लागू पदार्थविरूद्ध जापान

शुक्रबार, ०७ पुष २०७४, ११ : ३४ शुक्रवार
लागू पदार्थविरूद्ध जापान

लागूऔषध सेवनविरुद्धको अभियानमा नयाँ बाटो खोल्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अपेक्षा गरेको छ । आईओसीका उपाध्यक्ष जोन कोट्सले डोपिङविरुद्धको लडाइँमा जापानको इतिहास सबभन्दा सफा रहेको बताए ।  ‘डोपिङविरुद्धको अभियानका लागि संसदबाट कानुन पास भइसकेको देश भएकाले जापानी खेलकुद र त्यहाँको सरकार यो अभियानमा सबभन्दा सहयोगी हुनेछ,’ टोकियोको तयारी अवलोकन गर्न जापान पुगेका कोट्सले तीनदिने भ्रमणको अन्तिममा भने ।

कोट्सका अनुसार जापानी आयोजकहरूले मान्यताप्राप्त ल्याबका साथ डोपिङ परीक्षणको उच्चस्तरीय सुविधा व्यवस्था गरेको छ । ‘यो विषयमा हामी कहिल्यै पनि आरामदायी पारामा बस्न सक्दैनौं । डोपिङ विश्व खेलकुदको सबभन्दा ठूलो अपराध हो । यसलाई नियन्त्रण गर्नका लागि हामी सधैं सचेत हुनु जरुरी छ । टोकियोमा हुने आगामी ओलम्पिक पारदर्शिता र लागूऔषधको विषयमा इतिहासकै सर्वोत्कृष्ट हुने मैले विश्वास लिएको छु,’ कोट्सले भने । तीन वर्षअघि आफैंले आयोजना गरेको सोचेर हिउँदे ओलम्पिक २०१४ मा राज्यकै प्रोत्साहनमा रूसी खेलाडी डोपिङमा मुछिएको भन्दै आईओसीले अर्को वर्ष दक्षिण कोरियामा हुने प्योङचाङ हिउँदे ओलम्पिकमा रूसलाई सहभागिताबाट वञ्चित गरेको थियो ।

रूसी खेलाडीले आफू डोपिङमा निर्दोष रहेको प्रमाणित गरे ओलम्पिकको झन्डामुनि खेल्न पाउने आईओसीले गत साता निर्णय गरेको थियो । देशमाथि प्रतिबन्ध लाग्नुको बाबजुद रूसी अधिकारीहरूले आफ्ना २ सयभन्दा बढी खेलाडी हिउँदे ओलम्पिकका लागि दक्षिण कोरियाको भ्रमण गर्ने अपेक्षा गरेका छन् । कोट्सले डोपिङसँगै जापानले आयोजना खर्चमा पनि कटौती गर्नुपर्ने विचार राखे । ओलम्पिक आयोजना ठूलो खर्चका कारण चुनौतीपूर्ण बन्दै गएपछि आईओसीले यसलाई कम खर्चिलो बनाउने अभियान थालेको छ । आईओसी अध्यक्ष थोमस बाचले ठूलो खर्चका कारण आगामी दिनमा ओलम्पिक आयोजना गर्न इच्छुक सहर तथा देश नपाउने खतराका कारण यसलाई मितव्ययी बनाउने एजेन्डा २०२० नाममा योजना ल्याएका छन् ।

जापानले अहिलेसम्मकै भव्य र सुविधासम्पन्न ओलम्पिक आयोजना गर्ने लक्ष्यमा यसको बजेट १२ अर्ब अमेरिकी डलर अनुमान गरेको छ । तर कोट्सले त्यसबाट १ अर्ब डलर घटाउन सकिने बताएका छन् ।

Leave A Comment