‘केटी देख्नै नहुने, प्रेममै पर्छु कि लाग्ने !’

शनिबार, ०२ मङि्सर २०७४, ०१ : २६ शुक्रवार
‘केटी देख्नै नहुने, प्रेममै पर्छु कि लाग्ने !’

पछिल्लो फिल्म ‘पिकु’मा रोमान्टिक अवतारमा देखिएका इरफान खान गत हप्तादेखि प्रदर्शनमा आएको नयाँ प्रेमकथा ‘करिब करिब सिंगल’ मार्फत प्रेमिल रुपमा प्रस्तुत भएका छन् । (नेपालमा भने प्रदर्शन हुन सकेन) । रोमान्टिक फिल्म खेल्न निकै मज्जा हुने इरफान बताउँछन् । बुलन्द मेथड अभिनयका ज्ञाता उनलाई आफ्नो अभिनयकारिता सबैभन्दा मनपर्ने कुरा हो । तनुजा चन्द्राको ‘करिब करिब सिंगल’मा उनको प्रेमिल प्रस्तुतिलाई दर्शक एवं समीक्षकहरुले निकै रुचाइरहेका छन् । यौनले कुण्ठित हाम्रो समाजमा फिल्मले लैंगिक आयामबारे बोल्ने उनी बताउँछन् । यो फिल्मसँगै उनले आफूलाई धेरै भन्दा धेरै प्रेमकथाका फिल्म गर्न मन लागेको बताउँछन् । यहाँ प्रस्तुत छ, उनै इरफानसँग एक भारतीय मिडियाले गरेको अन्तरंग कुराकानी :
फिल्ममा तपाईंलाई नदीको चिसो पानीमा र्याफ्टिङ गरेको देखिन्छ नि ?

मलाई र्याफ्टिङ गर्न निकै मज्जा लाग्छ । पानी मनपर्ने मलाई यस्तै साहसिक कामहरु गर्ने रुचिसमेत छ । र्याफ्टिङ गर्ने बेला तीनपटकसम्म पानीमा डुब्दा निकै मज्जा आयो । मैले राजस्थान, गाङतोक, दिल्ली र बनारसमा र्याफ्टिङ गरिसकेको छु । म अब स्काई डाइभिङ र संगीत सिक्न चाहन्छु । म जंगली बिराला, हात्ती र बाघ लगायतका सम्पूर्ण जंगली जनावरहरुलाई आफूसँगै राख्न चाहन्छु । हाम्रोमा यसरी जनावर राख्न पाइँदैन । म आफूलाई पनि जंगली जनावरजस्तै ठान्छु । सायद अब विदेशमा एउटा घर किनेर जनावर राख्छु होला ।
‘करिब करिब सिंगल’मा पार्थवीसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
पार्थवीसँग मेरो केमेस्ट्री राम्रै रह्यो । दक्षिण भारतीय फिल्ममा रमाइरहेकी उनको आगमनले हाम्रो फिल्ममा थप रङ थप्ने काम गर्यो । प्रायः कलाकारझैं उनी निकै जुझारु र नयाँ काम सिक्न चाहने स्वभावकी रहिछन् । मैलै पनि उनलाई धेरै प्रश्न सोधेर हैरान पार्थें ।
तपाईंका लागि प्रेम के हो ? मानिसहरु प्रेमका लागि मर्न तयार छु भन्छन् नि ?
हामीले प्रेम शब्द नै दुरुपयोग गर्दै आइरहेका छौं । प्रेम भन्ने चिज हामीले जीवनभर सिकिरहन्छौं । प्रेमको परिभाषा अहिलेसम्म कसैले बुझेको छैन । कतिपयले केही पाउनका लागि प्रेमलाई हतियारका रुपमा प्रयोग गर्दै आइरहेका छन् । जब म किशोर थिएँ त्यस समय बेरोजगार पनि थिएँ । सोही समयमा आफूले भेटेजतिका सुन्दर केटीहरुको प्रेममा पर्छु कि जस्तो लाग्थ्यो । अहिले मलाई प्रेममा कुनै रुचि नै छैन । म अहिले मेरो कामलाई प्रेम गर्दै आइरहेको छु ।
प्रेम वियोगलाई कसरी लिनुहुन्छ ?
कुनै समय म प्रेममा परेको थिएँ । म प्रेमबारेकै सपना देख्थेँ । केही समयमै मेरो प्रेम वियोगमा परिणत हुन्थ्यो । वियोगका बेला म चिच्चाउँछु, कविता र उदास गीतहरु लेख्छु ।
महिला निर्देशक तनुजा चन्द्रासँग काम गर्दाको अनुभवबारे बताउनुहोस् न ?
महिला निर्देशकहरुसँग काम गर्दा छुट्टै किसिमको अनुभव हुन्छ । उनीहरु एकैपटकमा धेरैभन्दा धेरै काम गर्न सक्छन् । उनीहरु कम्तिमा पनि पाँच वटा काम एकैपटक हेर्न र गर्न सक्छन् । पुरुषहरु यस्तो गर्न सक्दै सक्दैनन् । म पनि यदि कुनै काम गर्न थालेँ भने एकमात्र काममा तल्लिन हुन्छु । केहीअघि एक अन्तर्वार्तामा पार्थवीलाई हेरेको थिएँ । उनी अन्तर्वार्ताका क्रममा फ्ल्यासलाई समेत ध्यान दिएर हेरिरहेको मैले देखेँ । यसको मतलब महिलाहरु सानामसिना कुराहरुलाई कसरी ख्याल गर्छन् भन्ने हो । महिलाहरुसँग प्रतिवाद गर्न सकिन्न पनि । महिलाहरुले तपाईंलाई सुन्लान् तर उनीहरुले आफूले चाहेको मात्रै गर्छन् ।
दोस्रो प्रेमकथामा काम गर्दा कस्तो लाग्यो ?
मलाई निकै पहिलेदेखि प्रेमिल कथामा काम गर्न मन थियो । लामो समयदेखि म प्रेममा पर्न पाएको थिइनँ । प्रेममा पर्ने मेरो चाहनालाई फिल्मले बाटो खुलाई दियो ।
बलिउडमा गतिला फिल्म लेखकको अभाव भएकै हो त ?
हाम्रोमा गतिला लेखक छँदै छैनन् । अर्को कुरा गतिला लेखकलाई राम्रो पैसा दिने परम्परा छैन । हलिउडमा फिल्म लेखकलाई निकै महत्वका साथ हेरिन्छ । सम्भावना बोकेका नयाँ नयाँ राम्रा लेखकहरु पनि आइरहेका छन् । उनीहरुमा केही गर्छु भन्ने चाह छ ।
अभिनेता भइसकेपछि तपाईंमा लगाम लगाइएकोबारे विश्वास गर्नुहुन्छ ?
म यसबारे जतिसुकै सजग भए पनि म आफूलाई त्यस्तो ठान्दिनँ । म अभिनेता बन्छु भनेर यहाँ आएको पनि थिइनँ । मसँग कत्तिको क्षमता छ वा मैले मेरो क्षमता अनुसारको काम गर्न सकेको नहुन पनि सक्छु ।
तपाईंले फिल्म कसरी छान्नुहुन्छ ? केही सूत्र छन् कि ?
केही सूत्र नै छैनन् । मलाई कुनै विचार मनप¥यो भने त्यो फिल्म गरिहाल्छु । फिल्म छान्नु अनौपचारिक एवं स्वाभाविक प्रक्रिया हो । पहिला पहिला म फिल्ममा देखिन्छु भनेर मात्र गर्थेँ । म अब मेरो फिल्मी स्थान वा पैसाका लागि फिल्म गर्दिनँ । फिल्मको कथाले छोयो भने म अवश्य गर्छु ।
पछिल्लो युवापुस्ताका कलाकारबारे तपाईंको विचार ?
अहिलेका युवा कलाकार निकै स्मार्ट छन् । उनीहरु राम्रो एक्सपोजर चाहन्छन् पनि । केही कुरा सिक्नुपर्दा उनीहरु हामीभन्दा अगाडि छन् । युवा लेखक, निर्देशकहरु आएर हाम्रो सिनेमाको स्तरलाई अग्रस्थानमा पुर्याउँछन् जस्तो लाग्छ ।
तपाईंको काममा पत्नी सुतपाको कस्तो भूमिका छ ?
मेरो काममा उनले निकै सहयोग गर्छिन् । उनीसँग नाटक र अभिनयको ज्ञान मेरोभन्दा धेरै छ । आफूभन्दा पनि निकै तेज पत्नीबाट केही कुराहरु सिक्न पाउँदा आनन्द महसुस हुन्छ ।
तपाईंले आफ्नो काम वा जीवनलाई कसरी चलाउने भनेर योजना बनाउनुहुन्छ ?
अहिलेसम्म मेरो जीवन मज्जाले चलेको छ । पछिल्लो समय मैले योजना बनाउन छाडेको छु । योजना बनाएर काम गर्दा वा कसैको सल्लाह लिएर गरेका कुनै पनि सफल भएका छैनन् मेरा । योजना बेगर गरेका कामहरु नै सफल भएका छन् ।
आत्मकथा लेख्नेबारे केही योजना बनाउनुभएको छ ?
मलाई कसैले लेख है भनेका थिए । मैले यसबारे केही भनिनँ । मेरो व्यक्तिगत कथा अरुलाई सुनाउँदा निकै बोरिङ हुन्छ । कसैले मेरा बारेमा रमाइलो किसिमको कथा लेख्छ भने त्यसबारे पक्कै सोचौला तर अहिलेको मेरो फोकस भनेकै अभिनय हो ।
अबका कामबारे बताइदिनुहोस् न ?
म छिट्टै ‘मिनिस्ट्री’ नामको वेभ सिरिज गर्दैछु । यसमा निकै रमाइलो कन्सेप्ट छ । म के गर्ने भनेर सोच्दैछु । अभिनव देवको फिल्म सकिसकेको छु । आगमी वर्षको फेब्रुअरीमा त्यो प्रदर्शनमा आउनेछ । विशाल भारद्वाजको नयाँ फिल्मबारे म निकै हौसिएको छु । ‘पिकु’ पछि मलाई दीपिकासँग काम गर्न मन लागेको छ । फाइनल स्क्रिप्ट कुरेर बसेको छु । त्यस्तै सुजित सरकार र अनुराग बसुसँग फेरि काम गर्ने इच्छा छ । मलायलम अभिनेता दलक्वीर सलमान, मिथिला पल्कार र अम्लासँग रोनी स्क्रूवालाको फिल्म गर्दैछु ।
आगामी वर्ष केली म्याकडोनाल्डसँग तपाईंको हलिउड फिल्म ‘पजल’ आउँदै छ नि ?
फिल्मले एक महिलाको कथा भन्छ । प्रतिभाशाली केलीसँगै काम गर्न पाउँदा निकै खुसी लाग्यो । उनीसँग काम गर्न पाउँदा कलाकारिताका विभिन्न पाटाबारे जानकार हुने मौका पाएँ ।
‘हिन्दी मिडियम’ले बक्स अफिसमा एकदमै राम्रो ग¥यो । यसको सिक्वेल आउने कुरा छ नि ?
सिक्वेलमा काम गर्न पाएमा म निकै खुसी हुनेछु तर मेरो एकमात्र सर्त भनेकै पैसा कमाउने ध्येयले फिल्मको नाम बिकाउनु हुँदैन । पहिलेको भन्दा राम्रो र भिन्दै तर उस्तै प्रभावशाली कथा भयो भने म त्यसमा काम गर्न तयार हुनेछु ।

 

Leave A Comment