हेयर एन मेकअप कोर्स

मङ्गलबार, ०४ पुष २०७४, ०९ : ५१ शुक्रवार
हेयर एन मेकअप कोर्स

हेयर डिजाइन तथा मेकअप(ब्युटी) सम्बन्धी  कोर्स गर्न चाहनेहरुलाई खुसीको खबर छ, धरानमा सेवा मात्र होइन, युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कोर्ससमेत राखेर रेड कार्पेट युनिसेक्स सेलुन एकेडेमी सुरु भएको छ ।
धरान १०, पुतलीलाइनमा सोमबार एक कार्यक्रमबीचमा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुुवेदी र नायिका अंशु थापाले संयुक्त रुपमा रिबन काटेर एकेडेमीको उद्घाटन गरेका थिए । यस एकेडेमीमा सौन्दर्यसम्बन्धी सम्पूर्ण सुविधाका साथै अध्ययन गर्न चाहनेहरुलाई विभिन्न कोर्सहरु पनि उपलब्ध भएको सञ्चालकहरुले जनाएका छन् । यो एकेडेमी १० वर्ष कोरिया बसेर फर्केका युवा समीर निरौलासँगै विवेक आले र मीनकुमार सारु मगरले संयुक्त लगानीमा सञ्चालनमा ल्याएका हुन् । हालसम्म ३५ लाख खर्च भइसकेको एकेडेमीमा ५० लाख खर्च हुने उनीहरुको अनुमान छ ।
उद्घाटन अवसरमा उपप्रमुख भण्डारी र नायिका थापाको हेयर एन मेकअप गरिएको थियो । मानिसलाई भित्री सुन्दरतासँगै बाहिरी सुन्दरताको पनि उत्तिकै आवश्यकता भएकाले सेलुन एकेडेमी सञ्चालनमा ल्याएको सञ्चालक आलेले बताए । आफू स्वरोजगार बनेर दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई पनि आत्मनिर्भर बनाउने आफूहरुको चाहना भएको उनले बताए । ‘आफ्नै देशमा केही गरौं न त भनेर लगानी गरेका हौं, हामी स्वरोजगार बन्छांै र कोर्स गराएर अन्यलाई पनि आत्मनिर्भर हुने बाटोमा हिडाउँछौं,’ आलेले भने ।
एकेडेमीमा महिला, पुरुष र बालबालिकाहरुलाई एकै ठाउँमा सौन्दर्यसम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने सञ्चालकहरुले बताएका छन् । यस्तै, अत्याधुनिक तथा सुविधा सम्पन्न हल, नयाँ प्रविधिको प्रयोगबाट सेवा, ब्रान्डेड कम्पनीको मात्र सामान प्रयोग गरिने, ५ सयभन्दा बढी हेयर कट स्टाइल, कपालमा ब्लेड प्रयोग नगर्ने र सेलिब्रेटीहरुका लागि बेग्लै व्यवस्था भएको अर्का सञ्चालक सारु मगरले बताए । उनले भने, ‘हामीले हेयर स्ट्रेट, स्मोथिङ, हेयर कलर, स्पा, हेडर डिजाइन, ड्रेसिङ, फेसियल, डे मेकअप, पार्टी र वेडिङ मेकअप, नेल आर्ट, मेहन्दी, मेडिकेयर र पेडिकेयर पनि सेवा दिन्छौं ।’ प्रयोग गरिने औजारहरु र सरसफाईमा एकदमै ध्यान दिइएको उनले बताए ।
एकेडेमीमा २ महिना बेसिक हेयर कोर्स, ३ महिना बेसिक हेयर एन ब्युटी कोर्स, २ साताको मेकअप, नेल आर्ट र मेहन्दी कोर्स, ६ महिने एडभान्स तथ डिप्लोमा फुल कोर्ससँगै अब्रोर्ड स्पेसल २ महिने कोर्स पनि गराइने आलेले बताए । ‘कोर्स गरेका विद्यार्थीहरुलाई भविष्यमा हाम्रो शाखामा रोजगारी पाउँछन्, र स्वरोजगार पनि बन्छन् । विदेशमा पनि राम्रो तलबमा काम पाउन सक्छन्,’ उनले भने । एकेडेमीमा हाल हेयर एक्सपर्टको रुपमा रोशन ठाकुर छन् भने स्टेज साथै बेहुला–बेहुली मेकअप एक्सपर्टका रुपमा सुशील पौडेल छन् । दुई दशकदेखि मेकअप क्षेत्रमा रहेका पौडेलले भने चाँडै मेकअप स्टुडियो पनि सञ्चालन गर्ने बताए । उनले भने, ‘मेकअप स्टुडियो पनि चलाउँछौं, त्यहाँ क्लास हुन्छ र पर्सनालिटी झल्काउने गरी मेकअप गर्छौं ।’ एकेडेमीमा सेलिब्रिटीहरुलाई स्टेज पर्फमेन्स गराउन र बेहुला–बेहुलीलाई विशेष मेकअपको व्यवस्था भएको पनि उनले बताए ।

Leave A Comment