दौडाएरै समाजसेवा

आइतबार, २५ भदौ २०७४, ०१ : १६ शुक्रवार , Kathmandu
दौडाएरै समाजसेवा

रोहित राई/ धरान
बेलायतको लन्डनमा प्रत्येक साताको आइतबार पार्क रन हुन्छ । लण्डनबासीहरु आफू निरोगी तथा स्वस्थ रहन आइतबार सामूहिकरुपमा पार्क रन कार्यक्रममा दौडने गर्छन् । पार्क रनमा निरन्तर दौडनेमा धरानका युवा सन्तोष राई पनि पर्छन् । उनी बेलायत छँदै धरानमा रहेका अधिकांश परिवारजन, नातेदार र छिमेकीहरु सुगर, प्रेसर, डाइबिटिजलगायत रोगहरुबाट पीडित भएको सुने । उनलाई लाग्यो, पार्क रनजस्तै दौडने कार्यक्रम धरानमा पनि आवश्यक छ । रोग लागेर उपचारमा भौतारिनु भन्दा त लाग्नै नदिनु बेश !
उनी केही दिनको बिदा लिएर धरान आए । आफ्ना केही साथीभाइको सहयोगमा सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ प्रारम्भ गरे । धरान ८ स्थित यलम्बर सामुदायिक पार्कबाट दौड सुरु भएर तीनकुनेस्थित श्रीजंगा शालिक परिक्रमा गर्दै पुनः पार्कमा आएर दौड टुंगिने कार्यक्रम बन्यो । ३.५ किलोमिटर दुरी दौडने पहिलो साता २७ जना मात्र थिए । सीमित संख्याबाट सुरु भएको धरान रनमा हिजोआज प्रत्येक साता ५ सय बढी संख्यामा दौडन्छन् । हालसम्म ३ सय ३० हप्ता दौड भइसकेको भने ९ हजार ५ सय सदस्य भइसकेका छन् । प्रत्येक साता कम्तीमा पनि ५ सय दौडन्छन् । दौडमा केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबै उमेर समूहका हुन्छन् । बिहान ठीक ७ बजे दौड हुन्छ । झरी, पुसमाघको जाडो, दसैँतिहार कुनै दिन पनि यो दौड रोकिएको छैन । भाइटीकाको दिनमा पनि युवाहरु दौडिएको कीर्तिमान बनेको छ । धरान रनकै पहल र उत्प्रेरणाले झापाको दमकमा ‘दमक रन’ र पोखरामा ‘बि १३ रन’ पनि सुरु भइसकेको  छ ।
धरान रनको उद्देश्य समाजलाई सुन्दर, स्वच्छ र स्वास्थ्य बनाउनु हो । यसको लागि दौड माध्यम हो तर धरान रन शनिबार दौड गराउनुमा मात्रै सीमित छैन । ‘स्वस्थ शरीर र स्वच्छ धरान’को नारा दिएर ६ वर्षअघि प्रारम्भ भएको धरान रन कार्यक्रम अहिले समाजसेवामा एउटा वृहत् अभियान भइसकेको छ । समाजसेवा गर्न धेरै धनसम्पत्ति हुनुपर्छ अथवा नेता, व्यापारी नै हुनुपर्छ भन्ने छैन । समाजसेवा गर्ने अनेक तरिका हुन्छन् । चाहिन्छ त केवल अठोट, इमान्दारी र सोच । जुन धरान रनले सबैको अघि नमूना बनेर देखाइरहेको छ । ‘धरान रन शरीरमा रोग लाग्नै नदिन दौडनुपर्छ भन्ने जनचेतनामुखी अभियान हो, तर हामी दौड कार्यक्रममा मात्र सीमित छैनौँ,’ धरान रनका वर्तमान अध्यक्ष रमु राई भन्छन्, ‘दौडको माध्यमबाट नै असहाय, अशक्त, निम्न आर्थिक अवस्था भएका र समाजमा पिछडिएका व्यक्तिहरुलाई सहयोग पनि गरिरहेका छौँ ।’
अध्यक्ष राईको कुरा सुन्दा लाग्न सक्छ, दौडिएर स्वास्थ्यबाहेक के फाइदा पुग्छ र ? तर धरान रनले दौड कार्यक्रम गरेर समाजमा सेवा पु¥याएको फेहरिस्त हेर्ने हो भने निक्कै लामो छ । धरान रनले दुवै हात र खुटा नभएका भोजुपरका बालक सञ्जीव राईलाई २ लाख ५० हजारको अक्षय कोष स्थापना गरिदिएको छ । पाँच वर्षयता बर्सेनि धरान रन, नेवा च्यारिटी ८ किमी रन आयोजना गरिरहेको छ । पछिल्लो पटक गत वर्षको पाँचौँ संस्करणमा दुई हजारभन्दा बढीले यो दौड प्रतियोगितामा भाग लिएका थिए । सहभागी संख्याले सम्भवतः यो नेपालकै ठूलो दौड हो । यो दौड प्रतियोगिताका सहभागीबाट लिइने दर्ता शुल्कबाट खर्च कटाएर बचेको रकम बर्सेनि सेवामा खर्च भइरहेको छ । आगामी फागुनमा हुने ८ किमी रनको तयारी सुरु भइसकेको छ । यो वर्ष २ हजार ५ सयलाई दौडाउने लक्ष्य छ ।
प्रथम संस्करणबाट संकलित रकम शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ धरान रनले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको थियो । यस कोषमा किरात राई यायोक्खा सुनसरीले रकम थप गरेर ४ लाख पुर्याइदिएको छ । यस्तै, दोस्रो संस्करणबाट बचेको रकमले संक्रमित दुव्र्यसनी महिलाहरुको निम्ति दृष्टि नेपाल संस्थाको ह्यापी होमका लागि एक लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो । तेस्रो संस्करणबाट धरान पोजिटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि धरान रनले १ लाख ५० हजार प्रदान ग¥यो । त्यसैमा बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले ५० हजार थपेर २ लाखको अक्षय कोष खडा गरिएको थियो । चौथो संस्करणबाट एकल महिला समूहको छहारी निर्माण, मुटु रोगी मिठु कटवाल, मृगौला रोगी प्रमिला बिक, क्यान्सरपीडित बालक नवीन बिक, अशक्त टेकबहादुर तामाङलाई गरी कुल दुई लाख सहयोग गरेको थियो ।
गत वर्षको पाँचौँ संस्करणमा उठेको २ लाख ५० हजारबाट धरान रनले नेवा च्यारिटी एजुकेसन फन्ड स्थापना गरिएको अध्यक्ष राईले बताए । उनी भन्छन्, ‘बालबालिकाहरु खर्च अभावले गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेवा च्यारिटी एजुकेसन फण्ड बनाएका छांँ, बर्सेनि ८ किमी रनको मुनाफा यही फन्डमा जम्मा गरेर वृद्धि गर्दै लैजान्छौँ ।’ हाल यस अक्षय कोषबाट सामुदायिक विद्यालयका मनिता घतानी, मतिराज राई, एलिसा क्षेत्री र क्रिस क्षेत्रीले सहयोग पाइरहेको छ । उनीहरुको भर्ना एवं वार्षिक शुल्क, शैक्षिक सामग्री, पोशाकलगायत सबै खर्च फन्डले उपलब्ध गराइरहेको छ । २०७२ वैशाख १२ को महाभूकम्पका पीडितहरुलाई राहत लिएर धरान रन नुवाकोट पुगेको थियो ।
धरान रनका संस्थापक सन्तोष राईले आफ्नी छोरी नेवाको नाममा नेवा च्यारिटी स्थापना  गरेका छन् । यो च्यारिटीले बेलायतबाट धरान रन र ८ किमी रनलाई सहयोग गर्छ । भानुचोकमा धरान रन सप र कोल्ड ड्रिक्स पसल पनि सञ्चालनमा छ । त्यहाँ युके, हङकङलगायत मुलुकबाट प्रयोग गरिसकेका तर राम्रा कपडा संकलन गरेर संस्थापक अध्यक्ष राईले पठाइदिन्छन् । ती कपडा सुलभ मूल्यमा बिक्री गरेर उक्त रकम शनिबार हुने धरान रनको व्यवस्थापनसँगै असहाय, अशक्तको सहयोगमा खर्च हुन्छ । कोल्ड ड्रिंक्स, बिस्कुट, चाउचाउ लगायतको बिक्रीबाट आएको मुनाफा पनि सहयोगमा नै उपयोग हुन्छ ।
धरान रनको महत्वपूर्ण अर्को पाटो भनेको यसमा सबै युवा नेतृत्व छ । सामाजिक गतिविधिहरुमा युवाहरुलाई आकर्षित पनि गरिरहेको छ । कुनै संघसंस्थाले धरानमा कार्यक्रम गर्न लागेमा धरान रनका स्वयंसेवकहरुसँग सहयोग माग्ने गरेको छ । यहाँ स्वस्फूर्त रुपमा स्वयंसेवा गर्न सय जना युवा जोडिएका छन् । धरानमा हुने अधिकांश सामाजिक, खेलकुद, रक्तदान, चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय सहभागिता रहन्छ । ‘धरान रनले समाजसेवा मात्र गरेको छैन, युवाहरुलाई गलत बाटोमा जान नदिई सही बाटोमा हिँड्न मार्गदर्शन पनि गरिरहेको छ । यो वास्तवमै उदाहरणीय काम भएको छ,’ महिला सञ्जाल धरानकी उपाध्यक्ष सविता राई भन्छिन् ।

Leave A Comment