समस्या बन्दै वायु प्रदूषण

सोमबार, २७ कार्तिक २०७४, १२ : ४१ शुक्रवार
समस्या बन्दै वायु प्रदूषण

वायु प्रदूषण विकासशील देशको ठूलो समस्या बन्न थालेको कुरा नयाँ होइन । नयाँ कुरा त के हो भने देशकै राजधानी काठमाडौँ संसारकै सबैभन्दा प्रदूषित राजधानीमध्येमा गनिन थाल्यो । हालै विश्वव्यापी गरिएको एउटा अध्ययनले देशको सबैभन्दा प्रदूषित राजधानीमध्ये काठमाडौँलाई राखिएको हो । वायु प्रदूषण उच्चतम हुनु भनेको ग्यास च्याम्बरजस्तै हो । विभिन्न सवारी साधानबाट निस्किएको धुँवाले काठमाडौँबासीको स्वास्थ्यलाई निकै असर पु¥याइरहेको छ । यस किसिमको धुँवा धुलोले हाम्रो श्वासप्रश्वाससम्बन्धी रोग बढाउने गरेको छ ।
वायु प्रदूषणले हुने समस्या
वायु प्रदूषणले सबैभन्दा बढी दम र श्वाससम्बन्धी रोगीलाई असर पुर्याउँछ । खासगरी बालबालिका र वृद्धवृद्धालाई यसले नराम्रो असर पार्ने गरेको छ । एउटा वयस्कको तुलनामा बालबालिकामा श्वास लिने दर बढी हुन्छ । त्यसैले वृद्धवृद्धाको तुलनामा बालबालिकाले प्रदूषित वायु बढी लिने गर्छन् । प्रदूषित वायु बढीभन्दा बढी लिनुको अर्थ, बढीभन्दा बढी टक्सिन –हानिकारक तत्व) लिनु हो । बढीभन्दा बढी हानिकारक तत्व लिनुको अर्थ रोगव्याधिले चाँडो सताउनु पनि हो ।
जाडो मौसमका धुँवा धुलो माथि जान पाउँदैनन् । सतहमा नै बढीभन्दा बढी जमेर बस्ने हुनाले बालबालिका तथा वृद्धवृद्धाहरुले प्रदूषित हावा बढी लिने बाध्यता पर्छ । त्यसैले बालबालिकामा समेत हृदयघात तथा दमको रोग देखिने सम्भावना बढेर जान्छ ।
ब्रोङ्काइटिस
प्रदूषित वायुले फोक्सोसम्म हावा पुर्याउने नलीमा व्यवधान पु¥याउने गर्छ । यसले श्वास नली सुन्निने, सुख्खापन बढ्छ । यस किसिमको समस्याले कफ जम्न थाल्छ । श्वास नली संकुचित हुन थाल्छ । यसलाई नै ब्रोंकाइटिस भनिन्छ । ब्रोंकाइटिससँगै खोकी पनि बढ्छ । चाँडै खोकी ठीक भएन भने यसले निकै दुःख दिन्छ ।
फोक्सोमा संक्रमण
दमले तपाईं नसताएको भए पनि वायु प्रदूषणले हाम्रो फोक्सोलाई नराम्रोसँग र तीव्र गतिमा असर पार्ने गर्छ । प्रदूषित हावा श्वास लिँदा फोक्सोमा पुग्छ र हावाका विषाक्त कणहरु फोक्सोमा टाँसिन थाल्छ । यसले खोकी, कफ, क्षयरोग, निमोनियाजस्ता रोग निम्त्याउँछ । विषाक्त हावाका यस्ता कणले क्यान्सरजस्ता रोग पनि निम्त्याउन सघाउ पु¥याउँछ ।
छालासम्बन्धी रोग
वायु प्रदूषणले कैयौँ पटक छालासम्बन्धी रोगलाई नि बढाउँछ । यसमा खासगरी छालाको एलर्जी त सबैलाई हुने गर्छ । हावामा भएका विषाक्त कणहरुका कारणले छालामा एलर्जी हुने गरेको छ । मौसम परिवर्तनका बेला छालामा सुख्खापन आउन थाल्छ र छाला फुट्न थाल्छ । यस्तो फुटेको छालामा विषाक्त हावाका कणहरु छिरेका खण्डमा छालासम्बन्धी विविध रोगको सिकार बन्ने सम्भावना बढेर जान्छ ।
आँखालाई पु¥याउने हानि
वायु प्रदूषणले आँखा पोल्ने, बरोबर पानी आउने, आँखा रातो हुने र सुन्निनेजस्ता संक्रमणले दुःख दिन्छ । प्रदूषित धुँवाका कारण यस्तो समस्या आउने विज्ञहरुको धारणा छ । प्रदूषणले त कतिपय अवस्थामा आँखाको सुख्खापन पनि निम्त्याउँछ ।
कसरी बच्ने त ?
घरबाहिर जति बसिन्छ, उति नै प्रदूषित हावा हाम्रो नाक र मुखबाट फोक्सोमा छिर्ने हो । त्यसैले धुम्म कुहिरो लागेका बेला घरबाहिर ननिस्किएकै राम्रो । घुमघाममा जाँदा घाम लागेको अवस्था हेर्नु उचित हुन्छ । तर वातावरण धुम्मिएको छ भन्नेबित्तिकै प्रदूषण नभएको बेला पनि घरभित्रै बस्नु भने उचित हुँदैन ।
मास्क लगाउनुस्
घरबाहिर निस्कँदा मास्क लगाउनुहोस् । मास्कले केही हदसम्म विषाक्त हावाका कणलाई रोक्ने गर्छ । बजारमा कैयौँ किसिमका मास्क किन्न पाइन्छन् । सस्ता मास्क नकिन्नुहोस् । राम्रो र उपयुक्त किसिमको मास्क किन्नुहोस् । कार्बल फिल्टरयुक्त मास्क सबैभन्दा राम्रो मानिन्छ ।
राति बाहिर ननिस्कनुस्
जाडो याममा राति तापक्रम घटेको हुन्छ । यस्तो अवस्थामा हावामा विषाक्त कण बढीभन्दा बढी नै हुन्छन् । त्यसैले घरबाहिर निस्कनुपर्ने अति जरुरी अवस्थामा मात्र निस्कनु होस् । निस्कँदा पनि मास्क लगाएर मात्र निस्कनु होस् ।
औषधि नछुटाउनुस्
तपाईं दमको रोगी हुनुहुन्छ भने आफूलाई आवश्यक पर्ने औषधि तथा इन्हेलर सधैँ आफूसँग राख्नुहोस् । यसका अतिरिक्त तपाईंको गोजीमा एउटा कार्ड पनि राख्नुहोस्, जसमा तपाईंलाई लागेको रोग र आपतकालीन सम्पर्क नम्बर पनि लेखिएको होस् । तपाईंले प्रायः भेटिरहने चिकित्सकको नम्बरसमेत त्यस कार्डमा राख्नु अझ राम्रो हुन्छ ।
घरमा विरुवा छ ?
प्रदूषित वातावरणलाई शुद्ध पार्ने किसिमका विरुवाहरु घरआँगनमा रोप्नु उपयुक्त हुन्छ । विपिङ फिग, पिस लिली, फ्लेमिङ्गो फ्लावर, एस्परागस फर्न र डेभिल्स आइभीजस्ता विरुवाले बढीभन्दा बढी अक्सिजन फ्याँक्ने गर्छन् । घरमा वायु स्वच्छताका लागि १० वर्ग मिटरको दुरीमा विरुवा लगाउनु उचित हुन्छ ।

 

Leave A Comment