निरन्तर यात्रामा ‘जिप्सी’

बिहिबार, १३ पुष २०७४, ०१ : ०९ पुष्पा थपलिया
निरन्तर यात्रामा ‘जिप्सी’

विभिन्न संयोगले जुरेको भेट, भेटपछि सँगै यात्रामा निस्केका यात्रीको एक समूह, जिप्सी ब्यान्ड । जिप्सी अर्थात् निरन्तर यात्रामा निस्केको यात्री, नामअनुसारकै गन्तव्य थाहा नपाएको यात्री ठान्छन्, ब्यान्डका मेम्बरहरू पनि आफूहरूलाई । यस ब्यान्डले यही गर्ने भन्ने निश्चित उद्देश्य लिएको छैन तर उनीहरूको मूल मन्त्र छ, जसरी पनि संगीतमार्फत आफ्ना श्रोता, दर्शकलाई मनोरञ्जन दिने । श्रोता, दर्शक जसरी खुशी हुन्छन्, जे गर्दा खुशी हुन्छन् त्यसमै आफूलाई ढाल्ने र निरन्तर यात्रा गरिरहने हाम्रो उद्देश्य हो, ब्यान्डका मेन भोकलिष्ट जयन जे. बाइवाले भने ।

ब्यान्डमा पाँच सदस्य छन् । आरोग्य श्रेष्ठ ड्रमर, दीपक राना वेसिष्ट, दीपेश तुलाधर र सुयश सिंह गितारिस्ट अनि जयन मेन भोकलिष्ट । यी पाँचको भेट कसरी भएछ त ? उनीहरूले बडो चाखलाग्दो तरिकाले आफ्ना भेटबारे सुनाए ।

सुरुमा जयन र आरोग्यको भेट भएछ, जलपसिल ब्यान्डमा । जलपसिलको अर्थ नयाँ प्याकेज हुँदोरहेछ तर यसलाई धेरैले बुझेनछन् । पछि जलपसिलका मेम्बरहरू विदेशिन सुरु गरेपछि आरोग्य अर्कै ब्यान्डतिर लम्किएछन् भने जयन एक्लै विभिन्न म्युजिकका काममा व्यस्त भएछन् । जयनको मनमा मिल्ने साथीहरू भए एक ब्यान्ड खोल्ने हुटहुटी धेरै अगाडिदेखि रहेछ । त्यसै समयमा आरोग्य अर्को ब्यान्डका मेम्बरदेखि वाक्क भइरहेका रहेछन्, आरोग्यले भने, ‘काम गर्न सबैको मन मिल्न जरुरी हुनै पर्छ ।’ एकले अर्कोलाई रेस्पेक्ट नगर्ने हो भने त्यो अगाडि बढ्न सक्दैन । आरोग्य र जयन फेरि एक भएछन् ।
दुईजनाले मात्रै त ब्यान्ड हुँदैन । दुवैले मन मिल्ने साथीहरू खोज्न थाले तर भेटिएन । एकदिन ‘हाम्रो बजार डट कम’मा कस्ताकस्ता म्युजिकल इन्ष्टुमेन्ट पाइन्छ भनेर खोज्दा फेला परेछन्, दीपेश तुलाधर । दीपेशलाई ‘हाम्रो बजार डटकम’बाट सर्च गरेर ल्याएको भन्दै सबैजना हाँस्न थाले, लजाउँदै दीपेश बोले, खासमा मेरो पढाइ बिग्रियो भनेर घरमा कराउन थालेपछि मैले आफ्ना इन्ष्टुमेन्टहरू ‘हाम्रो बजार डटकम’मा बेच्न राखेको थिएँ, सामान बेच्न राखेको मान्छेलाई यिनीहरूले कन्भिन्स गराएर यता ल्याए । दीपेशसँगै प्याकेजमा आए दीपक राना । दीपकले हाँस्दै सुनाए, हामी दुवै कसमस कलेजमा आइटीका विद्यार्थी हौं । कलेजमै चिनजान भएपछि, यता वेसिष्टको आवश्यकता परेको रहेछ भन्ने थाहा पाएँ र आएँ । सुयश भने ब्यान्डमा प्रवेश गरेको दुई हप्ता जति मात्रै भएछ । दुईजना गितारिस्ट भएपछि काम गर्न सजिलो हुने भएकाले जयनको चिनजानबाट उनी यता आएछन् र पूर्ण भएछ, जिप्सी ब्यान्ड ।

उनीहरूले जिप्सीमा काम पाउन थालेको करिब एक वर्ष पुग्नै आँटेछ । हालसम्म दर्जनांै स्टेज कार्यक्रम गरिसकेका उनीहरूले ब्यान्डकै नामबाट रेकर्ड गीत पनि तयार पारिसकेका छन् । जयनले भने, ‘हामी एक महिनाजतिमै तिम्रो मेरो मायाँको गाँठो बोलको लिरिकल गीत फालिहाल्छौं, त्यसपछि बिस्तारै अन्य गीत गर्दै जाने हो ।

यतिधेरै ब्यान्डको हुलमा के फरक छ त जिप्सी भन्ने प्रश्नमा आरोग्यले भने, ‘यही जनरा भन्ने त हामीले तोकेका छैनौं तर गीतमा इफेक्ट युज गरेर, क्लासिकमा रक, मेटल सबै फ्युजन गरेर नयाँ तरिकाले कभर सङहरू गर्नेछौं ।’ सुयशले त्यसैमा थपे, ‘अडियन्सले खोजेको म्युजिक समेट्ने हाम्रो कोसिस जारी रहनेछ ।’

जिप्सी ब्यान्ड अन्डरग्राउन्डमै छ । तर यसका सदस्यहरू म्युजिकमा परिपक्व छन् । उनीहरू सबैले पालैपालो म्युजिक रोज्नुकोे कारण सुनाए । जयशको बाबा संगीतमा रुचि राख्थे तर उनी सानै हँुदा बेपत्ता भएको अहिले २४ वर्ष भयो सम्पर्कमा आएका छैनन् । तिनै बाबाले प्रयोग गर्ने म्युजिकल इन्ष्टुमेन्ट बजाएर उनले म्युजिक सिके र यसैलाई निरन्तरता दिने योजना बनाए, त्यस्तै उनका मामा पनि गितार बजाउँथे । सुयशका त झनै परिवारै सांगीतिक माहोलका । उनले भने, ‘मेरो ड्याडी गितारिस्ट, दादा र दिदी भोकलिष्ट । उनीहरूको परिवारै मिलेर सुर्खेतमा अफोर्ड ब्यान्ड नै खोलेका थिए । उनी कक्षा १२ मा पढ्दै थिए, फाइनल परीक्षाको दिन ब्यान्डदेखि कन्सर्ट प¥यो । उनले परीक्षा दिन जान नपरोस् भनी घरमा बिरामी भएको नाटक गरे तर त्यसले काम गरेन । जाबो तीन घण्टा त हो नि भनेर घर बस्नै दिएनन् । उनको पालो परीक्षा दिन भनेर घरदेखि निस्किए र सिधैं कन्सर्ट गर्न गए । परीक्षा ड्रप गरेको घरमा थाहा भइहाल्यो र उनलाई जति सहयोग थियो संगीतमा सबै खोसियो । उनी पनि कहाँ कम थिए र, घरै छाडेर काठमाडौं हानिए । यहाँ आएर म्युजिक पढ्न थाले र पछि त्यहाँ काम पनि पाए । अहिले परिवारले सपोर्ट गरिरहेको उनले गर्वका साथ सुनाए र भने, ‘मैले मेरो पढाइ ड्रप गरे पनि यहाँ आएर पढेँ ।’ ब्याचलर पढेजत्तिको योग्यता बनाएँ यहाँ आएर र अहिले आफँै म्युजिक सिकाउँछु । यसदेखि मेरो बाबा निकै खुशी हुनुहुन्छ, उहाँको क्षमता र चाहना हुँदाहुँदै अपुरो रहेको काम मैले पूरा गरिरहेको छु ।

दीपेशको भने दाइले गितार बजाएको देखेर रहर पलाएको बताउँछन् । दीपकको पनि सानैदेखिको रहर रहेछ म्युजिकमा । आरोग्यलाई भने यस क्षेत्रमा आउन परिवारले सपोर्ट गरेको रहेछ । बेलाबेला ब्यान्डमा गीतको जनराबारे डिस्कस पर्दोरहेछ तर मेलमिलाप हुनुको कारण सबैले एकै स्वरमा भने – ‘स्याक्रीफाइज’ । एकै कुरामा मात्रै अडिग रहे त्यसले ठूलो रूप लिने भएकाले केही कुरा स्याक्रीफाइज गरेर अगाडि बढ्न सजिलो हुने उनीहरूको बुझाइ छ । ब्यान्डका मान्छे भन्ने बित्तिकै ड्रग्स खान्छन् भन्ने सोच चिर्ने उनको प्रयास भएको बताए । ‘समाजमा ब्यान्ड भन्नाले काम नपाएकाको समूह, कुलतमा फस्ने मानिस भनेर बुझ्छन् र कतिपय ब्यान्डका मेम्बर क्रियाशील भइन्छ भनेर पनि कुलतमा फस्छन्,’ आरोग्यले भने, ‘यदि त्यसरी क्रियाशील भइन्थ्यो भने किन म्युजिकका क्लास लिनुपथ्र्यो, दुःख गरेर म्युजिक पढ्नुपथ्र्यो ?’
 

Leave A Comment