जाडोमा घुँडाको समस्यालाई बेवास्ता नगरौं

आइतबार, ०३ मङि्सर २०७४, ०२ : ११ शुक्रवार
जाडोमा घुँडाको समस्यालाई बेवास्ता नगरौं

जाडोमा हातखुट्टाका जोर्नी दुख्नु गम्भीर समस्या हो । एकपटक यस्तो समस्या देखियो भने यसबाट मुक्त हुन निकै गाह्रो हुने अनुभवीहरु बताउँछन् । यसलाई बेवास्ता गर्दा भविष्यमा निकै भारी मूल्य चुकाउनुपर्ने हुनसक्छ । जाडोमा नसा खुम्चने, रक्तसञ्चार उच्च हुने तथा मुटुसम्बन्धी समस्या हुने भएकाले हाड जोर्नीमा समस्या उत्पन्न हुन्छ र दुख्छ । कसैलाई बाथ रोग वा युरिक एसिडको समस्या छ भने त्यस्ता व्यक्तिलाई यसले झनै दुःख दिनसक्ने बताउँछन्, सहिद गंगालाल तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन डा. शेरबहादुर पुन । उनका अनुसार, घुँडा तथा जोर्नी दुखाइका पछाडि धेरै कारण हुन सक्छन् । आर्थराइटिसको कारण दुख्न सक्छ, बुढ्यौलीमा पनि दुख्न सक्छ । यसबाहेक अरु कारण पनि हुनसक्छ ।
हामीलाई हिँडडुल गर्न, उभिन वा आराम गर्दा पनि दुख्न थाल्यो भने हामीले हाडजोर्नीसम्बन्धी समस्या देखिएको हुनसक्छ । यस किसिमको पीडा वा दुखाइ बढ्दै गयो भने हामीलाई बाथ रोगले समाएको पनि हुनसक्छ । त्यस्तै जाडो बढ्दै जाँदा दुखेका ठाउँमा चिसो हुँदै जाने पनि हुनसक्छ । घुँडा तथा जोर्नीको दुखाइबाट राहत पाउने सबैभन्दा उत्तम उपाय भनेको जाडोदेखि बच्नु नै हो । जाडो याममा न्यानो कपडा लगाउने, तातो सुप खानुपर्ने डा. पुनको सुझाव छ । यसका अतिरिक्त घरमै बसेर पनि निम्न उपायहरु अपनाउन सकिन्छ :
अदुवाः अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाइमा रामवाणको काम गर्छ । यसलाई चियासँग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।
कागतीः कागतीको सेवनले पनि घुँडाको दुखाइ कम गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।
तोरीको तेलः तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमित रुपमा तातो तेलले मालिस गर्ने । यसो गर्दा घुँडाको दुखाइ पक्कै कम हुन्छ ।
सिधे नूनः घुँडाको दुखाइमा सिधे नून एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।
बेसारः घुँडाको दुखाइ कम गर्न बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा रहने कुरक्युमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाइ कम गर्न सहयोग गर्छ ।
मेवाको बिउः मेवाको बिउ अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ । दुखाइबाट उन्मुक्ति पाइन्छ ।
गाजरः गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने बढीभन्दा बढी गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाइबाट छुट्कारा दिलाउँछ ।
मेथीको बिउः घुँडाको दुखाइ छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको पीडा शान्त पार्छ ।
प्याजः प्याजले पनि घुँडाको दुखाइबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।
नरिवलको तेलः खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाइमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
रातो खुर्सानीः रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाइमा राहत दिन्छ । यसमा रहेको केपसाइसिन तत्वले पेनकिलरको जस्तै काम गर्छ ।
ओमेगा ३ फ्याटी एसिडः यो फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाइ कम हुन्छ ।
क्याल्सियमयुक्त खानाः क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा नै हड्डीको दुखाइ उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।
एक्सरसाइजः घुँडाको दुखाइ हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।
योगः योग गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारीरिक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योग गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

Leave A Comment