कुल्ली नारायणगोपाल

सोमबार, ०३ पुष २०७४, ०२ : ०५ सुरज खड्का
कुल्ली नारायणगोपाल

स्वर सम्राट नारायण गोपालसम्बन्धी अनेकौँ किस्सा बजारमा गर्माइरहन्छन् । यस्ता किस्सामध्ये कतिपय किस्सामा सत्यता छ त कतिपय भनाइकै रुपमा स्थापित हुँदै आएका छन् । उनले गायन तथा संगीत सिर्जनाबाहेक अन्य थुप्रै काममा हात हालेका थिए । नारायण गोपालले केही समय कुल्ली कामसमेत गरेको केहीको दाबी छ । उनले पूर्वपश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्ली काम गरेका हुन् । नारायण गोपालले कुल्ली काम गर्दाको क्षणका साक्षी गीतकार भीम विरागले बकेका छन् । उनले किन कुल्लीको काम गरे भन्ने कुरा चाहिँ आफूले थाहा नपाएको भीम विरागले केही सञ्चारमाध्यममा उल्लेख गरेका थिए ।

कवि अभिनेत्री
आलोक नेम्वाङ निर्देशित फिल्म ‘अझै पनि’बाट फिल्मी क्षेत्रमा डेब्यु गरेकी सुरक्षा पन्त सिभिल इन्जिनियरिङकी विद्यार्थी पनि हुन् । अभिनयसँगै भविष्यमा इन्जिनियर बन्ने लक्ष्य लिएकी उनी काठमाडौँ इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहेकी छन् । टेलिभिजनमा कार्यक्रम प्रस्तोतासमेत रहेकी पन्तको अर्को परिचय कविको रुपमा पनि रहेको छ । समय पाउँदा उनले कविता पनि लेख्ने गरेकी छन् ।

आर्किटेक्ट अभिनेत्री
‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतमा गरेको नृत्यका कारण पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का पनि इन्जिनियरिङ पृष्ठभूमिकी हुन् । उनले थापाथली क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा इन्टरमिडियट लेभलको अध्ययन सकाएकी थिइन् तर फिल्म तथा मोडलिङमा पाएको सफलताका कारण उनले इन्जिनियरिङ पढाइलाई भने निरन्तरता दिन सकिरहेकी छैनन् ।

गीतकार राजकुमार
शाह वंशीय परिवारमा गीत, संगीत र साहित्यमा झुकाव राख्ने धेरै थिए । पृथ्वीनारायण शाहदेखि महेन्द्रसम्म साहित्य र संगीतको पारखी थिए । राजा महेन्द्रका छोरा रवीन्द्र शाह पनि राजकुमारभन्दा पनि गीतकारका रुपमा बढी चर्चित छन् । औपचारिक रुपमा विवाह नगरिएकी गीता गुरुङ नामक युवतीबाट रवीन्द्र शाहको जन्म भएको हो । दरबारले उनलाई राजकुमारको पद्वी दिए पनि उनले पाउनुपर्ने जति सम्मान भने पाएका थिएनन् । त्यसैले पनि उनको मनमा निराशा र पीडाको ध्वनि धेरै गुञ्जन्थ्यो । उनले आफ्नो मनमा भएको निराशा र व्याकुलतालाई साहित्यमार्फत प्रस्फुटन गर्न थाले । रवीन्द्रको यस्तो क्रियाकलाप राजकुमार प्रतापी र ओजस्वी हुन पर्छ भन्ने मान्यता विपरीत थियो । त्यसैले कलाप्रेमी भनेर चिनिएका राजा महेन्द्रले नै उनलाई आजीवन साहित्य र गीत लेखनमा प्रतिबन्ध लगाइदिएका थिए । रवीन्द्र शाहका नाममा पाँच गीतिकविता संग्रह प्रकाशित छन् । शाहले लेखेको र नारायण गोपालले स्वरबद्ध गरेको ‘श्रद्धाको फूल चढाइ दिनु आएर लाशमा’ गीत नेपाली संगीतकै एक उत्कृष्ट गीत मानिन्छ ।

संगीतपारखी चन्द्रसमसेर
गायिका मेलवादेवी गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका हुन् । ओखलढुंगाकी लामिछाने गुरुङकी छोरी सानैदेखि चन्द्रसमसेरको दरबारमा प्रवेश गरेकी थिइन् । चन्द्र समसेरका लागि उनी कति प्रिय थिइन् भने शिकार खेल्न चितवन जाँदा पनि चन्द्र उनलाई सँगै लिएर जान्थे । दिनभर शिकार खेलिसके पछि राति आफ्ना सेनाका साथमा मेलवादेवीको कोकिलकण्ठबाट निस्किएको गीत सुन्नु जत्तिको आनन्द चन्द्रसमसेरलाई केही लाग्दैन थियो । मेलवादेवीको स्वरमा चन्द्र यतिसम्म डुबेका थिए कि उनी सार्वजनिक कार्यक्रममै त्यसबेलाका भारतीय गायिका भन्दा मेलवादेवीकै स्वर राम्रो रहेको दाबी गर्ने गर्थे ।

रेडियो गायिका कोइलीदेवी
आफ्नो स्वरमा गीत रेकर्ड गराउने पहिलो गायिका मेलवादेवी भए जस्तै रेडियो नेपालबाट गीत गाउने पहिलो गायिका भने कोइलीदेवी माथेमा हुन् । ११ वर्षको उमेरदेखि नै उनी सिंह समसेर जबराको दरबारमा गायिकाको रुपमा नियुक्त भएकी थिइन् । मकवानपुरको चिसापानी गढीबाट ५ वर्षको उमेरमा काठमाडौँ आइपुगेकी उनको वाल्यकालमा ‘पानतारी’ नाम राखिएको थियो । कोइली जस्तो सुमधुर स्वरकी धनी उनलाई ‘पानतारी’ नाम सुहाएन भन्दै सिंह समसेरले कोइलीदेवी नाम राखिदिएका हुन् ।
 

Leave A Comment