हिन्दी फिल्ममा मादल

सोमबार, १३ कार्तिक २०७४, ०१ : १४ शुक्रवार
हिन्दी फिल्ममा मादल

सुरज खड्का
हिन्दी चलचित्रमा पहिलो पटक मादललाई प्रवेश गराउने व्यक्ति संगीतकार रनजीत गजमेर हुन् । उनले भारतीय संगीतकार आर.डी. वर्मनको अनुरोधमा हिन्दी चलचित्र ‘हरेराम हरेकृष्ण’मा मादलको घिन्ताङ–घिन्ताङलाई प्रवेश गराएका हुन् ।
चन्द्र सम्सेर र कलाकारिता
राणा प्रधानमन्त्री चन्द्र सम्सेर राणा गीत, संगीत लगायत कलाका विविध पक्षमा गहिरो रुचि राख्थे । त्यसैले उनी गायक तथा कलाकार भनेपछि हुरुक्कै हुन्थे । कलाकार र कलाप्रति उनको लगाव यति थियो कि जति पनि बक्सिस र पुरस्कार दिन पनि पछि पर्दैन थिए । एक पटक उस्ताद प्रो. बालाप्रसाद शर्माको शास्त्रीय गायनबाट उनी यति प्रभावित भए कि बक्सिसस्वरुप शर्मालाई तराईमा ५०० बिगाहा जमिन दिएका थिए ।
हिरो सपना
करिब एक दसकअघि अमेरिका पलायन भएका गायक जगदीश समाल गायक बन्नुअघि फिल्मको हिरो बन्न चाहन्थे र त्यसका लागि उनले केही प्रयाससमेत गरेका थिए । जसरी हुन्छ, फिल्मको हिरो बन्ने प्रयासमा रहेका समालले २०५० सालमा साधना कला केन्द्रमा नृत्य प्रशिक्षक प्रवेश वान्तवासँग केही महिना नृत्यको तालिमसमेत लिएका थिए ।
मर्न बाँकी छ...
गीतकार क्षेत्रप्रताप अधिकारीले ‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ’ बोलको गीत लेख्ने बित्तिकै नारायण गोपालको स्वरमा रेकर्ड गर्ने तयारी गरेका थिए । गीतकार अधिकारीको हातबाट गीत लिएको केही समयपछि नै नारायण गोपालको मृत्यु भयो । त्यसपछि यो गीत गाउनका निम्ति गोपाल योञ्जनलाई प्रस्ताव गरे तर गीत नगाइकनै गोपाल योञ्जनको मृत्यु भयो । पछि अरुणा लामालाई गाउन दिने सोच्दासोच्दै उनको पनि मृत्यु भएपछि अधिकारीले यस गीतलाई अबासी ठानी कसैलाई पनि गाउन नदिने भनेर डायरीमै सीमित गरेका थिए । एक दिन रामकृष्ण ढकालले शब्द मन पराई आफुूले गाउने बेतोड आग्रह गरेपछि मात्रै क्षेत्रप्रतापले रामकृष्णलाई गाउन दिएका हुन् । यो गीत ढकालको स्वरमा रहेको चर्चित र उत्कृष्ट मध्येको एक गीत हो ।
यशकुमारको पहिलो काम
गायक तथा ‘बाटो मुनिको फूल’का निर्माता एवं अभिनेता यशकुमारले काठमाडौँमा आफूलाई स्थापित गराउन निकै ठूलो संघर्ष गरेका थिए । सर्लाहीबाट १० वर्षको उमेरमा काठमाडौँ आइपुगेका उनले पशुपतिनाथ मन्दिर परिसरमा भारतीय पर्यटकलाई घुमाउने काम पनि गरे । दिनभर भारतीय पर्यटकलाई घुमाएवापत उनले १० रुपैयाँ पारिश्रामिक पाउँथे । भारतीय पर्यटक घुमाउने कामपछि उनले केही समय छापाखानाको मजदुरका रुपमा पनि काम गरेका थिए ।
रेडियो नेपालले नपत्याएका गायक
प्रेमध्वज प्रधान आफू गायक भएका कारण गायन भविष्य सुरक्षित गर्नका लागि रेडियो नेपालमा जागिर खान चाहन्थे । त्यसका लागि उनले निकै प्रयास पनि गरेका थिए तर रेडियो नेपालमा उनलाई कसैले पत्याएनन् । मासिक तलब ९० रुपैयाँ पाइने त्यस बेला रेडियोमा काम पाए आधा तलबमै काम गर्ने गरी ४५ रुपैयाँ दिए पुग्छ भनेर प्रस्तावसमेत राखेका थिए । तापनि उनले रेडियो नेपालमा जागिर पाएनन् । रेडियो नेपालमा जागिर नपाएपछि कामको खोजीमा भौँतारिएका प्रधानले २०१७ सालदेखि अमेरिकी सूचना केन्द्रमा टाइपिस्टको रुपमा जागिरे जीवन सुरु गरेका थिए ।

 

Leave A Comment