बलिउडको अफर

शनिबार, २५ कार्तिक २०७४, १२ : १९ शुक्रवार
बलिउडको अफर

सुरज खड्का
दार्जिलिङकी दिलमाया खाती ‘खोलाको दुई किनार भो, तिम्रो र मेरो पिरती’ र ‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा’ लगायतका गीतका कारण नेपाली श्रोतामाझ स्थापित गायिका हुन् । यी गायिकाले गायनको सुरुवातीकालमा निकै राम्रो–राम्रो अफर पाएकी थिइन् । उनको स्वर मन पराई चर्चित भारतीय कलाकार राज कपुरले बलिउडमा गएर स्थापित बन्न निकै अनुरोध गरेका थिए तर दिलमायाले राज कपुरको आग्रहलाई अस्वीकार गर्दै नेपाली गीत गाउने निर्णय गरिन् ।
गोपाल योञ्जनको अपमान
खासगरी नेपाली कला क्षेत्रमा जीवित छँदै श्रष्टाको सही पहिचान र सम्मान गरिँदैन तर श्रष्टाको मृत्युपछि भने विभिन्न उपमा र अलंकार पहिराउँदै बखान गर्ने परिपाटी भने रहेको पाइन्छ । यद्यपि यो कुरा संगीतकार गोपाल योञ्जनको हकमा भने लागू भएन । नेपाली संगीत क्षेत्रलाई हरेक विधामा अब्बल सांगीतिक उपहार दिएका योञ्जनले जीवित छँदै पनि त्यति राम्रो सम्मान पाएनन् । उनले प्रवासी नेपाली हुनुको पीडा खेपिरहनु प¥यो । यो पीडा उनले सिर्जना गरेका गीतहरुमा पनि पाइन्छ । त्यतिमात्रै होइन, मृत्यु हुँदासमेत उनले अपमान व्यहोर्नु पर्यो । योञ्जन आफ्नो सदस्य नभएको कारण जनाउँदै नेपाल प्रज्ञा प्रतिष्ठानले उनको शवमा राष्ट्रिय झण्डा ओढाउन मानेन । प्रतिष्ठानले यस्तो रवैया देखाएपछि गीतकार चेतन कार्की आफैँले झण्डा किनेर योञ्जनको शवमा ओढाएका थिए ।
योगी प्रेमध्वज
गायक प्रेमध्वज प्रधान जवानीमा निकै सुन्दर र आकर्षक देखिन्थे । आफ्नो सुन्दरता र स्वास्थ्यको राम्रो ख्याल राख्ने उनी अहिले पनि आफ्नो स्वास्थ्यप्रति उत्तिकै सचेत छन् । प्रधान आफ्ना फुलेका कपाल कालो पार्न र निधारमा चमक ल्याउन हरेक बिहान करिब १५ मिनेट कपालभाती गर्छन् । त्यस्तै शरीर तन्दुरुस्त र चंगा बनाइराख्न बिहान ५ः३० देखि ७ः०० बजेसम्म विभिन्न आसनका योगहरु पनि गर्छन् ।
ढाक्रे शम्भु राई
पूर्वेली भाकाका गीत गाएर चर्चित बनेका गायक शम्भु राई कुनै समय ढाक्रे थिए । उनी नूनको ढाकर बोकेर धरान–धनकुटा मात्रै होइन, हिलेसम्म पनि पुग्थे । ढाक्रे जीवनमै रहँदा उनी निकै राम्रो गीत रच्ने, गाउने र संगीत भर्ने गर्थे । नूनको भारी बोकेर आफूले रचेका गीत गाउँदै हिँड्दा गायक ढाक्रेको रुपमा उनको चर्चा चुलिएको थियो । यसरी गीत गाउँदै नूनको भारी बोकेर हिँडिरहेकै समय जनवादी कलाकार रामेश, मञ्जुल, जेबी टुहुरे लगायतको सम्पर्कमा राई पुगे । त्यसपछि भने राई ढाक्रे जीवन त्यागी संगीत क्षेत्रमा स्थापित बन्न पुगे ।
धावक बुद्धवीर लामा
चर्चित गीतकार बुद्धवीर लामा गीतकार बन्नुअघि धावक थिए । प्रतिस्पर्धा गरेका अधिकांश दौड प्रतियोगितामा लामा विजयी बन्थे तर एक पटक १६ सय मिटर लामो दौडमा पराजित भएपछि भने लामा निकै विरक्तिए र हारको पीडा भुलाउन गीत लेख्न थाले । लामालाई उक्त १६ सय मिटरको दौडमा हराउने व्यक्ति चर्चित र कीर्तिमानी धावक बैकुण्ठ मानन्धर थिए । ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘लालीगुराँस अजम्बरी चम्पा चमेली’ लगायतका गीतहरु गीतकार लामाका सिर्जना हुन् ।  
देब्रे गायक
गायक स्वरुपराज आचार्य खाना खान र गीतार बजाउनबाहेक अरु सबै काम देब्रे हातले गर्छन् । देब्रे हात चल्ने भएकै कारण उनलाई गीतार सिक्न लाग्ने सामान्य समयभन्दा निकै बढी लागेको थिए । उनलाई तीन महिनामा सकिने कोर्स सिध्याउन एक वर्ष लागेको थियो । 

Leave A Comment