‘सायाबुङ’ तयार

सोमबार, २६ भदौ २०७४, ०९ : ३७ शुक्रवार
‘सायाबुङ’ तयार

गिरिराज बाँस्कोटा/पाँचथर
उच्च पहाडी भेगमा राई जातिको परम्परागत जीवनशैलीमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘सायाबुङ’ (शीरफूल) प्रदर्शनका लागि तयार भएको छ । पाँचथर सदरमुकाम फिदिममा चलचित्रको ट्रेलर हालै सार्वजनिक गरियो ।
चलचित्र निर्माण सम्पन्न भएकाले असोज १ गते फिदिममा च्यारिटी सो गर्ने निर्देशक भगिराज राईले जानकारी दिए । फालेलुङ गाउँपालिकाका पहिरोपीडितलाई सहयोग गर्ने गरी चलचित्र देखाउन लागिएको छ । फिल्मले पराम्परा र आधुनिकता जोड्ने प्रयास गरेको र एउटा राम्रो सांस्कृतिक चलचित्र बन्न पुगेको राईले बताए ।
परम्परागत गोठ संस्कृति चलचित्रको मुख्य विषय हो । राईहरूको संस्कृतिमा आधारित भए पनि यो नेपाली भाषामा बनाइएको छ । चलचित्र तयार गर्न ६ महिना लागेको बताइएको छ । साकेला नाचबाट सुरु भएको प्रेम र त्यसपछि हुने विवाह फिल्मको सेतु भएको जानकारी निर्देशक राईले जनाए ।
चलचित्र इस्ट कास्ट क्रिएसनको ब्यानरमा तयार भएको हो भने सम्झना राई र साया राईले कथा लेखेका छन् । मदन दुर्मी राई, सगुन सुसारा, निशा राई, साया राई, सौजन सुब्बा, दर्पन राई, ज्ञानवहादुर राई, उमेश राई लागयतको अभिनय रहेको यस चलचित्रको छायाँकन तथा सम्पादन देवजंग थापाले गरेका हुन् ।  
पाँचथरको उच्च पहाडी क्षेत्रमा छायाँकन गरिएको छ । पाँचथरको सिदिन, फालेलुङ, सन्दकपुर, फिदिम, लोब्रेकुटी तथा झापाको बिर्तामोड र काठमाडौँका दृश्य चलचित्रमा हेर्न पाइनेछ ।

 

Leave A Comment