तबल्ची नारायणगोपाल

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ३१ शुक्रवार
तबल्ची नारायणगोपाल

सुरज खड्का
सांगीतिक क्षेत्रमा प्रवेश गर्दाताका नारायण गोपाल गीत गाउनभन्दा तबलावादनमा रुचि देखाउँथे । उनी गीत गाउन निकै लजाउँथे । वि.सं. २०१३ साल तिरको कुरा हो, त्यतिबेला रेडियो नेपालमा स्वर परीक्षा खुलेको थियो । नारायणका नजिकका साथीहरु माणिकरत्न र प्रेमध्वज प्रधानले उनलाई थाहै नदिई स्वर परीक्षाको फारम भरिदिए । तर परीक्षा हुने दिन लाज मान्दै नारयण रेडियो नेपाल जान मानेनन् । त्यसपछि माणिकरत्न र प्रेमध्वजले उनलाई तान्दै रेडियो नेपाल पु¥याएका थिए ।
गीतलाई हिट बनाउन
संगीतकार आलोक श्री सगीत क्षेत्रमा संगीतकारको रुपमा नभई गीतकारको रुपमा प्रवेश गर्न चाहन्थे । उनले गीतकार बन्नका लागि थुप्रै गीतहरुको रचना गरेका थिए । आफूले रचना गरेका गीत उनले धेरै संगीतकारलाई देखाए । आफ्ना गीतमा संगीत भरिदिन र गायकगायिकालाई गाउन दिन अनुरोध गरे । उनको कुरालाई कसैले पनि वास्ता गरेनन् । संगीतकारहरुले नपत्याएपछि उनी आफैँ संगीत भर्न तम्सिए । उनले आफ्नो संगीतमा पहिलोपटक रेडियो नेपालमा ‘तिमी जति टाढा भए पनि’ रेकर्ड गराए । आलोक श्रीको पहिलो संगीत रहेको गीत चर्चित बनेको थियो ।
हकर सङ्गीतकार
गायक तथा सङ्गीतकार शान्तिराम राई सङ्गीतमा लाग्नुपूर्व पत्रपत्रिका बेच्ने हकर थिए । उनी बांगेमुढाबाट भारतीय पत्रपत्रिका लिएर काठमाडौँका विभिन्न ठाउँमा पु¥याउने गर्थे । राईले ‘तिमी तारे भिर’, ‘धोका दियौ तिमीले’ लगायतका सुपरहिट गीतमा सङ्गीत दिएका छन् ।
उखुबारी बेचेर एल्बम
‘भूपू मायालु’ गीत गाएर चर्चित बनेका गायक त्रिलोक रानाले पहिलो गीतिसंग्रह ‘औसरवादी’ सार्वजनिक गर्दाको रमाइलो किस्सा छ । गीतसङ्गीत भने पछि जे सुकै गर्न पनि पछि नहट्ने उनले पहिलो गीतिसंग्रह निकाल्नका लागि सर्लाहीमा रहेको उखुबारी बेचेर पैसा जुटाएका थिए ।
संसारकै छोटो राष्ट्र गान
संसारकै सबैभन्दा छोटो राष्ट्र गान जापानको ‘किमिगायो’ लाई मानिन्छ, जुन चार लाइनको मात्र रहेको छ । त्यस्तै संसारको सबैभन्दा लामो राष्ट्रिय गान ग्रीसकोे हो । ग्रीसको राष्ट्रिय गान १५८ लाइनको छ ।
उदितनारायणको सर्ट
गायक उदितनारायण झा र मधु क्षेत्री काठमाडौँमा संगीतमा संघर्ष गर्दाको क्षणमा निकै हितैषी थिए । दुवैले काठमाडौमा बस्दा निकै संघर्ष र चुनौती बेहोर्नु परेको थियो । गरिबीका कारण उनीहरुसँग खान र लाउनै धौधौ हुन्थ्यो । यतिसम्म कि यी दुईसँग लगाउने कपडा र जुत्ताको समेत अभाव हुन्थ्यो । यी दुईको स्थिति कस्तोसम्म थियो भने रेडियो नेपालमा गीत गाउने पालो परेका बेला उनीहरु एउटै सर्ट, पाइन्ट र जुत्ता पालैपालो लगाएर बाहिर निस्कने गर्थे ।

 

Leave A Comment