राजनराजका प्रिय १० सुर

आइतबार, १९ कार्तिक २०७४, १२ : ०८ शुक्रवार
राजनराजका प्रिय १० सुर

लोकप्रिय गायक तथा संगीतकार राजनराज सिवाकोटी गीत गाउने मात्र होइन सुन्न पनि उत्तिकै  मन पराउँछन् । उनले सुनेका केही गीतहरुले उनका मनमा डेरा जमाएका छन् । उनले आफँैले गाएका गीतहरु आत्मिय लाग्छन् र फेरीफेरी सुन्छन् पनि । राजनले शुक्रबार साप्ताहिकमार्फत पाँच आफ्ना र पाँच अरुका गीत प्रिय हुनुका कारणहरु बताए ।

अरुका पाँच
रेसम फिरिरी : गायक बुद्धि परियारले गाएको यो गीत सिम्पल र टिपिकल नेपाली छ । सबैको जनजिब्रोमा झुन्डिएको गीत हो । यो गीत बाल्यकालमा निकै मन परेको थियो । नेपालीले मात्रै होइन विदशीले पनि उत्तिकै रुचाएका छन् ।
कान्छीको छाता ढल्काइदेऊ यता, घाम पर्यो निधारैमा : तुलसी पराजुलीले गाउनु भएको यो पूर्वेली गीत असाध्यै मन पर्छ । उहाँको गायन एकदमै राम्रो लाग्छ । पूर्वेली ठेट शब्दले पनि मलाई प्रभाव पारेको छ । यो मैले गुनगुनाइरहने गीत हो ।
बनेको छ, पहराले यो छाती मेरो : देशभक्ति भावले ओतप्रोत भएको गीत हरेक नेपालीको मन छुने गीत हो । जुन किसिमले कम्पोजमा तागत हुनुपर्ने हो, त्यो तागत यसमा छ । गोपाल योञ्जनको गायकीको त कुरै नगरौँ ! असाध्यै मिठो ।
पोहोर साल खुसी फाट्यो : अरुणा लामाले गाएको यस गीतले मान्छेको वेदना पोखेको छ, वास्तविकता बोलेको छ । स्वर, शब्द र संगीतमा उस्तै मिठास छ । राजेन्द्र थापाको शब्द बडो मार्मिक छ ।
चोट खाँदा खाँदा : अञ्जु पन्तको स्वर रहेको यो गीतले जीवनको यथार्थ भोगाइ बोलेको छ । जति सुने नि सुनिरहुँ लाग्छ । राजबाबु श्रेष्ठको यो शब्द रचना जीवन्त छ । एउटा पीडादायी मान्छेको कुरा गीतले बोलेको छ ।
आफ्ना पाँच
अलिकति पीडा हुँदा नि तिमीलाई सम्झन्छु : यो गीत मलाई प्रिय लाग्छ किनभने यो गीत मैले मेरा भान्जाभान्जी अमेरिका गएका बेला सम्झेर लेखेको गीत हो । यो गीतले सधैँ उनीहरुको सम्झना गराइरहन्छ ।
कुटुमा कुुटु : यो गीत असाध्यै मिठो बन्यो । यस गीतमा स्वर, संगीत, शब्द एरेन्ज राम्रो भयो । यो गीत सुनेर धेरै जनाले सुर्ती चुरोट खान छोडेको सुनेको छु । घुमाउरो पाराले धूमपान स्वास्थ्यका लागि हानिकारक छ भनेर सन्देश दिएको गीत हो । यस्तो गीत ५ वर्ष अगाडि नै दिन खोजेको थिएँ तर मौका मिलेको थिएन । त्यसैले यो गीत सुन्न मन पराउँछु ।
जीन्दगी यो फूलैफूलको थुँगो हुँदैन : अञ्जुले गाएको यो गीत मलाई निकै मन पर्छ । राजन राईको शब्द मागेर कम्पोज गरेको थिएँ । अञ्जुले गीतको भाव बुझेर फिलिङ्समा गाउनु भयो । मैले सोचे अनुसार नै गीत बन्यो । मेरा लागि यो गीत निकै प्रिय छ ।
म माया गर्छु, मेरी उनीलाई : यो गीत निकै पहिले निकालेको गीत हो । मेरो शब्द संगीत रहेको गीतलाई अनिल सिंहले मिठासपूर्ण तरिकाले गाउनु भएको छ । आफ्नी मायालु नहुँदाको पीडा गीतले बोलेको छ । त्यसले पनि यो गीत म सुन्ने गर्छु ।
पूर्वपश्चिम रेल : विकासमुखी अवधारणा आम मान्छेमा बढेर जाओस् भनेर गाएको गीत हो । हरेकले मन पराइदिनुभएको छ किनभने यो गीतले मलाई धेरै दर्शकसामु चिनाएको गीत हो । मलाई मात्र होइन हरेक स्रोता, दर्शकलाई मन पर्छ ।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment