेर चिनिने यहाँका अधिकांश व्यभिचारी ब्युरोक््रयाटहरुको कागजी बाघको गणितकै भणित जोड हो क्या र ! खेती गरी जीवन निर्वाह गर्ने जनसंख्या आजभन्दा चार दसकअघि एकासी प्रतिशत थियो भने अहिले साठी प्रतिशत बल्ल–बल्ल छन् । चालीसको दशकमा त देश सगौरव आफ्नो पौरखबाट उत्पादित खाद्यान्न निर्यात गर्ने मुलुकमा ठहरिन्थ्यो । आज त छिमेकी मुलुक भारतबाट नब्बे प्रतिशतभन्दा बढी कृषिजन्य वस्तु आयात हुँदै आएको छ । अब हामी कृषिप्रधान हौँ भनेर दाताका हाता र विदेशीका छातामा त्वं शरणम् हुन पनि असजिलो थिति आइसक्यो । हाल त अव्यवस्थित तीव्र सहरीकरणको हल्लाखल्लाले चल्ला पारेर खेतीयोग्य उर्वराभूमि कङ्क्रिटको बगर बनाउन सगर छुने गरी घरनिर्माण उद्योग पो चलाइरहेछन् । यही सहरीकरणको भूतले विगत दश वर्षको दौरानमा नौ प्रतिशत उर्वराभूमि इति तसत् भएछ । पूर्वाधारै नभएका गरिब गाउँलाई नगरपालिकाको विशेषण भिराएर करको भार थपी तलब भत्ता मारामार कमाउन नयाँ पालिकापतिहरुको दाउमा माउ वा शीर्ष भनिनेहरुले हदैसम्म गुदद्वारमा औँलो हाली उचालेको कुरा दिन जत्तिकै छर्लङ्ग छ ।

उता लाहुरे र लाहुर्नी बन्न न्याउरे, चाउरे, फ्याउरे तथा दाउरी भुन्टी र गुन्टी पराइदेश हानिएपछि वा युवा ऊर्जाले पुर्जा लिएपछि थप पच्चीस प्रतिशत खेतीयोग्य जमिन बाँझिएर नाङ्गिएका छन् । प्रकृतिप्रधान, कृषिप्रधान, धर्म—संस्कति— कलाप्रधान, ऋषिप्रधान हाम्रो देश सबैतिर पुल्टुङबाजी खाएर विकृतिप्रधान, कृषिदेखि उद्योगसम्मका कुनै पनि सामग्री उत्पादन गर्न नसक्ने अनुत्पादनप्रधान, मासु र सिसी भकुर्न र ठाडो घाँटी लगाउन महान् छ ।
यसैले यतिखेरको हाम्रो यात्रा सबैतिरबाट अप्रधान हुँदै दोभानतिर हुँइकिनुसिवाय केही छैन । त्यसैले त प्रकृति, कृषि, ऋषि, कला—संस्कृति—धर्मको प्रधान वा धराधामको स्वर्ग भएको देशमा भयंकारी सङ्कट आएको छ । खबरदार ! अब कृषिप्रधानको बाजा नबजाऊ ! प्रकृतिप्रधानको ढोलक नपिट ! ऋषिप्रधानको आदर्शको नर्सिङ्गा नफुक !

 

Leave A Comment