इटहरीमा फिटनेस सेन्टर खुल्ने क्रम बढ्दो

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : ०१ अमर खड्का
इटहरीमा फिटनेस सेन्टर खुल्ने क्रम बढ्दो

इटहरी तरहराका विशाल रासयली साथीभाइसँग हिँड्दा मनोरञ्जनका लागि भन्दै लागूऔषधको लतमा फसिसकेका थिए । मौका बेमौकामा उनको ध्यान लागूऔषधबाहेक अन्यत्र जाँदैनथ्यो ।
लागूऔषध खाने बानी सुध्रिने छनक नदेखेपछि परिवारका सदस्य दिक्क भइसकेका थिए तर चार महिनायता उनको दिनचर्या फेरिएको छ ।
एकपल्टको कुलती सधैंको कुलती भन्ने सामाजिक सोचाइलाई अपवादमा पार्दै उनको जीवनले यु टर्न कसरी लियो ? स्थानीय पूर्वाञ्चल बोर्डिङ स्कुल कक्षा १२ मा व्यवस्थापन संकायको परीक्षा दिएर बसेका विशाल लागूऔषधको लतबाट छुटकारा पाउनका निम्ति नियमित फिटनेस सेन्टरमा जान थाले । उनी नियमित रुपमा हरेक दिन बिहान र साँझ जीमखाना गएर व्यायाम गर्छन् । उनले लागूऔषध खान छाडिसके  । उनको बानीमा परिवर्तन आएको छ । नियमित फिटनेस सेन्टरमा गएकाले गर्दा अहिले खाना रुच्ने र शरीर स्वस्थ मात्रै भएको छैन, तनाब पनि कम हुन थालेको छ उनलाई ।
लागूऔषध सेवन गर्ने युवाको संख्या बढ्दो भएकाले यसको व्यापार पनि मौलाइरहेको छ । लागूऔषध सेवनकर्ताको हातखुट्टाको हड्डी चिलाउने, खानाप्रति रुचि नहुने लगायतका समस्या हुने गर्छन् । कसैकसैमा हातखुट्टा फ्याक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ । विशालको सुरुवात चरणमै भएकाले गर्दा अहिले पूरै सुधार भइसकेको छ ।

इटहरी उद्योग वाणिज्य संघका सदस्य श्याम रिजाल पनि नियमित रुपमा फिटनेस सेन्टरमा जाने गर्छन् । उनले अहिले सुगर, प्रेसरजस्ता समस्याबाट छुटकारा पाएका छन् । फिटनेस सेन्टरमा गएर कार्डियो गर्दा सुगर, प्रेसरजस्ता समस्याबाट छुटकारा पाएको बताए ।
अहिले पूर्वका सहरमा मानिसको तौल घटाउनका साथै शारीरिक तन्दुरुस्तीसँगै सौन्दर्यका लागि पनि फिटनेस सेन्टर जाने चलन सुरु भएको छ । सबै उमेर समूहका फिटनेस सेन्टरमा धाउन थालेका छन् ।
इटहरी वडा नं. २० का प्रवेश बस्नेत र उनकी श्रीमती चन्द्रकला बस्नेत पनि शरीरको तौल घटाउन र दिनभर शरीर फूर्तिलो राख्नका लागि हरेक दिन फिटनेस सेन्टर जाने गर्छन् ।
इटहरी तथा आसपासका क्षेत्रमा पनि फिजिकल एक्सरसाइज र शारीरिक बनोटमा परिवर्तन ल्याउनका लागि फिटनेस सेन्टर खुल्दा छन् । यहाँ खुलेका फिटनेस सेन्टरमा मेसिनमार्फत किक बक्सिङ्, बक्सिङ, एरोविक, जिम, स्टिम, कार्डियोजस्ता सुविधा छन् ।

Leave A Comment