राइजिङ स्टार ग्रान्ड फिनालेको तयारी

मङ्गलबार, ०३ असोज २०७४, ०१ : २७ शुक्रवार
राइजिङ स्टार ग्रान्ड फिनालेको तयारी

गिरिराज बाँस्कोटा/पाँचथर
पूर्वी पहाडी जिल्लामा लुकेर रहेका नयाँ प्रतिभाहरुको खोजी गरी अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित राइजिङ स्टार–२ को अन्तिम छनोटको तयारी भएको छ । गायन र नृत्यका प्रतिभा खोजी अवसर दिने योजनासहित सात महिना अघिबाट सुरु भएको स्टारको ग्रान्ड फिनालेको तयारी भएको छ ।
पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमका प्रतिभाको छनोट गर्ने गरी गत पुसदेखि दोस्रो राइजिङ स्टार कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । पुसमा फिदिमबाट सुरु भएको स्टारमा पाँचौँ चरणको छनोट सकिएर फाइनल राउन्डको तयारी भएको हो ।  दसैँको अवसर पारेर असोज ८ गते इलामको गजुरमुखीमा ग्रान्ड फिनाले हुने आयोजक मञ्जरी कला केन्द्र राँकेका अध्यक्ष केवल तामाङले जानकारी दिए । अन्तिम चरणका लागि गायन र नृत्यतर्फ ६÷६ जना प्रतिभाको छनोट भएका छन् । दुवै विधामा राइजिङ स्टार २ छानिने छ । अहिले छानिएका प्रतिस्पर्धीलाई विभिन्न तालिम दिइरहेको बताइएको छ ।
गीत, संगीत, नृत्यको माध्यमबाट स्थानीय पर्यटकीक क्षेत्रको प्रवद्र्धन गर्दै प्रतिभाको खोजी गर्ने कार्यक्रम सञ्चालन भएको तामाङले जानकारी दिए । पाँच चरणमा गरी दुवै विधामा उत्कृष्ट ६ जना छनोट भएका हुन् । विभिन्न ग्रामीण क्षेत्रमा पुगेर प्रतिभाको खोजी भएको हो । गाउँका प्रतिभा छान्ने गरी विभिन्न चरणका अडिसन भएका थिए ।
पहिलो चरणको छनोट चार जिल्लाका १३ स्थानमा गरिएको थियो । पहिलो चरणमा एक सय ५० जना सहभागी थिए । क्रमशः विभिन्न चरणको छनोटपछि फाइनल राउन्ड गर्न लागिएको हो । गायनतर्फ विनोद खम्बु र नरेश श्रेष्ठ तथा नृत्यतर्फ रामवीर राई र सुमन लामाले प्रशिक्षण दिएका थिए । यसपछि भोटिङ राउण्ड सञ्चालन गर्ने तामाङले जानकारी दिए । गायनतर्फ मनीषा बस्नेत, प्रिया श्रेष्ठ, मनहाङ नेम्वाङ, स्वस्तिका प्रधान, नवीन सुवेदी र सुमित्रा लिम्बुले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै नृत्यमा एमु लिम्बु, लाक्पा शेर्पा, एलिसा धामी, स्मारिका राई र पेङेगीला तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

Leave A Comment