कन्स्ट्रक्सनले जन्माएका कन्ट्र्याक्ट किलर

मङ्गलबार, ०४ पुष २०७४, १० : ५४ शुक्रवार
कन्स्ट्रक्सनले जन्माएका कन्ट्र्याक्ट किलर

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या कुनै समय उनकै इसारामा हिँड्ने एकजना टोले गुण्डाको योजनामा भयो । प्रहरी अनुसन्धान भन्छ, गौचन र गुण्डा नाइकेहरु बीचको सम्बन्ध बाक्लो थियो । गौचनले ठूला ठेक्काको कार्टेलिङका लागि प्रहरी सूचीमा रहेका सबै गुण्डालाई समय–समयमा प्रयोग गरेका छन् ।
अनुसन्धान प्रतिवेदनअनुसार २०७१ असोजमा तत्कालीन महासचिव रहेका गौचन र अर्का तत्कालीन सभासद तथा ठेकेदार कान्छाराम तामाङविरुद्ध महानगरीय प्रहरी महाशाखामा उजुरी परेको थियो । पीडित ठेकेदारहरुको समूहले दिएको उजुरीमा गौचन र तामाङको समूहले भूमिगत रहेका रमेश बाहुन र कुमार घैंटे समूहमार्फत अन्य ठेकेदारसँग रकम असुल्न धम्काएको आरोप लगाइएको थियो ।
त्यसबेला महाशाखा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक पुष्कर कार्की (तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक) ले दुवै समूहलाई तत्कालीन महासंघका अध्यक्ष जयराम लामिछानेको रोहबरमा छलफल गराएका थिए । यस्तै डिआइजी कार्कीले गौचन र तामाङलाई गुण्डाहरुको भरोसा गर्दा भोलि उनैबाट खतरा हुने भन्दै सम्झाउनुका साथै गुण्डा नाइकेको प्रयोग गरेको भेटिए कार्बाही चलाउने भन्दै चेतावनी दिएका थिए ।
‘हो, त्यतिबेला महाशाखामा घटनाको उजुरी भएको थियो, मैले चेतावनी दिएर छाडेको थिएँ, आखिर भनेजस्तै भयो,’ डिआइजी कार्कीले शुक्रबारलाई बताए । उनले थपे, ‘राज्य संयन्त्रको विश्वास र भर नपर्दा यस्ता आपराधिक समूहको समाजमा जन्म हुन्छ ।’
प्रहरी स्रोतका अनुसार त्यसबेला गौचन र तामाङको समूहले १५ प्रतिशत गुण्डा समूहलाई दिने गरी ५० लाख असुल्न धम्काएका थिए । जसमा घैंटे समूहबाट समीरमान सिंह बस्नेत प्रयोग भएका थिए ।
गौचन हत्याकाण्डको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले बनाएको समितिका सदस्य रहेका महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी गुण्डा र ठेक्कापट्टा व्यवसायीको सम्बन्ध अन्योन्याश्रित रहेको स्वीकार्छन् । उनले अनुसन्धानमा धेरै गुण्डा नाइके आफैँ ठेकेदार भएको र धेरै ठेकेदारले गुण्डा नाइकेको सहयोगमा ठेक्का हत्याउने र ठेक्काको कार्टेलिङ (मिलमतोमा ठेक्का पाउने) गरेको बताउँछन् ।
उनले भने, ‘नेपालको निर्माण व्यवसायमा शुद्धीकरणको आवश्यकता देखिएको छ, यो अवस्थाले गुण्डाहरुलाई आर्थिक रुपमा सबल बनाउनेबाहेक अन्य उपलब्धि हुने देखिन्न ।’ एसएसपी लोहनीले ठेक्काका लागि गुण्डा प्रयोग गर्ने ठेकेदारको सूची रहेको बताए पनि नाम भने खुलाउन चाहेनन् । लोहनीले थपे, ‘धेरै छन्, हामी अनुसन्धान गर्ने र उहाँहरुलाई भन्ने गरिरहेका छौं, भोलि उहाँहरुलाई नै अप्ठेरो पर्ने विषय हो ।’  
महाशाखाका अनुसार प्रहरी सूचीमा रहेका अधिकांश गुण्डाहरु देशभर हुने ठेक्कापट्टामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहने गरेका छन् । एउटा ठेकेदारको निर्देशनमा अर्को ठेकेदारलाई धम्काउने र ठेक्का हत्याउने खेल सामान्य भइदिँदा गुण्डाको आर्थिक पक्ष सबल र मजबुत हुँदै गएको महाशाखाको अनुसन्धानमा देखिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र उपत्यका हेर्ने महानगरीय अपराध महाशाखाले बनाएका फरक–फरक सूचीमा करिब ४० जना यस्ता व्यक्तिको नाम छ, जसको धन्दा भनेकै ठेक्का हत्याउने, ठेकेदार धम्काउने र निर्माण क्षेत्रमा असुली गर्ने रहेको छ ।

कन्स्ट्रक्सनले जन्माएका कन्ट्रयाक्ट किलर
समीरमानसिंह बस्नेत । अपराध– हत्या, अपहरण, फिरौती, धाकधम्की र ज्यानमार्ने उद्योग । उमेर–  ३४ वर्ष ।
काठमाडौं बाफलमा बिग्रिएको एउटा तन्नेरी आइतबार केन्द्रीय अनुसन्धान ब्युरोमा सबैका लागि आर्कषण जस्तै बनेको थियो । दर्जनौं क्यामराका लेन्स उसतर्फ सोझिएका थिए । ऊ पनि मुखमा मास्क लगाएर कर्के आँखाले सबैलाई हेर्दै थियो ।
दुई जना व्यक्तिको हत्या, एक जनाउपर गोली प्रहारजस्तो गम्भीर घटनाका मुख्य आरोपी समीरमानसिंह बस्नेत प्रहरीको करिब डेढ वर्ष लामो प्रयासपछि पक्राउ परेका हुन् । रुपन्देही एमालेका कार्यकर्ता तथा स्थानीय व्यवसायी दुर्गा तिवारीको हत्यापछि समीरमानको खोजीमा प्रहरी जुटेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको विशेष टोली चार पटकसम्म बेग्लाबेग्लै टोली बनाएर भारतका मुख्य सहरमा चहारे पनि समीरमान फेला परेका थिएनन् । उनको अपराध कर्मले भने निरन्तरता पाइरहेको थियो । यसबीच प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अनुमतिमा आधा दर्जन प्रहरी अधिकारी मनोज पुन र समीरमानको खोजीमा सक्रिय रहेको थियो ।
असोजको अन्तिम साता भने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै हत्यापछि समीरमान र उनको समूहलाई कठघरामा उभ्याउनु प्रहरीका लागि चुनौती बनेको थियो । ब्युरोले शनिबार त्यो सफलता पायो र एकजना मोस्ट वान्टेड प्रहरी फन्दामा परे ।
ब्युरोले समीरमानलाई त पक्राउ गरेको छ तर काठमाडौं र देशभर बग्रेल्ती संचालनमा रहेका ठेक्का र अपराधीको सञ्जालबारे प्रहरी अधिकारीहरू चिन्ता प्रकट गर्दछन् । एकजना वरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘समीरमानहरुका जन्मदाता नेपालको ठेक्कापट्टा व्यवसाय र व्यवसायी हुन् ।’
ब्युरोमा समीरमानले दिएको प्रारम्भिक बयानमा समेत शरदकुमार गौचनसँगको ठेक्कापट्टाकै लेनदेनको विषय घटनाको प्रमुख कारण थियो ।
घैंटेका सहयोगी समीरमान
समीरमान प्रहरी मुठभेडमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेका मुख्य सहयोगीमध्ये एक हुन् । सुरुवातमा कलंकी क्षेत्रमा सक्रिय रहेका विश्वक्रान्ति सिंह (हाल कारागारमा) सँग निकट रहेका समीरमान मितेरी यातायातका संचालक शेखर गुरागाईंको अपहरणपछि फरार भएका थिए । घटनामा संलग्न सिंह, समीरमान र राजु बोगटीको समूह त्यसबेला छिन्नभिन्न भयो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको सूचीमा पटके अपराधीको सूचीमा रहेका समीरमान २०६६ भदौ १५ पछि लामो समय फरार रहे । त्यसपछि उनी घैंटेको निकट भएर झुल्किन थाले । अपहरण मुद्दामा मतियार बनाइएका उनले घटना साम्य भएपछि बालुवा र अवैध असुलीलाई पेसा बनाए ।
घैंटेका लागि समूह परिचालनको जिम्मेवारी पाएका समीरमानलाई उनैले शरदकुमार गौचनसँग परिचय गराएका थिए । त्यसपछि घैंटेको इसारामा समीरमानले ठेकेदार समूहका लागि ठूला ठेक्का कार्टेलिङ गर्न थाले । जसको कमिसन निश्चित प्रतिशतमा हुन्थ्यो । यसबाहेक रात्रीकालिन व्यवसाय र बालुवा खानी तथा रोडाढुङ्गाको व्यवसायसमेत चम्कदै थियो ।
यसैबीच प्रहरी मुठभेडमा घैंटे मारिए । समीरमानका नातेदार एकजना प्रहरी अधिकारीको सल्लाहमा उनी भूमिगत भए । काठमाडौंबाट भागेर देशका विभिन्न सहरमा भौँतारिइरहेका समीरमान र मनोज पुनको भेटले नयाँ योजना र अपराध कर्मलाई जन्म दियो । नतिजा शरदकुमार गौचन हत्याकाण्ड हुन पुग्यो ।  
गुण्डाको पेसामा अधिकांशको ठेक्कापट्टा
केन्द्रीय अनुसन्धान ब्युरोको स्थापनापछि प्रहरीले एउटा समूह बनाएर देशभर सक्रिय रहेका पुराना र नयाँ गुण्डाहरुको सूची तयार गरेको थियो । त्यसबेला बनेकै सूचीमा प्रहरीले रातो चिह्नमा राखेका गुण्डा नाइकेदेखि टोले गुण्डासम्मको आय आर्जन र पेसामा ठेक्कापट्टा र बालुवा तथा रोडाढुङ्गा खानी रहेको देखिन्छ ।
उक्त सूचीमा सुरुवातमा अवैध असुली र रात्रिकालीन व्यवसायमा सक्रिय रहेका पुराना गुण्डा नाइके काजी शेर्पा, रमेश बाहुन (हाल कारागार), गणेश लामा, दीपक मनाङे, मिलन चक्रे, बाघबहादुर लामा, मिलन श्रेष्ठ सेक्सी र मीनकृष्ण महर्जन लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्माण व्यवसाय र व्यवसायीसँग जोडिएका छन् ।
प्रहरीले काठमाडौं उपत्यकालाई जिल्लागत र क्षेत्रगत विभाजन गरेर बनाएको गुण्डाहरुको सूचीमा जिल्लाका लागि खोलिने ठेक्कामा सोही जिल्लामा सक्रिय गुण्डा नाइके र क्षेत्रमा हुने निर्माण कार्यमा सोही क्षेत्रका गुण्डाको हालीमुहाली हुने गरेको छ ।
प्रहरी स्रोत भन्छ, ‘घैंटे जिउदै रहँदासम्म र हाल पनि उसको क्षेत्रमा भएका सबै निर्माणमा उसकै निर्माण कम्पनी वा साझेदारीमा काम भएको रेकर्डले गुण्डाहरुको ठेक्कामा बर्चस्व देखाउँछ ।’

Leave A Comment