जुत्ता उद्योगमा लगानी अवसर

शनिबार, २२ पुष २०७४, ०१ : ०० दिलीप पौडेल
जुत्ता उद्योगमा लगानी अवसर

नेपाली जुत्ता, चप्पल उद्योगमा निजी क्षेत्रलाई लगानीको अवसर देखिएको छ । अहिले सञ्चालनमा रहेका उद्योगले बजारको माग धान्न सकेका छैनन् । गुणस्तरीय र नयाँ–नयाँ डिजाइनका जुत्ता–चप्पल उत्पादन गर्न सके स्वदेशी बजारमै बिक्री हुन्छ ।

यहाँ सञ्चालन भएका उद्योगले बजार मागको ६२ प्रतिशत मात्र आपूर्ति गरिरहेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालले जनाएको छ । ‘३८ प्रतिशत जुत्ता, चप्पल विदेशी बजारबाट आयात हुन्छ,’ एसोसियसनका अध्यक्ष रविनकुमार श्रेष्ठले भने, ‘सरकारले उपयुक्त वातावरण नबनाउँदा उद्योग फस्टाउन सकेका छैनन् ।’ नेपालमा वार्षिक करिब छ करोड जोर जुत्ता, चप्पल बिक्री हुने व्यवसायी बताउँछन् । नयाँ प्रविधिसहित लगानी गर्न आउनेलाई अवसर रहेको व्यवसायी बताउँछन् । ‘विदेशी ब्रान्डका जुत्ता, चप्पलले नेपाली बजारमा प्रभाव जमाइरहेको छ,’ एसोसियसनका महासचिव मनोज कुमार श्रेष्ठले भने, ‘गैर कानुनी रुपमा भन्सार छलेर आउने सामानलाई पनि रोक्न सक्नुपर्छ । नयाँ डिजाइनका जुत्ता, चप्पल उत्पादन गर्न सके लगानी अवसर छ ।’

नेपालमा साना ठूला गरी करिब २ हजार उद्योग सञ्चालमा छन् । अहिले भएका उद्योग र नयाँ उद्योग आए मुलुक जुत्ता, चप्पलमा आत्मनिर्भर हुने बताउँछन् । दुई वर्षको अवधिमा यो उद्योगमा करिब पाँच अर्ब लगानी थपिएको छ । १५ अर्बबाट बढेर २० अर्ब रुपैयाँ लगानी पुगेको एसोसिएसनले जनाएको छ ।
मारुती सु इन्डस्ट्रिजले जुत्ता निर्यात गर्ने तयारीका साथ ४० करोड रुपैयाँ पु¥याउने तयारीमा छ । मारुती मात्र होइन म्याजिक फुटवेयरले पनि प्लान्ट थपेको छ । म्याजिकसहित पियु, इभा, हवाई, पिभिसी चप्पल उत्पादन गर्दै आएको कम्पनीले विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको जनाएको छ ।
पछिल्लो समय नेपाली जुत्ता बजारमा स्वदेशी उद्योगले वर्चस्व जमाउँदै गएका छन् । स्वदेशी उद्योगले पार्टी वेयर, क्याजुअल, स्कुल, कलेज, स्पोर्टस सुज, सेना, प्रहरीले लगाउने बुट उत्पादन गरिरहेका छन् । उपभोक्तालाई आकर्षित गर्न सक्षम भएपछि लगानीसमेत बढाउँदै आएका छन् । बजारमा स्वदेशी जुत्ता, चप्पलको माग बढेपछि लगानी वृद्धि गरेको उद्योगी बताउँछन् ।

विगतमा विदेशबाट कच्चा पदार्थकै भर पर्ने जुत्ता उद्योगले पछिल्लो समय नेपाली छालाको सोल बनाउने, लाइनिङ, केमिकल पनि प्रयोग गर्न थालेका छन् । यस क्षेत्रमा ५५ हजारले प्रत्यक्षसहित साढे २ लाख जतिले रोजगारी पाएका छन् । यसमा लगानीकर्ताको आकर्षण बढेको छ । भारत लगायत मुलुकमा निर्यात भएकोले लगानी अझै बढाउन सक्ने देखिएको छ ।

स्वदेशी बजारमा मात्र नभएर जुत्ता उद्योगले करिब साढे २ अर्ब रुपैयाँको जुत्ता निर्यात भएका छन् । जुत्ता उद्योगसँगै घरेलु रुपमा उत्पादन हुने छालाका ज्याकेट, पर्स, ब्याग, बेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन् । नेपाली जुत्ता, चप्पलहरू भारत, चीन, भुटान लगायतका मुलुकमा निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
विदेशबाट आयात प्रतिस्थापन गर्दै स्वदेशी जुत्ता, चप्पलमा आत्मनिर्भर हुनका लागि प्रविधिमा सुधार गर्ने पर्ने व्यवसायी बताउँछन् । ‘अहिले धेरै उद्योग नयाँ प्रविधिमा आउन सकेका छैनन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘परम्परागत उद्योगलाई सीप र प्रविधिको आवश्यक छ ।’ भारतको खुला सीमाका कारण गर्दा जुत्ता उद्योगलाई चुनौती थपिएको छ ।

स्वदेशमै कच्चा पदार्थ उत्पादनमा पनि सरकारले नीतिगत रुपमा सुधार ल्याउनु पर्ने व्यवसायी बताउँछन् । जुत्ता चप्पल बनाउनका लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थ आवश्यक पर्छ । त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । जुत्ता चप्पलमा प्रयोग हुने छाला, सोल, केमिकल लगायत कच्चा पदार्थ भारत, पाकिस्तान, चीनबाट आयत हुँदै आएको छ ।
विदेशीबाट सीप, प्रविधि, उपकरण ल्याएर यहाँ प्रयोग गर्न सके नेपालको फुटवेयर उद्योगले फड्को मार्न सक्ने देखिन्छ । उद्योग सञ्चालनका लागि कामदार अभाव सधैं खड्किरहने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ न्यौपानेले भने, ‘जुत्ता उद्योगको मुख्य समस्या नै कामदार हो ।’  

अधिकांश उद्योगले कामदारलाई आफैं तालिम दिने गरेका छन् । यहाँ व्यक्तिगत रुपमा सञ्चालन गरेका, मझौला र कर्पोरट रुपमा सञ्चालन रहेका छन् । व्यक्तिगत उद्योगले पारिवारिक जनशक्तिले काम चलाए पनि मझौला र कर्पोरेट उद्योगले सधैं कामदार अभाव झेलिरहेका छन् ।

सरकारले यस उद्योगका लागि तालिम केन्द्र सञ्चालन नगर्दा पनि यस्तो समस्या भएको हो । जुत्ता उद्योगलाई व्यवस्थित गर्न फुटवेयर जोन स्थापना गर्न उद्योगीले माग गर्दै आएका छन् । फुटवेयर जोन सञ्चालनमा ल्याए जुत्ता, चप्पल उद्योग अझै फस्टाउने व्यवसायी बताउँछन् । विदेशबाट आउने जुत्ता न्यून भन्सार तिरेर ल्याउँदा प्रतिस्पर्धा गर्न कठिन छ । ‘पटक–पटक फुटवेयर जोन स्थापना गर्न माग गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘झन्डै २० अर्ब रुपैयाँ लगानी भएको क्षेत्रलाई बेवास्ता भयो ।’

Leave A Comment