चर्चामा आउने अनेक काइदा : बडिगार्डदेखि बिकिनीसम्म

शनिबार, २२ पुष २०७४, १२ : ०४ अनिल यादव
चर्चामा आउने अनेक काइदा : बडिगार्डदेखि बिकिनीसम्म

फिल्मकर्मीले चर्चा खोज्नु कुनै नौलो कुरो होइन । तर चर्चा चलाउनैका लागि नेपाली फिल्मकर्मीले जे उटपट्याङ हर्कत गरिरहेका छन्, त्यो उदेक मात्र होइन, वाहियातै देखिन थालेको छ । उनीहरु बडिगार्ड र बिकिनीलाई प्रचारको बलियो अस्त्र ठानिरहेका छन् । आफ्नो सिर्जनाको गहनतामा भन्दा क्षणिक चर्चामा जोड दिइरहेका छन् । अनिल यादवले नेपाली फिल्म क्षेत्रमा भइरहेका फिल्मकर्मीका अनेक चर्चा–फन्डालाई नजिकबाट नियालेका छन् ।

न उनी फिल्म क्षेत्रका ‘पपुलर स्टार’ हुन, न कसैबाट उनलाई सुरक्षा खतरा थियो । न उनको ठूलो फ्यान फलोइङ नै छ । तैपनि आफ्नो दायाँबायाँ ६ जना बडीगार्ड उभ्याएर उनी अर्थात् अभिनेता कुशल थापा पोखराको ‘स्ट्रिट कन्सर्ट’मा पुगे । र, आफ्नो फिल्म ‘ह्याप्पी न्यु इयर’बारे प्रचार गरे । उनलाई बडीगार्डसहित देखेपछि धेरैलाई लाग्यो, ‘गन्दाखेरी अटोग्राफ माग्ने त ६ जना पुग्दैनन् होला, किन राख्या होला ६ जना बडिगार्ड ?’
०००
दुई साताअघि फिल्म ‘रोमियो एन्ड मुना’ले काठमाडौंमा ‘स्यान्डविच’ बोलको गीत सार्वजनिकीकरण कार्यक्रम राखेको थियो । चिसो याम भएकाले त्यतिबेला उपस्थित सबैका शरीरमा बाक्ला कपडा थिए, माहोल पनि चिसै थियो तर एक्कासि तात्यो जब अभिनेता विनय श्रेष्ठ दुईजना बिकिनी पहिरिएका युवती लिएर प्रेस मिटमा छिरे । अंकमाल गर्दै नाचे र एकछिन रमाइलो गरे । भाडामा ल्याइएका ‘बिकिनी गल्र्स’ त्यसपछि बाहिरिए । यता विनयले तर्क दिए, ‘गीतको थिम अनुसार यसो गरिएको हो ।’
०००
फिल्म क्षेत्रमा अझै नसेलाएका ताजा किस्सा हुन् यी । हालै भएका यी किस्सा फरक–फरक प्रकृतिका भए पनि दुवैको ध्येय भने एउटै थियो– चर्चा कमाउनु । कलाकार उसै पनि चर्चा खोज्ने जात हो । उसलाई अखबार, टिभी र अनलाइनमा छाइरहनु पर्छ । चर्चामा आउनकै लागि पछिल्लो समय फिल्मकर्मीले अनेक फन्डा अपनाउन थालेका छन् । फिल्म चलाउन र आफू चल्नका लागि ‘नियोजित’ रुपमै अनेक चर्तिकला गर्ने र मिडियामा हल्ला चलाउने, यो उनीहरुको पुरानै बानी हो । फरक यत्ति हो, अहिले प्रचारका काइदा बद्लिँदैछन् । चर्चाको भोकमा फिल्मकर्मी नानाथरी उपाय अपनाउँदैछन् । पहिले प्रेम र सम्बन्ध प्रचारका बलिया अस्त्र हुन्थे, अहिले बिकिनी र बडिगार्डले त्यसको ठाउँ ओगट्दैछ ।

फिल्म चलाउने नाममा भइरहेका यस्ता फन्डाप्रति फिल्म समीक्षक नवीन सुब्बाको ठूलो विमति छ । पोखरामा अभिनेता कुशल थापाले ६ जना बडिगार्ड उभ्याएर गरेको कन्सर्ट उनले पनि देखेका रहेछन्  । ‘म हालै पोखरामा रहँदा एक जना फिल्मकर्मीले ६ जना बडीगार्ड उभ्याएर बीच सडकमा कार्यक्रम गरेको देखेँ । त्यहाँ ‘अलमोस्ट न्याकेड’ एकजना युवती नाचिरहेकी थिइन्,’ समीक्षक सुब्बाले शुक्रबारसँग भने, ‘मलाई लाग्छ चर्चाका लागि गरिने यस्ता फन्डाहरुले फिल्म क्षेत्रलाई उभो लगाउँदैन, बरु यसको गरिमा घटाउने काम गर्छ । यसले फिल्म क्षेत्रकै गरिमालाई अवमूल्यन गर्ने काम गर्छ । बरु ६ जना बडिगार्ड राख्ने खर्च त फिल्ममा गरे राम्रो हुन्थ्यो !’

अभिनेत्री केकी अधिकारी यस मामिलामा फिल्मकर्मीको मात्र दोष देख्दिनन्, मिडियालाई पनि दोषी ठान्छिन् । ‘यसमा म मिडिया र फन्डा दिने दुवै दोषी देख्छु,’ उनी भन्छिन्, ‘अहिले सिम्पल न्युज लेख्नै छाडिएको छ । भ्युअर्स बढी आउने र हिट हुने कुरा खोज्न थालिएको छ । मिडियाको ध्यान पनि जे चिज बिक्छ, त्यसमा जान थालेको छ । जसका कारण फिल्मकर्मीमा पनि आफ्नो प्रोडक्ट बिकाउनका लागि ‘केही नयाँ’ दिनुपर्छ भन्ने सोच हाबी हुँदैछ । तर, यस्तो कुरा सधैँ टिक्दैन । गलत शैली सधैँभरी टिक्दैन, बिस्तारै आफैँ हराएर जान्छ ।’

चर्चा लागि बिकिनी
यतिबेला फिल्मकर्मीका लागि चर्चा कमाउने ठूलो हतियार बनेको छ– बिकिनी । खबरमा आउनु छ भने अरु केही गर्नु पर्दैन, बस् बिकिनी लगाएको तस्बिर फेसबुकमा पोस्टिदिए पुग्छ । विभिन्न शीर्षक र टिप्पणीसहित खबर तत्काल ‘भाइरल’ भइहाल्छ ।

फिल्म ‘रोमियो एन्ड मुना’को प्रेस मिटमा विनयले बिकिनी लगाएका दुई युवतीलाई खडा गर्नुको मूलः उद्देश्य पनि चर्चा कमाउनु नै थियो । नेपाली फिल्मकै इतिहासमा यसअघि कसैले यसरी प्रेस मिट गरेको थिएन । यस्तो जाडोमा मान्छेहरु स्विमिङ पुलमा स्विमिङ सुट लगाएर पौडी खेल्न त गाह्रो मान्छन्, उनले प्रेस मिटमै ‘विकिनी गल्र्स’लाई उभ्याइदिए, यो चानचुने कुरा होइन । त्यस दिन रिलिज भएको ‘स्यान्डविच’ बोलको गीतभित्र पनि बिकिनीको दृश्य थियो । गीतको थिमअनुसार नै त्यसरी फरक ढंगले प्रेस मिट गरिएको तर्क विनयले पेस गरेका थिए ।

विनयको यो फरक खालको प्रचार शैली फिल्मवृत्तमा ठूलो चर्चाको विषय बन्यो, चर्चा अझै सेलाएको छैन । यो उनका लागि सफलता नै हुनसक्छ । तर, थुप्रै फिल्मकर्मीले यसको खुलेर विरोध गरेका छन् । हास्यअभिनेता जितु नेपालले त आफ्नो गुनासो फेसबुकमै सार्वजनिक गरिदिए, ‘बिकिनीमा बिक्न खोज्नु र बिकिनी बिकाउनतिर लाग्नु नेपाली चलचित्रको लागि दुर्भाग्य हो । यो हाम्रो संस्कार होइन, संस्कृति पनि होइन । हो, आफ्नो छुट्टै पहिचान बनाउनु पर्छ, अरू भन्दा फरक पनि हुनुपर्छ तर यसका लागि नाङ्गा तरूनी चाहिँदैन । यो समय भनेको नेपाली चलचित्रका लागि सिक्ने समय हो, बिकिनी बेच्ने समय होइनजस्तो लाग्छ । विनयजी जस्तो एक असल कलाकार र निर्माताजस्तो जिम्मेवार व्यक्ति यसरी प्रस्तुत नहुनुपर्ने हो । भोलि के मामाघर–ससुराली जाँदा पनि यसरी नै इन्ट्री मार्ने त ?’
लामो समयदेखि फिल्म पत्रकारिता गर्दै आएका पत्रकार डब्बु क्षेत्रीले त प्रेस मिटमा बिकिनी लगाएका युवतीसँग विनय अंकमाल गर्दै उपस्थित हुँदा विशेषतः महिला पत्रकारहरुले आँखा छोप्नुपरेको टिप्पणी गरे । ‘फिल्मको गीतमा बिकिनी लगाएको दृश्य भएकाले यसो गरिएको हो भन्ने निर्माण पक्षबाट जवाफ आयो,’ उनले फेसबुकमै विरोध गरे, ‘यस्तै हो भने भोलि फिल्ममा बेडसिन छ भन्दैमा पत्रकार सम्मेलनमा पनि बेडसिन गरेर देखाए भने के गर्ने ? कृपया पत्रकार सम्मेलनमा प्रस्तुत हुँदा लोकलाजको पनि ख्याल राख्ने पो हो कि ?’

धेरैलाई थाहा भएकै हो, जब–जब अभिनेत्री सुष्मा कार्कीलाई चर्चाको ‘भोक’ लाग्छ, उनी अनेक ‘तमासा’ गर्न तयार हुन्छिन् । फिल्म क्षेत्रमा अहिले उनको उपस्थिति शून्यजस्तै छ । जानकारहरुको दाबी छ, ‘उनका लागि कोही पनि निर्माता फिल्ममा पैसा खन्याउन तयार छैनन् ।’ देखिएको पनि त्यस्तै छ । उनले कुनै फिल्म साइन गरेको खबर सुनिएको छैन । कुनै बेला प्रायः मिडियाको खबर र गसिपमा छाइरहने सुष्मालाई पछिल्लो समय आफू चर्चाबाहिर भएको महसुस भएर होला, उनले गएको मंसिरमा एउटा पाँचतारे होटलको स्विमिङ पुलमा बिकिनी लगाएर खिचेका पोजपोजका तस्बिर फेसबुकमा राखिन् । नभन्दै सुष्मा पुनः चम्किइन् । ‘स्विमुङ पुलमा सुष्माको बिकिनी अवतार’ जस्ता शीर्षकमा उनको बिकिनीले जताततै स्थान पायो ।

सुष्मा मात्रै होइन, थुप्रै अभिनेत्रीहरु बिकिनीका कारण चर्चामा आएका छन् । साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । उनलाई चर्चामा आइरहन बिकिनी लगाएको तस्बिर फेसबुकमा पोस्ट गर्नुपर्ने आवश्यकता छैन । तैपनि केही साताअघि उनले अस्ट्रेलियाको समुन्द्रमा ‘टु पिस’ पहिरन लगाएको फोटो सामाजिक सञ्जालमा हालिन् र मिडियामा छाइन् । साम्राज्ञी तिनै हिरोइन हुन्, जसले आफ्नो पहिलो फिल्म ‘ड्रिम्स’ ताका ‘ब्याक ओपन’ भएको एउटा दृश्य फिल्मबाट हटाउन निर्देशक भुवन केसीलाई दबाब दिएको चर्चा चलेको थियो । खैर, पहिले जेसुकै भएको होस्, साम्राज्ञी अहिले पूरै परिवर्तन भइसकेकी छन् । कहिले विकिनी पोज, कहिले प्रेमीसँगको तस्बिर या प्रधानमन्त्रीले राखेको चियपानमा नाइटोको मुन्द्रा देखिने पहिरन लगाएर भए पनि  खबरमा भने उनी छाइरहेकी छन् ।

केही महिनाअघि अभिनेत्री पूजा शर्माले थाइल्यान्डको समुन्द्रमा बिकिनी लगाएर खिचेको तस्बिरले पनि मिडियामा चर्चा पाएको थियो । उनले त्यतिबेला बिकिनीलाई लिएर रोचक स्पष्टीकरण पनि दिएकी थिइन्, ‘मलाई त्यो बिकिनी साथीले गिफ्ट दिएको हो । त्यो स्विमिङ सुट थियो जुन स्विमिङ गर्न जाँदा, समुन्द्रतिर जाँदा लगाउने चिज नै हो । म मन्दिरमा जाँदा त लाउँदिन नि ! होइन र ?’

प्रेस मिटमै बडिगार्ड
फिल्म क्षेत्रमा ‘काम कम, हल्ला बढी’ खोज्ने जमात बाक्लिदै छ । आफ्नो सिर्जनालाई कसरी उत्कृष्ट बनाउने भन्दा पनि कसरी चर्चा कमाउनेतिर ध्यान बढी केन्द्रित हुन थालेको छ । आवश्यकता होस्÷नहोस्, नयाँ र उदीयमान कलाकार पनि ‘बडिगार्ड’ राखेर हिँड्न थालेका छन् । त्यो उनीहरुको सुरक्षामा कुनै खतरा भएर होइन, मात्रै चर्चामा आउनका लागि हो ।

रोचक त के छ भने अरु बेला मुखमा मास्क लगाएर एक्लै हिँडिरहेको भेटिने कलाकारहरु प्रेस मिटमा भने ‘बडिगार्ड’को सुरक्षा घेराभित्र उपस्थित हुन्छन् । गत भदौमा राजधानीको अन्नपूर्ण होटलमा निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘लिलिबिली’को घोषणा हुँदै थियो । पत्रकारहरु कतिबेला फिल्मका कलाकारहरु आउलान् र कार्यक्रम सुरु होला भनेर पर्खिरहेका थिए । त्यत्तिकैमा दुईजना युवतीहरु दुई–दुईजना अफ्रिकी मूलका बडिगार्डसहित हलभित्र आइपुगे । खासमा ती दुई युवतीहरु त्यही फिल्मबाट डेब्यु हुँदै गरेका नवअभिनेत्री रहेछन्– जसिता गुरुङ र रेविका गुरुङ । तिनीहरुको त्यस्तो इन्ट्रीलगत्तै अभिनेता प्रदीप खड्का चार जना बडिगार्डको सुरक्षा घेराका बीच फिल्मशैलीमा कार्यक्रम हलभित्र प्रवेश भए ।

‘यी हिरो–हिरोइनलाई हामी पत्रकारहरुबाटै खतरा भयो कि क्या हो ? पूरा बडिगार्डसहित आए त !’ पत्रकारहरुबीच नै गाइँगुइँ चल्यो । उता फिल्मका निर्देशक मिलन चाम्सले फिल्म क्षेत्र ‘सो–अप’ गर्ने क्षेत्र भएकाले बडिगार्डको आवश्यकता महसुस गरेको स्पष्टीकरण दिए । ‘फिल्म क्षेत्रमा आउँदै गरेका नयाँ कलाकारका लागि पनि यो सकरात्मक सन्देश हो । चलचित्रको प्रिमियरमा रेड कार्पेटको सुरुवात पनि मैले नै गरेको थिएँ, अब यो शैलीको सुरुवात गरेको छु,’ उनको तर्क थियो । बलिउड स्टारले बडिगार्ड लिएर हिँड्दा हुन्छ भने नेपालीले किन नहुने ? भन्ने प्रतिप्रश्न पनि उनको थियो ।

‘प्रेमगीत’ फिल्मबाट चम्किएका अभिनेता खड्कालाई सायद ‘बडिगार्ड’ फन्डाले राम्रै सन्देश पुग्ला भन्ने लागेको थियो तर धेरैले चर्चाका लागि सस्तो प्रचारबाजी गरेको भन्दै उनको आलोचना गरे । दुई नयाँ हिरोइनलाई दिइएको बडिगार्डका विषयमा कुनै चर्चा भएन तर सामाजिक सञ्जालमा धेरैले प्रदीपलाई उडाएर लेखे ।  ‘म त आलोचना गर्नेको नियतमै खोट देख्छु, पहिलो कुरा बडिगार्ड मैले घरबाट लिएर गएको होइन । आशुसेन फिल्म्सले मेरो सहयोगका लागि एकजना असिस्टेन्ट दिएको छ, म त उहाँसँगै गएको थिएँ,’ उनको तर्क थियो, ‘मलाई प्रेस मिटको कुनै सेटअप थाहा थिएन । कार्यक्रम स्थलमा पुगेपछि ‘तिमीलाई त्यहाँ उनीहरुले गाइड गरेर लान्छन्’ भनेर मलाई बडिगार्डसँगै पठाइयो । कसैले मलाई सम्मान दिन्छ भने मलाई कसरी ‘इग्नोर’ गर्ने ? फेरि मैले प्रोड्युसरको प्लानमा कसरी नचल्ने ? मसँगसँगै त्यहाँ अरु दुई जना डेब्यु हिरोइनलाई पनि दुई–दुईजना बडिगार्ड दिइएको थियो । त्यसको चर्चा किन भएन ? मेरो मात्रै किन ? त्यसैले पनि म नियतमा खोट देख्छु ।’

बडिगार्डको ट्रेन्ड नेपालमा अभिनेता अनमोल केसीले सुरु गरेका हुन् । ‘ड्रिम्स’ रिलिजको बेला आफ्नो फ्यान क्रेजलाई ध्यानमा राख्दै उनी बडीगार्डसहित हल–हलमा पुगेका थिए । त्यसपछि उनी अहिले प्रेसमिट लगायत सार्वजनिक कार्यक्रममा पुग्दा ‘भाडाका बडीगार्ड’सहित पुगिरहेका हुन्छन् । उनले सुरु गरेकै ट्रेन्ड अहिले फिल्मकर्मीका लागि चर्चा कमाउने माध्यम भइरहेको छ ।

नेपालमा सबैभन्दा लोकप्रिय र ठूलो फ्यान फलोइङ भएका अभिनेता हुन्, राजेश हमाल । उनले अहिलेसम्म बडिगार्ड राखेका छैनन् तर नयाँ फिल्मकर्मीको चुरीफुरी देखेर फिल्म समीक्षक नविन सुब्बा पनि चकित छन् । ‘हामीकहाँ अहिले देखिएको बडिगार्ड राख्ने ट्रेन्ड सायद छिमेकी मुलुकबाट कपी भएको होला । भारतमा कलाकारहरुले बडिगार्ड किन राख्छन् भने त्यहाँ कलाकारमाथि हुलहुज्जत हुन्छ,’ उनी भन्छन्,  ‘हाम्रो मुलुकमा त्यसरी हुलहुज्जत भएको अहिलेसम्म मलाई थाहा छैन । सबैभन्दा बढी फ्यान फलोइङ भएका राजेश हमालमाथि अहिलेसम्म दुव्र्यवहार भएको सुनिएन । बडिगार्ड राखेको पनि देखिएन । अरुलाई चाहिँ किन आवश्यक परेछ ?’

पारिश्रमिकको हल्ला
चर्चा कमाउनु छ, खबरमा आउनु छ भने केही गर्न पर्दैन, ‘मलाई यति लाखमा फिल्म खेल्ने अफर आयो तर पनि रिजेक्ट गरिदिएँ’ भने पुग्छ । यो अहिले फिल्मकर्मीकै ‘फर्मुला’ बनेको छ र यतिबेला बजारमा व्यापक प्रयोगमा छ । केही हप्ताअघि अभिनेता अनमोल केसीलाई अभिनेत्री झरना थापाले निर्देशन गर्ने नयाँ फिल्मका लागि ५० लाखमा अफर आएको हल्लाले फिल्मवृत्तमा ठूलै हंगामा मच्चियो । ५० लाखमा नेपाली फिल्म नै निर्माण भइरहेका बेला अनमोललाई ५० लाख नै दिनेगरी फिल्मको अफर भयो भन्दा त्यसले हलचल नमच्चाउने कुरै थिएन ।

अभिनेत्री झरना थापाले स्वयम्लाई यो खबरले तनाव दियो । उनले तत्काल खण्डन गरिन्, ‘नेपाली चलचित्रको बजार सानो भएकाले धेरै लगानीमा चलचित्र बनाउनु आफैँमा जोखिमपूर्ण छ । वर्षमा ५ प्रतिशत सिनमाले मात्र यहाँ मुनाफा कमाउँछन् । यस्तो अवस्थामा मैले एउटा कलाकारलई ५० लाख अफर गर्नु मेरो सोचभन्दा बाहिरको कुरा हो । एउटा कलाकारलई ५० लाख पारिश्रमिक दिएर चलचित्र बनाउँदा चलचित्रको लागत कति पुग्ला ?’

उनले खबर लेख्ने पत्रकारहरुप्रति पनि आक्रोश पोखेकी थिइन् । ‘मेरो फोन नम्बर धेरै रंग पत्रकारहरुसँग छ । कृपया यो समाचार लेख्नुअघि एकपटक मसँग तपाईंले किन सोध्नुभएन ?,’ उनको आक्रोश थियो, ‘यो गसिप हो कि समाचार हो ? कपोकल्पित कुरालाई समाचार बनाएर तपाईंहरुको समाचार त बिक्ला तर हाम्रो चलचित्र उद्योगका लागि राम्रो म्यासेज जाँदैन ।’

यता अनमोलका बुबा भुवनले झरनाका श्रीमान् तथा निर्माता सुनिल थापा र वितरक मनोज राठीले सामूहिक रुपमा ५० लाखको प्रस्ताव गरेको तर अनमोलले अस्वीकार गरेको बताउँदै आएका थिए । लामो समय अनमोल यो विषयमा चुपचाप थिए तर हालसालै उनको नयाँ फिल्म ‘कृ’को ट्रेलर लन्च कार्यक्रममा उनी बोले । ‘मलाई ५० लाखको अफर आएको हो,’ उनले भनेका थिए, ‘तर, म स्क्रिप्ट, टिम चित्त बुझे मात्र काम गर्छु । पैसाकै लागि काम गर्ने भए डेढ–दुई वर्षमा एउटा फिल्म किन खेल्थेँ ? म पैसाका पछि कहिल्यै लाग्दिनँ ।’

सबैलाई थाहा भएकै हो, अनमोलका बुबा भुवन विवाद र चर्चाका मामिलामा धेरै ‘फरवार्ड’ छन् । भुवन निकटस्थ स्रोत भन्छ, ‘मार्केटमा अनमोलको भ्यालू बढाउनलाई नियोजित रुपमै ५० लाख पारिश्रमिकको हल्ला फैलाइएको हो ।’ अर्को कुरा अनमोलले पछिल्लो समय खेलिरहेका फिल्मको निर्माणमा उनका बुबा भुवनको पनि संलग्नता छ । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कृ’कै प्रसङ्ग उठाउने हो भने यो फिल्मका निर्माता भुवन पनि हुन् । तर यही फिल्मका लागि अनमोललाई २० लाख रुपैयाँ पारिश्रमिक दिएको चर्चा छ । निर्माता सुवास गिरीसँग साझेदारी गरेका भुवनले आफ्नै छोरालाई २० लाख पारिश्रमिक दिएर फिल्म खेलाए होलान् त ? यथार्थ जेसुकै होस्, पारिश्रमिकको हल्लाले फिल्मको चर्चा व्यापक बनाउन भूमिका भने खेल्यो ।

अनमोल मात्रै होइन, पारिश्रमिक ‘यति र उति’ भन्दै ‘पपुलर’ बन्न खोज्ने कलाकारहरु यहाँ थुप्रै छन् । हालै अभिनेत्री पूजा शर्माले आफूलाई ६ लाख पारिश्रमिक दिएर फिल्म खेल्न अफर आएको तर अस्वीकार गरेको खबर बाहिरियो । रोचक त के छ भने उनले अहिलेसम्म अभिनय गरेका ५÷६ वटा फिल्ममध्ये पहिलोबाहेक अन्य सबै फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन र उनको राम्रो दोस्ती छ । फिल्मवृत्तमा धेरैले उनलाई अभिनयको भरमा भन्दा निर्देशकको भरमा चलेकी अभिनेत्री भनेर टिप्पणी पनि गर्ने गर्छन् ।  उनका दुई फिल्म हिट छन्, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ । तर, दुवै उनको स्टारडमका कारण हिट भएका थिएनन् । फिल्म हिट हुनुमा हिरोसँगै फिल्मका गीतको ठूलो योगदान रहेको थियो । यस्तो अवस्थामा पूजालाई कुन निर्माताले यत्रो पैसामा फिल्म अफर ग¥यो ? कसैलाई थाहा छैन । स्रोतको दाबी छ, ‘यो पूजाको भाउ बढाउने र चर्चा कमाउने गज्जबको काइदा हो ।’

चर्चाका लागि यतिसम्म
फिल्म क्षेत्रमा टिक्न र बिक्नका लागि फिल्मकर्मी चर्चामा रहनुपर्छ भन्ने गलत मानसिकता छ । यही मानसिकताका कारण अहिले ‘जे पनि गर्न तयार हुने’ फिल्मकर्मीको जमात बाक्लिदैछ । दुई साताअघि राजधानीमा आयोजित फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर लन्च कार्यक्रममा फिल्मका अभिनेता निखिल उप्रेती उपस्थित भएनन् । उपस्थितजनलाई लाग्यो– ‘निखिल बिरामी भएर कार्यक्रममा आएनन् ।’ उता निखिलले कार्यक्रमबारे बिर्सिएर नगएको प्रतिक्रिया दिए तर सत्यता अर्कै थियो । स्रोतका अनुसार फिल्म युनिटले जानी–जानी निखिललाई कार्यक्रममा उपस्थित नगराएको हो । ‘निखिल त्यो दिन घरमै बसेका थिए,’ फिल्म निर्देशक हिमाल केसी निकटस्थ स्रोत भन्छन्, ‘निखिल किन कार्यक्रममा आएनन् भनेर सोधिखोजी होस्, फिल्म युनिटसँग लफडा भएको हो कि भन्न खबर बनोस् भनेरै नियोजित रुपमै उनलाई प्रेस मिटमा उपस्थित नगराइएको हो ।’

पछिल्लो समय कलाकारको फेसबुक ह्याक भएका खबर निकै आइरहेका छन् । फिल्म रिलिजको पूर्वसन्ध्यामा कतिपयले जानी–जानी फेसबुक आइडी डिएक्टिभ गरेर ‘ह्याक’ भएको नियोजित रुपमै हल्ला चलाउने गरेको चर्चा पनि चल्न थालेको  छ । अभिनेत्री भावना गुरुङले एक साताअघि मात्र संवाददातासँग आफ्नो फेसबुक ह्याक भएको खबर सुनाइन् । ‘यसो न्युज बनाइदिनुहुन्थ्यो कि, मेरो फिल्म पनि रिलिज हुँदैछ, त्यसलाई पनि सपोर्ट हुन्थ्यो,’ उनको अनुरोध थियो ।

काम लागेन फन्डा
एक महिनाअघि रिलिज भएको फिल्म ‘झ्यानाकुटी’ले ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ प्रतियोगिता गरेको थियो । यस प्रतियोगिता अन्तर्गत आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तस्बीर फेसबुकमा अपलोड गर्नेमध्ये सबैभन्दा बढी लाइक पाउनेलाई पुरस्कारको व्यवस्था थियो । अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले फिल्मका लागि दर्शक तान्ने गतिलो काइदाका रुपमा यो प्रचार शैली अपनाएकी थिइन् । फिल्म युनिटको अनुरोधलाई स्वीकार्दै झ्यानाकुटीको प्रचारमा प्रियंका कार्कीले दीपकराज गिरीलाई, नीता ढुंगानाले श्याम भट्टराईलाई, ऋचा शर्माले अनिल पराजुलीलाई, दिया मास्केले अनोज पाण्डेलाई, वर्षा राउतले संजोग कोइरालालाई र रीमा विश्वकर्माले रविन श्रेष्ठलाई काँधमा बोकेको तस्बिर फेसबुकमा पोस्ट गर्दै साथ दिएका थिए । तैपनि ‘झ्यानाकुटी’ फिल्मले अपेक्षित व्यापार गर्न सकेन ।

फिल्म समीक्षक नवीन सुब्बालाई लाग्छ– आफ्नो फिल्मप्रति विश्वास हुनेहरुले अनेक फन्डा गर्नैपर्दैन । उनी भन्छन्, ‘फिल्मकर्मीले जुन प्रकारको हौवा र चर्चा खडा गर्न आफ्नो रचनात्मक ऊर्जा र पैसा त्यता खर्च गरिरहेका छन्, त्यो त सिनेमामा खर्च गरे हुन्थ्यो ।’

त्यसो त विभिन्न चर्तिकला गरेर पनि फिल्म नचलेको दृष्टान्तहरु थुप्रै छन् । अघिल्लो हप्ता रिलिज भएको कुशल थापाको फिल्म ‘ह्याप्पी न्यु इयर’ ताजा उदाहरण हो । ६ जना बडिगार्ड राखेर तामझामसहित प्रचारमा उत्रेका उनी अहिले निराश छन्, कारण ‘ह्याप्पी न्यु इयर’को व्यापारले उनलाई ‘ह्याप्पी’ बनाउन सकेन । अघिल्लो साता रिलिज भएको यो फिल्म हलमा फ्लप भयो ।

यता कुशलले बडिगार्ड राख्नुलाई पोखरेली माया भनिरहेका छन् । ‘पोखरा मेरो होम टाउन हो । पोखरामा धेरै संघसंस्थामा आबद्ध छु । त्यसैले हजारौँको भिडमा एक्लै पठाउनुभन्दा बडीगार्डसहित पठाउनु ठीक भनेर उहाँहरुले मलाई माया गरेको हो,’ उनले तर्क दिइरहेका छन् । यता उनको फिल्मका निर्देशक देवकुमार श्रेष्ठ उनको बडिगार्ड फन्डालाई यसरी व्याख्या गर्छन्, ‘यसलाई प्रोपोगान्डाका हिसाबले पनि हेर्न सकिन्छ, आवश्यकता पनि भन्न सकिन्छ । ठ्याक्कै यही भन्न सक्ने अवस्था छैन ।’

‘बडीगार्ड लाँदा वाह–वाह, विकिनीमा जाँदा घिनलाग्दो ?’
विनय श्रेष्ठ,

अभिनेता (फिल्म– रोमियो एन्ड मुना)

प्रेसमिटमा बिकिनी लगाएका युवतीलाई उतार्ने आइडिया कसरी फुर्यो ?
यो मेरोभन्दा पनि हाम्रो फिल्मको प्रमोसनल इभेन्ट हेर्ने टिमको आइडिया हो । खासमा १० जना मोडललाई बिकिनीसहित उतार्ने कन्सेप्ट थियो । अन्तिम समयमा इभेन्ट म्यानेजमेन्ट कम्पनीबाट धोका भयो । १० जना मोडलहरु भएको भए सायद भव्य देखिन्थ्यो, सबैले ‘वाह’ भन्थे । दुई जना मात्र भएपछि अलि ‘अड’ लागेको हुनसक्छ ।

ती मोडलहरु कहाँका थिए ?
नेपाली नै हुन् । मोडलिङ एजेन्सीबाट लिएका प्रोफेसनल मोडल नै थिए ।

तपाईंहरुको त्यो प्रचार शैलीको व्यापक विरोध भयो नि ?
हामीले गीतको थिमअनुसार त्यसो गरेका थियौं । फिल्ममा मैले निर्वाह गरेको ‘रोमियो’ पात्र महिलाप्रेमी हुन्छ । त्यही क्यारेक्टरलाई रिफ्लेक्ट गर्ने हिसाबले त्यसरी प्रेस मिट गरेका थियौँ । इन्टरनेसनल ब्युटी पेजेन्टमा बिकिनी लाउँदा सबैले ‘वाह वाह’ भन्छन् । यहाँ फिल्मको थिमअनुसार एउटा सानो ‘स्ट्राटेजी’ बनाउँदा भल्गर भने । भल्गरको ट्याग दिइयो । गानाभन्दा बढी इभेन्ट पो हिट भयो तर यसरी भल्गर भन्दा अलि ठीक लागेन । यसलाई प्रमोसनको एउटा तरिकाका रुपमा र सकरात्मक रुपमा लिनुपर्छ भन्ने लाग्छ ।

हास्य अभिनेता जितु नेपालले त फेसबुकमै लेखे, ‘बिकिनीमा बिक्न खोज्नु र बिकिनी बिकाउनतिर लाग्नु नेपाली चलचित्रको लागि दुर्भाग्य हो ।’ जितुको भनाइप्रति तपाईं के भन्नुहुन्छ ?
खोई ! प्रेस मिटमा बडिगार्ड लिएर जाँदा सबै ‘वाह वाह’ भन्छन् । हामीले भने फिल्मलाई ‘रिलेट’ गरेर त्यसरी जाँदा घिनलाग्दो भन्छन् भने के भन्ने ? सायद फिल्म हेरेपछि किन त्यसो गरेको हो भन्ने थाहा हुन्छ होला । म त के भन्छु भने बिकिनी भनेको नर्मल कुरा हो । यसलाई त्यसरी गम्भीर रुपमा व्याख्या गर्नु ठीक हो जस्तो लाग्दैन ।

जे होस्, तपाईंहरुले चाहेको चर्चा पाउनु भयो । फिल्मलाई फाइदा पुग्यो भन्ने लागेको होला ?
अघि नै भनिसकेँ, सोचे अनुसारको इभेन्ट गर्न नसकेकै हो । ‘इलेभेन्थ आवर’मा मैले आफ्नो तर्फबाट के गर्न सक्छु, त्यसमा सपोर्ट मात्र गरेको थिएँ । मैले कुनै ठूलो काम गरेँ भन्ने मलाई एकरत्ति पनि लागेको छैन । र, यो प्रचार शैली यसरी चर्चामा आउला भन्ने पनि सोचेको थिइनँ । मैले त जुन फिल्म गरे पनि यस्तै झमेला व्यहोर्नु परिरहेको छ । ‘भिसा गःल’ र ‘रेशम फिलिली’का बेला पनि झमेला भएको थियो ।

‘यस्ता फन्डाले फिल्म क्षेत्रकै गरिमा घटाउँछ’
नविन सुब्बा

फिल्म समीक्षक
हामीकहाँ फिल्ममा ध्यान दिनुभन्दा ‘सर्फेसियल’ कुराहरुमा बढी काम भइरहेको छ । सिर्जनालाई उत्कृष्ट बनाउनभन्दा पनि अरु नै चिजमा खर्च भइरहेको छ । ६–७ जना बडिगार्ड राख्ने खर्च त बरु फिल्ममा गरे राम्रो हुन्थ्यो । म हालै पोखरामा छँदा एउटा फिल्मको कार्यक्रममा ६ जना बडीगार्ड उभ्याएर बीच सडकमा कार्यक्रम गरेको देखेँ । त्यहाँ ‘अलमोस्ट न्याकेड’जस्तो भएर एकजना नाचिरहेकी थिइन् । मलाई लाग्छ, चर्चाका लागि गरिने यस्ता फन्डाहरुले फिल्म क्षेत्रलाई उँभो लगाउँदैन, बरु यसको गरिमा घटाउने काम गर्छ । यसले गरिमालाई अवमूल्यन गर्ने काम गर्छ ।

हामी विगत २५ वर्षदेखि फिल्मले समाजलाई दिशानिर्देश गर्छ, समाज रुपान्तरण गर्छ, मानिसको आचरण–व्यवहारमा परिवर्तन ल्याउन सक्छ र समग्रमा मानवीयता सिर्जना गर्छ, नेपालको परिचय, अनुहार नै फेर्छ भन्दै आइरहेका छौं तर अहिले फिल्म प्रचारका लागि नयाँ पुस्ताका फिल्मकर्मीबाट जुन प्रकारका काम भइरहेका छन्, त्यसले अवश्य पनि राम्रो गर्दैन ।

केही वर्षअघिसम्म सिनेमा हेर्न जानु भनेकै खराब हो भन्ने मानसिकता थियो । यसले मान्छे बिगार्छ भनिन्थ्यो । लामो समयको मिहिनेतपछि सिनेमाले समाजलाई टेवा पु¥याउँछ र यो अभिव्यक्तिको गम्भीर र सशक्त माध्यम हो भन्ने तथ्य स्थापित गर्न हामी सफल भएको अवस्था छ । अहिले सबै क्षेत्रले सिनेमाको शक्तिलाई स्वीकार्ने अवस्था छ तर चर्चाका लागि यस्तै सस्ता प्रचारबाजी हुने हो भने हिजो समाजले फिल्म क्षेत्र र फिल्मकर्मीमाथि जुन आरोप लाउथ्यो, त्यो फेरि नदोहोरिएला भन्न सकिन्न ।

खासमा यो दुःखलाग्दो कुरा हो । फिल्मकर्मीले जुन प्रकारको हौवा र चर्चा खडा गर्न आफ्नो रचनात्मक ऊर्जा र पैसा त्यता खर्च गरिरहेका छन्, त्यो त सिनेमामा खर्च गरे हुन्थ्यो । त्यसो भयो भने त सिनेमा राम्रो बन्थ्यो, स्वाभाविक रुपमा त्यसलाई समाजले पनि स्वीकाथ्र्यो । सामाजिक सम्मान पनि प्राप्त हुन्थ्यो । स्वाभाविक रुपमा बजार पनि पाउँथ्यो ।

आफ्नो सिर्जनामाथि विश्वास नहुनेहरुले यसरी अनेक प्रचारका फन्डा गर्छन् । आफ्नो फिल्मप्रति विश्वास हुनेहरुले यसरी प्रचार गर्नै पर्दैन । हामीकहाँ अहिले देखिएको बडिगार्ड राख्ने ट्रेन्ड सायद छिमेकी मुलुकबाट कपी भएको होला । जहाँ–जहाँ बडीगार्ड राखिन्छन्, त्यहाँको समाज र हाम्रो समाजलाई पहिला अध्ययन गर्नुपर्छ । जस्तो भारतमा कलाकारहरुले बडिगार्ड किन राख्छन् भने त्यहाँ कलाकारमाथि हुलहुज्जत हुन्छ । हाम्रो कन्ट्रीमा त्यसरी हुलहुज्जत भएको अहिलेसम्म मलाई थाहा छैन । सबैभन्दा बढी फ्यान फलोइङ भएका अभिनेता त राजेश हमाल हुन् । खोइ उनीमाथि दुव्र्यवहार भएको कहिल्यै सुनिएन । बडिगार्ड राखेको पनि देखिएन । अरुलाई किन आवश्यक परेछ ?

‘बडीगार्ड घरबाट लिएर गएको थिइनँ’
प्रदिप खड्का
अभिनेता
पहिलो कुरा ‘लिलिबिली’ फिल्मको प्रेस मिटमा मैले बडिगार्ड घरबाट लिएर गएको थिइनँ  । आशुसेन फिल्म्सले मेरो सहयोगका लागि एक जना असिस्टेन्ट दिएको थियो, म त उहाँसँगै गएको थिएँ । मलाई प्रेस मिटको कुनै सेटअप थाहा थिएन । कार्यक्रम स्थलमा पुगेपछि ‘तिमीलाई त्यहाँ उनीहरुले गाइड गरेर लान्छन्’ भनेर मलाई बडिगार्डसँगै पठाइयो । कसैले मलाई सम्मान दिन्छ भने मलाई कसरी ‘इग्नोर’ गर्ने ? फेरि मैले प्रोड्युसरको प्लानमा कसरी नचल्ने ? मसँगसँगै त्यहाँ अरु दुई जना डेब्यु हिरोइनलाई पनि दुई–दुईजना बडिगार्ड दिइएको थियो । त्यसको चर्चा किन भएन ? मेरो मात्रै किन ? त्यसैले म आलोचना गर्नेहरुको नियतमै खोट देख्छु ।

बडिगार्ड दिनु आवश्यक थियो÷थिएन यो विषयमा पनि म केही बोल्दिन । राष्ट्रपतिको सवारी हुँदा पूरै सडक खाली गरिन्छ । त्यसरी खाली गर्न आवश्यक हुन्छ र ? तर, त्यो उहाँहरुलाई दिइएको सम्मान हो । मलाई व्यक्तिगत रुपमा बडिगार्ड आवश्यक छैन । म त बडिगार्डले हटाएको भन्दा पनि पब्लिकले उचालेको मन पराउँछु । त्यत्रो कन्सर्ट हुँदा, त्यत्रो फिल्म रिलिज हुँदा पनि मैले बडिगार्ड लान कहिल्यै आवश्यक ठानिनँ । अहिले आएर म किन बडिगार्ड लिएर हिँड्नु ? त्यो पनि विदेशी !

Leave A Comment